पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई


टुरिजम पाना पोखरा । ६ फाल्गुन २०७९

सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६औँ संस्करणको समेत विजेता हुन् ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले रू पाँच लाख पुरस्कार पाए । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भए । उनले रू तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय भए । उनले रू दुई लाख पुरस्कार पाए ।

श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गरेका थिए । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाए । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।

६ फाल्गुन २०७९