गोरखाबाट नेपाली सेनाको पदयात्रा शुरु, पर्यटन विकास र धरोहरको संरक्षण गर्ने उद्देश्य


टुरिजम पाना गोरखा । २१ पुष २०७९

नेपाली सेनाले ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले गोरखा काठमाडौँ पदयात्रा शुरु गरेको छ।

बिहिबार बिहान गोरखा दरबबारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी रहेको छ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा नेपाली सेनाको रिपुमर्दन गणले एकीकरण पदयात्राको आयोजना गरेको हो ।

गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने गणपति हेम विष्टले बताए । बिगतका बर्षहरुमा गर्दै आएको पदयात्रा यसपटक चौथो पटक आयोजना गरिएको हो ।

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार स्थित हनुमान भञ्ज्याङबाट प्रस्थान गरेको हो । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली पुग्नेछ ।

गोरखाबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछन् । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौं पुग्नेछ ।

तस्वीरहरु : हेमराज बिष्ट/गणपति 

२१ पुष २०७९