सन् २०२६ को वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण गर्ने कार्य सफलतापूर्वक सम्पन्न (मैझारो) भएको छ।
पर्यटन विभागका अनुसार यस वर्ष ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका विभिन्न ३१ वटा हिमाल आरोहणका लागि कुल १ हजार १९५ जना स्वदेशी तथा विदेशी आरोहीहरूले अनुमति लिएका थिए। विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमालको अनुमति व्यवस्थापन गर्दै आएको छ भने सोभन्दा साना हिमालहरूको अनुमति दिने जिम्मेवारी नेपाल पर्वतारोहण संघ (एनएमए) ले सम्हाल्दै आएको छ।
यस सिजनमा हिमाल चढ्न अनुमति लिनेहरूमा सबैभन्दा बढी चीनका १५९ जना, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२ र फ्रान्सका २७ जना आरोहीहरू रहेका थिए।
पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले दिएको जानकारी अनुसार अनुमति लिएका कुल आरोहीहरूमध्ये विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै ४९५ जनाले अनुमति पाएका थिए। जसमा ५६ देशका ३९० जना पुरुष र १०५ जना महिला आरोहीहरू सामेल थिए।
अनुमति प्राप्त आरोहीहरूका अतिरिक्त उनीहरूका सहयोगी तथा उच्च हिमाली पथप्रदर्शक (गाइड) हरू गरी यो वर्ष करिब एक हजारभन्दा बढी व्यक्तिहरूले सगरमाथाको सफल आरोहण गरेका छन्।
सगरमाथाको चुचुरोमा पाइला टेक्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक चीनका १०९ जना आरोही रहेका छन्। यसैगरी अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२ र आयरल्यान्डका ११ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन्।
यो वर्षको वसन्त ऋतु नेपाली पर्वतारोहणको इतिहासमा कीर्तिमानी वर्ष समेत बनेको छ। सोलुखुम्बुका प्रख्यात आरोही कामीरिता शेर्पाले गत जेठ ३ गते सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर आफ्नै अघिल्लो कीर्तिमान भंग गर्दै नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन्।
यसैगरी महिला आरोहीतर्फ सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको सफल आरोहण गरी महिला विधामा आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई थप मजबुत बनाएकी छन्।
हिमाल आरोहणबाट नेपाल सरकारलाई यो वर्ष ठूलो आर्थिक लाभ समेत मिलेको छ। सरकारले विभिन्न हिमालको रोयल्टी (सलामी दस्तुर) बापत कुल १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व संकलन गरेको छ।
जसमा सबैभन्दा बढी हिस्सा सगरमाथा आरोहणको रहेको छ, जहाँबाट मात्रै १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व प्राप्त भएको छ। यसका अतिरिक्त लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८०० रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २०० रुपैयाँ, कञ्चनजंगाबाट १ करोड ६५ लाख ४० हजार ५०० रुपैयाँ र अन्नपूर्ण पहिलो हिमालबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।








