सुकुटेलाई पर्यटकीय हब बनाउने योजना सहित छलफल शुरु


टुरिजम पाना काठमाडौं । १८ माघ २०७९
फाइल तस्वीर सौजन्य: सुकुटे भ्याली रिसोर्ट

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई पर्यटकीय हब बनाउने योजना अनुसार सुकुटे पर्यटन प्रर्वद्वन गुरू योजनाका लागि छलफलको शुरु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९, १०, ११ र १२ पर्ने सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्वनका लागि यसअघि सुकुटेमै पहिलो चरणको छलफल भएको सिन्धु पर्यटन व्यवसायी संघको अध्यक्षमा नारायण श्रेष्ठले बताए ।

छलफलमा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमले गुरुयोजनाको लागि आवश्यक पर्ने सन्दर्भ सामग्री तथा विषय बस्तुहरुको लागि सहभागिहरुको सुझाब संकलन गरिएको व्यवसायी श्रेष्ठले बताए ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सापकोटाले सुकुटे पर्यटन विकासका लागि प्रचुर आधार र सम्भावना रहेको औंल्याउँदै अन्तिम लक्ष भनेको आम मान्छेलाई श्रममा सरिक गराएर रोजगार बनाउने रहेको प्रतिवद्वता गरे ।

नगरले तत्काल बन्देउ देखि सुकुटे सम्म सरसफाई, सडक बत्ती, डम्पिङ साइड, सिसि क्यामारा, तरकारी संकलन केन्द्र लगाएतको काम सुरुवात गरिने समेत उनले बताए । गुरु योजना निर्माणको जिम्मा पाएको मेनस्ट्रिम कन्सल्टटेन्ट एण्ड कम्पनी प्रालिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी तथा सरोकारवालाहरुले गुरु योजनाको लागि आवश्यक बस्तुगत योजनाको बारेमा धारणाहरु प्रस्तुत गरेका थिए ।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले अक्कर देखि बन्देउ र ठोकर्पा, कदमबास सम्मलाई सिमाङक गर्नुपर्ने बताए । सुकुटे एडभान्चरका सञ्चालक गोविन्द लोहोनीले सुकुटे प्रर्वद्वनको लागि व्यवसायीहरुको योगदान रहेको बताउँदै स्थानीय सरकारले गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने जोड दिए ।

१८ माघ २०७९