जाने होइन त पाथिभरा ?

मन्दिरमा भारत, भुटानलगायतका देशबाट समेत मानिसहरू आउने गर्दछन्


भरतमणि पाैडेल  ताप्लेजुङ । २२ कार्तिक २०७९
pathibara
फाइल तस्वीर

नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा देवीको मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको छ । यो मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारदेखि करीब १९ किलोमिटरको दुरी तथा ३७९४ मिटरको उचाइमा अवस्थित छ ।

पाथीभरा माताको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण लाखौं मानिस देवीको दर्शनका लागि यहाँ आइपुग्छन् ।

पाथीभरा देवीको मन्दिरमा नेपाल मात्रै होइन भारत, भुटानलगायतका देशबाट समेत मानिसहरू आउने गर्दछन् । देवीको यो मन्दिरमा भेडा, बोका, पाठीको बलि दिने गरिएको भए पनि पछिल्लो समय भने बलिको साटो परेवा उडाउने, फलफूल चढाउने र देवीको श्रृङ्गारको सामग्री चढाउने चलन बढेको छ । यहाँ बत्ती बाल्न आउने भक्तजनहरु पनि उत्तिकै हुन्छन् । pathibara

कसरी जाने पाथीभरा ?
काठमाडौं – बिर्तामोड
काठमाडौंबाट बस तथा माइक्रो बसमा यात्रा गरेर झापाको बिर्तामोड पुगिन्छ । बिर्तामोड बसपार्कबाट ताप्लेजुङ सदरमुकामको लागि नियमित जीप सेवा (स्थानीय चलनचल्तिको भाषामा टेक्सी सेवा भनिन्छ) उपलब्ध छ ।

सडकमार्ग भएर जानेहरूका लागि काठमाडौंबाट विर्तामोडसम्म करिब १० घण्टाको यात्रा गर्नुपर्ने हुन्छ । यहाँको यात्रामा प्रतियात्री भाडा दर यातायातको प्रकृति हेरि एकहजार पाँच सय जति पर्छ । झापा जान हवाई मार्गको प्रयोग गर्न पनि सकिन्छ ।

काठमाडौं विमानस्थलबाट भद्रपुरका लागि दैनिक करिब दस फ्लाईट उडान हुने गर्छ । भद्रपुरबाट विर्तामोडको दूरी गाडीमा करिब आधा घण्टाको हो । काठमाडौंबाट सोझै ताप्लेजुङको लागि समेत हवाई सेवा उपलब्ध छ । नेपाल एयरलाईन्स र सीता एयरले यो सुविधा उपलव्ध गराउँछ । pathibhara

बिर्तामोड – ताप्लेजुङ
बिर्तामोडबाट करिब १५ मिनेटको दुरी पार गरेपछि मेची राजमार्ग भेटिन्छ । दुईसय छत्तिस किलोमिटर लामो यो राजमार्ग मनोरम पहाडी मार्ग हो । यस राजमार्गले झापालाई पहाडकी रानी उपनामले चिनिने इलाम हुँदै पाँचथर र ताप्लेजुङ जिल्लासँग जोड्छ ।

यस राजमार्गबाट बाटोमा पर्ने इलाम कन्यामको मनोरम चिया बगानहरू छिचोल्दै तपाईं करिब ८ घण्टाको यात्रापछि ताप्लेजुङ पुग्नुहुन्छ । यस यात्राको भाडा दर इन्धनको मूल्य वृद्धिसँगै उँचो भएर प्रतियात्री एक हजार ३ सय पुगेको छ । pathibhara tample

ताप्लेजुङको वैकल्पिक मार्ग
ताप्लेजुङ जोड्ने मेची राजमार्ग पुरानो र चल्तिको मार्ग हो । यसबाहेक धरानबाट भेडेटारको पहाडी मनोरम वातावरणमा रमाउँदै धनकुटाको मूलघाटबाट तमोर नदीको किनारै-किनार ताप्लेजुङ पुग्ने वैकल्पिक मार्गसमेत निर्माण भएको छ ।

तमोर करिडोरले चिनिने योमार्ग ताप्लेजुङ पुग्ने अत्यन्तै छोटो मार्ग हो । निर्माणाधीन अवस्थामा रहेकाले यो मार्गको यात्रा विशेषत हिउँद याममा सहज हुने गर्छ ।

कालोपत्रे नभइसकेको र ग्राभलिङ सडक भएकाले हाल जीप सेवा मात्र यहाँको लागि उत्तम छ । यो मार्गको प्रयोग गरेर धरानबाट करिब ६ घण्टामा ताप्लेजुङ पुग्न सकिन्छ ।

अर्काे वैकल्पिक मार्ग धरान-धनकुटा लालीगुराँस नपा बसन्तपुर-गुफा पोखरी हुँदै ताप्लेजुङको हो । यो राजमार्गले गुराँसका राजधानी मिल्केजलजलेलाई छिचोल्दै ताप्लेजुङलाई जोड्छ । यो मार्ग पनि निर्माणाधीन अवस्थामा रहेकाले कच्ची सडकको रुपमा रहेको छ ।

ताप्लेजुङबाट पाथीभरा ताप्लेजुङको सदरमुकामबाट १७ किलोमिटर मोटर यात्रापछि करिब एक घण्टामा सुकेटार विमानस्थल हुँदै पाथीभराको काफ्लेपाटी पुगिन्छ । यहाँको यातायात भाडा प्रति यात्री तीन सय रहेको छ (पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण भाडा दरमा केही परिवर्तन हुनसक्छ ।)

पाथीभरा पैदल यात्रा
काफ्लेपाटीबाट पैदल मार्ग सुरू हुन्छ । काफ्लेपाटीबाट एक घण्टाको पैदल यात्रामा फेदी(कान्छीथान) पुगिन्छ । काफ्लेपाटी र फेदीमा बस्नका लागि प्रशस्त होटलहरू छन् ।

फेदीबाट करिब २ घण्टाको उकालो हिँडेपछि पाथीभरा माताको चरणमा पुग्न सकिन्छ । जब तपाईं माताको यस पवित्र भूमिमा पुग्नुहुनेछ, तपाईंलाई आश्चर्यजनक आनन्दको अनुभूति हुनेछ ।

अघि हिँड्दाको थकान पूरै हराएको महसुस हुन्छ । पाथीभरामाताको चरणमा शरण लिँदै गर्दै छुट्टै किसिमको सुखानुभूति महसुस गर्नुहुने छ । यसरी खुसी र पवित्र मनले माताको दर्शन गरेर आशिर्वाद ग्रहण गर्नुहुनेछ । निश्चित छ, मनचिन्ते देवी पाथीभराले तपाईंको मनोकाङ्क्षा पूरा गरिदिनु हुनेछ ।

(ताप्लेजुङबाट मनमणि काफ्ले र हर्कराज गुरुङको सहयोगमा)

२२ कार्तिक २०७९