नयाँ जहाज किन्ने योजना छ, भ्रष्टाचार गर्दैनौँः पर्यटनमन्त्री


टुरिजम पाना काठमाडौं । ४ जेष्ठ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नयाँ जहाज किन्दा भ्रष्टाचार नहुने दाबी गरेका छन् । १८ वटा आन्तरिक विमानस्थलका लागि नयाँ जहाज किन्न लागिएको भन्दै उनले नयाँ जहाज किन्दा भ्रष्टाचार नहुने दाबी गरेका हुन् ।

बिहीबार नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को २४औं अधिवेशन तथा ५६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल वायुसेवा निगमले बजार हस्तक्षेप गर्न नसकेकाले बजारमा टिकट महँगो भएको समेत बताए ।

उनले २३ जुनदेखि पोखराबाट चीनका विभिन्न सहरमा फ्लाइट सुरू हुन लागेको समेत बताए । पर्यटन उद्योगमा भएका समस्या समाधानका लागि मन्त्रालय तत्काल अग्रसर हुने उनको भनाइ छ । मन्त्री किराँतीले विदेशीको सिको नगरी आफ्नै मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा समेत जोड दिए ।

नाट्टाका अध्यक्ष रमेश थापाले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन् । उनले नेपाल वायुसेवा निगमको पुनर्संरचनाको आवश्यकता समेत कार्यक्रममा औंल्याएका छन् । साथै पर्यटन व्यवसायीलाई डलर आम्दानीमा निश्चित ‘क्यासब्याक’ दिने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । उनले पछिल्लो समय बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएकाले त्यहाँको मुद्रा टाकाको सटही सहज बनाउनुपर्ने बताए ।

उनले यातायात ऐनसमेत परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यातायात ऐनले नेपालीलाई पर्यटक नमान्दा समस्या भएको छ । यसका लागि मन्त्रालयको ध्यान जानु जरुरी छ ।’

पर्यटकीय गाडीको इम्बोस्ड नम्बर प्लेट राख्दा हरियो प्लेटको व्यवस्था नभएको भन्दै यस विषयमा मन्त्रिपरिषद्बाट अनुसूची संसोधन गर्नुपर्ने समेत उनले बताए । उनले पर्यटकका लागि बस पार्किङका लागि समस्या भएको भन्दै यसमा सहजीकरण गर्न समेत सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थ, गृह तथा पर्यटन मन्त्रालयबीच समन्वय नहुँदा सडक मार्गबाट आउने पर्यटकहरू समस्यामा पर्ने गरेको सुनाए । उनले यस्तो समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे । उनले भने,‘भूमार्ग हुँदै आउने भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ भन्दा बढी ल्याउन नपाइने कारण पनि पर्यटक समस्यामा छन् ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटनमा धेरै समस्या भएपनि समस्या समाधान गर्न गाह्रो नभएको बताए । उनले निजी क्षेत्रको समेत सहभागीतामा सरकारी निकायको सक्रियता भएका पर्यटनका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सक्रिय भएका केही व्यक्तिहरूलाई विभिन्न विधामा अवार्ड तथा सम्मान गरिएको छ । जसमा भाष्कर अवार्ड सुभास गोयलले पाएका छन् भने सगरमाथा पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरिएको छ ।

यस्तै टुरिजम सर्भिस अवार्ड स्व. मेरु हर्ष बर्जाचार्यको नाममा दिइएको छ भने डिएन प्रधान मेमोरियल इन्टरप्रेनर्स एक्सेलेन्स अवार्ड अम्बिका श्रेष्ठले पाएकी छन् । यस्तै, खगेन्द्र राज पाण्डे–ट्राभल एण्ड टुरिजम अवार्ड आकाश अधिकारीले पाएका छन् भने मिडिया अवार्ड पत्रकार सीबी अधिकारी र नेपाल ३६० ले पाएका छन् ।

४ जेष्ठ २०८०