तारुकामा २७ हल गोरु जुधाईदैं, १५ हजार आन्तरिक पर्यटक पुग्ने अपेक्षा

कसरी पुग्ने तारुका ?


उपासना शर्मा तारुका । २४ पुष २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकामा यतिखेर माघीको रौनक शुरू भइसकेको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ मा पर्ने तारुकामा हरेक माघी विशेष तामझामका साथ मनाइँदै आइएको छ । अझै त्यहाँ माघीको विशेष आकर्षण भनेको गोरु जुधाई हो । गोरु जुधाउने कार्यक्रमले त तारुकामा माघीको रौनक नै बेग्लै बनाइदिन्छ ।

विगतदेखि नै हरेक वर्षको माघ १ गते गोरु जुधाउनु तारुकाको नित्य कर्म जस्तै हो । पछिल्ला वर्षहरूमा त गाउँपालिकाले बजेट नै छुट्याएर गोरु जुधाउने कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

यस्तो छ गोरु जुधाईको इतिहास

गोरुबाट ट्याक्टर युगमा कृषि क्षेत्र प्रवेश गर्दै गर्दा तारुकाका किसानलाई भने यतिखेर गोरु पाल्न भ्याई नभ्याई छ । माघ १ गते जुधाउनकै लागि भएपनि त्यहाँका किसानले गोरु पाल्ने गरेको गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल बताउँछन् ।

माघी पर्वको विशेष आकर्षणका रूपमा तारुकामा वि.सं १९६७ देखि गोरु जुधाईंदै आएको किंवदन्ती रहेको छ । जानकारहरूका अनुसार, श्री ३ चन्द्र शमशेरले आफ्ना ज्वाईं जयपृथ्वी बहादुर सिंहलाई तारुकामा उनको रोजाइमा परेको जग्गा विर्ताको रुपमा दिएका थिए । आफ्नो सो जग्गा किसानलाई फिर्ता गर्न आउने क्रममा किसानहरूले खुशी हुँदै गोरु जुधाएर जयपृथ्वी बहादुरलाई मनोरञ्जन दिलाएका थिए ।

जयपृथ्वी बहादुर र उनकी श्रीमतीले विर्ता उन्मुलन गरि सो जग्गा किसानलाई हस्तान्तरण गरेका थिए । त्यसकारण किसान खुशी भएर गोरु जुधाएर उनीहरूलाई मनोरञ्जन दिलाएको किंवदन्ती पाइएको गाउँपालिकाका उपाध्यक्ष रिमाल बताउँछन् ।

त्यसपछि सो ठाउँमा अनौपचारिक रुपमा गोरु जुधाइ कार्यक्रम निरन्तर हुँदै आएको पाइएको उपाध्यक्ष रिमालको भनाइ छ ।

उनका अनुसार, २०६२ सम्म सो कार्यक्रम अनौपचारिक रुपमा हुँदै आएको थियो । वि.सं. २०६२ बाट भने यसलाई स्थानीय सरकारले अपनत्व तथा स्वामित्व लिएर कार्यक्रम गराउँदै आइएको उनले बताए । पछिल्लो समय पालिकाले कार्यक्रम आयोजनाका लागि बजेट समेत सहयोग गर्दै आएको उनले जानकारी दिए ।

टुरिजम पानासँग उनले भने, ‘गोरु जुधाउने ऐतिहासिक कार्यक्रमको निरन्तरताका लागि चालू आर्थिक वर्षमा पनि पालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’

कम्तिमा २७ हल गोरु जुधाईंदै

तारुकामा माघे सक्रान्ति गोरु जुधाई महोत्सव आयोजक समिति नै गठन गरि कार्यक्रम गरिँदै छ । समितिका अध्यक्ष मदन श्रेष्ठका अनुसार, अहिले गोरु दर्ता शुरू गरिसकिएको छ । उनले विगतमा भन्दा यस वर्ष धेरै गोरु जुधाइने समेत बताए ।

हालसम्म केकति गोरु जुधाउनका लागि दर्ता गरिन्छन् यकिन भन्न नसकिएपनि २७ हल गोरु जुधाउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । जसका लागि हालसम्म ५४ गोरु जुधाउनका लागि तयारी गरिएको उनको भनाइ छ ।

‘अन्तिमसम्ममा अझै बढ्न सक्ने वा केही घट्न पनि सक्ने हुन सक्छ, अहिले नै यकिन भन्न सकिने अवस्था छैन,’ टुरिजम पानासँग उनले भने । कोरोना महामारीका कारण विगतमा केही सामान्य कार्यक्रममै सीमित गोरु जुधाई महोत्सव यस वर्ष भने भव्य बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

उनले भने,‘यसपटक कार्यक्रम नै दुई दिन राखिएको छ । विगतको भन्दा भव्य कार्यक्रम हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

जुधाउन पालिएका गोरुलाई के खुवाइन्छ ?

माघ १ गते गोरु जुधाउनका लागि किसानहरूले साउनदेखि नै तयारी गर्ने गरेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार, बाहिरबाट ठूला जातका गोरु किसानहरूले ल्याउने गरेका छन् । साउनदेखि नै गोरुलाई दुधिलो मकै खुवाउने गरिन्छ । यसपछि विस्तारै मासको फूल, टाँकीको फूल तथा टाटा खुवाउने गरिन्छ ।

यसपछि पछिल्लो समय अर्थात पुससम्ममा मासको पिठो, कोदो, चामल, भटमास, चना सबैलाई मिसाएर ढड्याएर खुवाइन्छ । जसले गर्दा गोरु जुध्न सक्ने गरि बलियो बन्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

दुर्घटना भए क्षतिपूर्तिको व्यवस्था

तारुकामा निजी व्यक्तिको करिब ६ रोपनी क्षेत्रफल रहेको जग्गामा गोरु जुधाइन्छ । गोरु जुधाउँदा कहिलेकाहीँ दुर्घटना पनि हुन सक्छ । गोरुहरू जुध्दा अंग भंग भएमा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था समेत महोत्सव व्यवस्थापन समितिले गर्ने गरेको छ ।

जसका लागि क्षति मूल्यांकन समिति समेत गठन गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार, अंगभंग भएमा वा गोरु जोत्नै नसक्ने गरि अशक्त भएमा दुर्घटनाको प्रकृति हेरी मूल्यांकन समितिले क्षतिपूर्ति निर्धारण गर्छ । सोही अनुरुप किसानलाई नगद अनुदान दिइने उनको भनाइ छ ।

करिब १५ हजार आन्तरिक पर्यटक तारुका पुग्ने

गोरु जुधाइमा पहिलो, दोस्रो, तेस्रो वा सान्त्वना पुरस्कार दिइने व्यवस्था गरिएको छ । विगतमा जस्तै यस वर्ष पनि नगद तथा अन्य गिफ्ट ह्याम्परहरू पुरस्कारस्वरुप दिइनेछ । तर केकति दिइने भन्नेबारे यकिन भइनसकेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार, पुरस्कारका लागि करिब ५ लाखदेखि ६ लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

महोत्सवमा करिब १५ हजार आन्तरिक पर्यटक सहभागी हुने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठ भन्छन्,‘पक्की पुल बनिसकेको र बाटो ग्राभेल भइसकेकाले विगतमा भन्दा धेरै पाहुनाहरू आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार, दोलखा, रामेछाप, काठमाडौं, धादिङ लगायतका जिल्लाहरूबाट महोत्सव अवलोकनका लागि बढी मात्रामा आउने गरेका छन् । महोत्सवमा जानेहरूका लागि सो गाउँमा होमस्टेहरू समेत तयारी राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार, करिब ८ वटा होमस्टे सोही गाउँमा उपलब्ध छ ।

कसरी पुग्ने तारुका ?

तारुकाको गोरु जुधाई हेर्नका लागि धादिङको गल्छी हुँदै रातमाटे जान सकिन्छ । रातमाटेबाट भित्री बाटोमा एउटा पक्की पुल आउँछ । पक्की पुलबाट करिब ६ किलोमिटर अगाडि तारुका पर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, त्रिशुलीतर्फबाट जानेहरूले पनि रातमाटेकै सडक प्रयोग गर्नुपर्छ । यस्तै दुई पांग्रे सवारीसाधनहरूका लागि भने रातमाटेमै झोलुङ्गे पुल हुँदै सहजै पुग्न सकिने उनले जानकारी दिए ।

२४ पुष २०७९