१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण


टुरिजम पाना संवाददाता काठमाडौं । ४ जेष्ठ २०८०

१६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले जेठ १ गते सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।

नेपाल बिग माउण्टेन ट्राभलले बुधबार पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गरेकोबारे जानकारी दिएको हो । नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको उनको दाबी छ ।

शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहींबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।

शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरुले सहयोग गरेकामा धन्यवादसमेत दिइन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुले सँगै फिर्ता ल्याएको जानकारी समेत दिइन् ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यसवर्ष सगरमाथा आरोहणको ७०औं वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिनुभएको छ । यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो । (रासस)

 

४ जेष्ठ २०८०