आज अक्षय तृतीया: युगको शुरूवातदेखि सातु खाने चलनसम्म, यस्तो छ महत्व


टुरिजम पाना संवाददाता काठमाडौं । १० बैशाख २०८०

आज अक्षय तृतीया, हिन्दू धर्मावलम्वीहरूको विशेष दिन । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) ।

अक्षय तृतीयालाई युगहरूको शुरूवाती दिनका रूपमा लिइन्छ । हिन्दू धर्मका अनुसार, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो । यस्तै महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।

हिन्दू धर्म अनुसार, महादेव र हिमालय पुत्री पार्वतीबीच अक्षय तृतीयाकै दिन विवाह भएको थियो । यस्तै सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ ।

अक्षय तृतीयामा अक्षय पुण्य प्राप्तिका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत दान गर्ने चलन छ । यसबाहेक सातु खाने दिनका रूपमा पनि अक्षय तृतीयालाई चिनिन्छ ।

चना, जौ जस्ता गेडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठोलाई सातु भनिन्छ । यात्राका क्रममा बोक्न सजिलो, सहजै पच्ने अनि आडिलो खानेकुराका रूपमा सातुलाई लिइन्छ । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ ।

माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् ।

१० बैशाख २०८०