मस्त खुलेको छिम्केश्वरी [तस्बीरहरू]


सागर गिरी तनहुँ । २१ पुष २०७९
तस्बीरहरू : प्रशन्न अधिकारी

तनहुँको छिम्केश्वरीमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ ।

आँबुखैरेनीबाट छिम्केश्वरी जानको लागि १८ किलोमिटर ग्राभिल सडकमार्फत ४५ मिनेट सवारी साधनवाट लाब्धी गाउँ र त्यसपछि ३० मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखला मध्यको अग्लो पहाड भएको वडा नं. ५ का अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिने गुरुङले बताए ।

हाल छिम्केश्वरीको वडा नं ५ का .६ घरका दुई-दुई कोठामा पाहुनालाई बसाइने गरी होमस्टेको व्यवस्था गरिएको छ ।
पर्यटकहरू स्थानीय उत्पादनबाट बनेका परिकार ढिँडो, लोकल कुखुराको मासु, घरेलु मदिरा लगायत खाना मन पराउँछन् । सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार प्याकेज मूल्य ७ सय रुपैयाँ पर्छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा पनि स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कमा रहेको दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । बन्दीपुरमा केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि छिम्केश्वरीमा काम सुरू गर्ने तयारी छ ।

‘छिम्केश्वरीमा केबलकार निर्माणका लागि डिपीआर तयार भएको छ’, शर्माले भने, ‘बन्दीपुर केबलकार र स्थानीयको शेयर रहने गरी काम अगाडि बढाउने पक्षमा छौं ।’ छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको शर्माले बताए । ‘केबलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ’, शर्मा भन्छन् । छिम्केश्वरी मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन थपिने विश्वास गरिएको छ ।

छिम्केश्वरी जान पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनीसम्म काठमाडौं, पोखरा, चितवन, गोरखा लगायतका ठाउँबाट विविध यातायातका साधनहरू पर्यटकीय बस, सार्वजनिक यातायातका अन्य बस, माइक्रो, जीप कार तथा मोटरसाइकलमा जान सकिन्छ ।
बन्दिपुर हिलेखर्क हुँदै पनि जान सकिन्छ भने मुग्लिन नारायणघाट सडकखण्डको ९ किलो र घुमाउनेबाट पनि जान सकिन्छ ।

छिम्केश्वरीमा गत वर्ष हिउँ परेको थियो । हिउँ परेपछि छिम्केश्वरी आन्तरिक पर्यटकहरूको झनै आकर्षणको केन्द्र बनेको छ ।

२१ पुष २०७९