मध्यपुर थिमि नगरपालिकामा आगामी जेठ २६ मा यस वर्षको व: फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो २०२४ आयोजना हुने भएको छ ।
नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिले नेवारी समुदायको विशेष खानाबारे पर्यटकलाई जानकारी दिने उद्देश्यले मेला आयोजना गरेको हो ।
नेवार समुदायको विशेष चाड सिथिनख:को अवसरमा आयोजना गरिने सो मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।
गत वर्षदेखि मध्यपुरमा व: फेस्टिभल हुन थालेको हो । मेलाका लागि नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा २ लाख रुपैयाँ सहयोग गरी कुल ८ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताए ।
नगदेशको प्राङ्गणमा १८ वटा खानाको स्टल राखिनेछ छ । साथै ७ वटा स्टलमा मध्यपुर थिमिका जनताले उत्पादन गरेका हरिया फलफूद्य तथा कोरियन खाना किम्चि लगायत परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरण गर्न राखिने समितिले जनाएको छ ।
ग्रिन भेजिटेबल प्रदर्शन र सो खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष जानकारी दिने, स्वास्थ्य लाभ र मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्यले मेला आयोजना गरिएको प्रजापतिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्याई पर्यटकलाई आकर्शित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ ।
समितिका अनुसार, मध्यपुरमा भएको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी मध्यपुरलाइ पर्यटकीय गन्तब्य बनाउने उद्देश्य सहित मेला आयोजना गरिएको हो ।
यसै सिथिनखःबाट मध्यपुरका जनताबाट सेवा प्रदान गरी मध्यपुर बासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाइ तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निम्ति मेला आयोजना गरिएको समितिको भनाइ छ ।
जानकारहरूका अनुसार, नेपालमा वः खाने प्रचलन मल्लकालबाट शुरू भएको पाइन्छ ।
भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन रहेको छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरू तलेजु भगवानलाई चढाइने गरिएको जानकारहरू बताउँछन् ।
नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार र मृत्युपश्चात श्राद्ध तथा अन्य विभिन्न चाडपर्व मनाउन र देवीदेवतालाई चढाउन पनि वः को प्रयोग गर्ने गरेको पाइन्छ ।