थप ३७ विद्युतीय बस सञ्चालन गर्ने साझाको तयारी


टुरिजम पाना काठमाडौं । ३० पुष २०७९

गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ ।

छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए ।

बस सञ्चालनका लागि बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए । साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरुमा सरकारले तोकेबमोजिम भाडादर रहेको छ ।

अहिले आएका सबै सहरी बस (सिटी बस) रहेको र यी काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए ।

अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।

काठमाडौँ आइपुगेका बसका बारेमा विश्लेषण गरेर अर्को चरणमा ४०/५० वटा आउनसक्ने उनले जानकारी दिए । हाल सञ्चालनमा रहेका बसका लागि साझाको एउटा र नेपाल विद्युत् प्राधिकरणको एउटा गरी दुई चार्जिङ स्टेसन रहेका छन् । अबका थप दुई/तीनवटा जडान हुने गरी प्राधिकरणसँग छलफल भइरहेको पाण्डेयले बताए ।

सरकारले साढे तीन वर्षपहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद गरिएको थियो । बस चीनको सिएचटिसी किनिवङ (नानजिन) अटो मोबाइल कम्पनी लिमिटेडले तयार गरेको हो ।

हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार पाँच सय ५३ प्रदान गर्नेछ ।

साझासँग हाल डिजेलबाट चल्ने ७१ बस रहेकामा चार उपत्यकाबाहिर र बाँकी उपत्यकामा सञ्चालनमा रहेका छन् । उपत्यकामा निजी कम्पनीहरुले समेत विद्युतीय बस सञ्चालन गरिरहेका छन् । (रासस)

३० पुष २०७९