ह्वीलचेयरमा बसेरै चिया व्यवसाय, दिनमै कमाउँछन् १० देखि १५ हजार

ह्वीलचेयरमा परिवारको साथले चलेको बनेपाको चिया स्टेशनको कथा


उपासना शर्मा काठमाडौं । ६ फाल्गुन २०७९

दुःख र सुखको संगमलाई मिलाउँदै यात्रा गर्दा कहिले दुःखले जितिदिन्छ त कहिले सुख । दुःखले जितेकै समयमा त प्रायःले भन्ने गर्छन् गायक खेम सेञ्चुरीको गीतमा भनिएजस्तै ,‘सोचे झैं जिन्दगी रै’नछ ।’ कहिलेकाहीँ गीतले भनेजस्तै बनिदिन्छ मानिसको जीवन पनि ।

कहिलेकाहीँ जिन्दगीमा नसोचेकै कुरा हुन्छ । बनेपाका प्रवेश शर्मा वाग्लेको पनि त्यस्तै भयो । बाल्यकालदेखि नै प्रवेशलाई सर्भाकल स्पाइनल ट्युमरको समस्याले ग्रसित बनायो । पटक पटक अपरेशन गर्दा पनि ट्युमर बल्झँदै गएर उनी अहिले ह्वीलचेयरको साहरामा जीवन बिताइरहेका छन् । बनेपा १२ बाँसडोलका प्रवेशलाई करिब १४ वर्षको उमेरदेखि नै स्पाइनलको समस्याले सताउन थालेको थियो ।

‘कक्षा आठमा अध्ययन गर्दै गर्दा वि.सं. २०६२ देखि स्पाइनलमा समस्या देखिन थाल्यो,’ प्रवेश सम्झन्छन्,‘अपरेशन गरेर एक वर्ष रेष्ट गरें । कक्षा १० अध्ययन गर्न भने लट्ठी टेकेर जानुपर्‍यो ।’

१० वर्षको अन्तरालमा उनले २ पटक ट्युमरको अपरेशन गरिसकेको उनी सम्झन्छन् । अपरेशनपछि केही समय सहज भएपनि विस्तारै समस्या पुनः बल्झँदै गयो । ब्याचलर अध्ययन गर्दै गर्दा भने उनले ट्युमरको पुनः अपरेशन गरे, उनले ह्वीलचेयरमार्फत हिँडडुल गरेर जीवन बिताउनुपर्ने अवस्था आयो । एक पछि अर्को अपरेशन गर्दा पनि ट्युमर निको नहुँदा दुखी हुनु स्वभाविक नै थियो ।

‘समावेशी उद्यमशीलता तालिम’ ले दियो नयाँ रुप

सबैका आफ्ना सपना हुन्छन् । प्रवेशको पनि सानै उमेरदेखि नेपाली सेनामा जाने योजना बुनेका थिए । उनलाई रहर थियो सेनामा जाने र देशको सेवा गर्ने । सेनामा केही गरि जान मिलेन भने अन्य कुनै सुरक्षा निकायमा सेवा गर्ने उनको सपना थियो । तर स्पाइनलको समस्याले उनको सपना साकार हुन सकेन् ।

उनको कथा पनि सेन्चुरीको त्यही गीतको बोलसँग मिल्दोजुल्दो छ, ‘सोचेझैं जिन्दगी रै’नछ ।’

३१ वर्षीय प्रवेशले हिम्मत हारेनन् । उभिएर हिँड्न नसकेपनि उनले ह्वीलचेयरमै बसेर केही गर्ने सोच बनाए । समय र सन्दर्भ मिल्यो । केही वर्षअघि उनले विश्व बैंक दिएको ‘समावेशी उद्यमशीलता तालिम’ मा सहभागी भए । त्यो तालिमले उनलाई अहिले नयाँ रुप दिएको छ । उनी आफ्नै गृह नगरमा बसेर चिया पसल सञ्चालन गरिरहेका छन् । ह्वीलचेयरमा बसेसँगै शुरू भएको चिया पसल सञ्चालन गरेको पनि तीन बर्ष भइसक्यो ।

यस अवधिमा चिया पसल निकै लोकप्रिय मात्रै बनेको छैन, उनको आत्मनिर्भरताको माध्यम पनि बनिरहेको छ । त्यति मात्र नभई उनीसहित ४ जनाका लागि रोजगारीको माध्यम समेत बनेको छ चिया स्टेशन बनेपा ।

यसरी शुरू भयो चिया स्टेशनको यात्रा

बनेपा ७ मा साँझ बिहान व्यस्त रहन्छ चिया स्टेशन बनेपा । ह्वीलचेयरमा रहेका प्रवेशले काउन्टर सम्हालिरहन्छन् । साथमा उनकी श्रीमती र अन्य दुई जना कर्मचारीले चिया पसल धानिरहेका छन् । चिया पसलमा विशेष गरि मट्का चियाका पारखीहरूको भीड लाग्ने गर्दछ । भक्तपुरमा बनेको माटोको कपमा बनेपामा चिया बनाएर बेचिन्छ । त्यहाँको मट्का चिया निकै स्वादिलो भएकाले नै ग्राहकको भीड लाग्ने गरेको सञ्चालक प्रवेश बताउँछन् । त्यहाँ चिया पिउन आउने चिया पारखीहरूका लागि विशेष चिया हो मट्का चिया । कपअनुसार ५० रुपैयाँ र १०० रुपैयाँ पर्ने यस चियामा ग्राहकको आकर्षण निकै राम्रो रहेको सञ्चालक प्रवेशको भनाइ छ ।

चिया स्टेशनमा मट्का चियाका साथै अन्य चियाहरू, मसला चिया तथा ग्रीन टी समेत राखेका छन् । चिया स्टेशनमा २० रुपैयाँदेखि शुरू हुने चियाको प्रकार १०० रुपैयाँसम्ममा पाइन्छ ।

सञ्चालक प्रवेशका अनुसार, चिया स्टेशन युवा पुस्ताको जक्सन समेत बनेको छ । चिया पारखीहरूका लागि समसामयिक विषयमा छलफल गर्ने मात्र नभई भेटघाटको थलो समेत बनेको छ, चिया स्टेशन । सञ्चालक प्रवेशका अनुसार, दैनिक २०० कपभन्दा बढी चिया खपत हुने गरेको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने चिया स्टेशनमा शुरूमा करिब ७ लाख रुपैयाँ लगानी गरेका थिए । ह्वीलचेयरमैत्री संरचना रहेको सो चिया स्टेशनमा अहिले लगानी थपिँदै गएको छ ।

बनेपामा मट्का चिया उनले नै शुरू गरेका हुन् । त्यसअघि बनेपामा मट्का चिया पुगेको थिएन । त्यसपछि चियालाई नयाँ तरिकाले बेच्ने र उद्यमी बन्ने उद्देश्यलाई उनले अगाडि बढाएको बताए ।

ह्वीलचेयरमा जीवन बिताउने अवस्था आएपछि परिवारकै साथ र सहयोगमा वि.सं. २०७६ को कात्तिकदेखि प्रवेशले चिया पसल सञ्चालन गरेका हुन् । चिया पसलमा अहिले विश्व बैंकका नेपाल प्रतिनिधिहरू समेत प्रवेशलाई भेट्न पुग्ने गरेका छन् । उनलाई भेट्न चाहनेहरू पनि चिया पसलमै पुग्ने गरेको प्रवेश सुनाउँछन् ।

दिनमै १० देखि १५ हजारसम्मको कारोबार

चिया स्टेशनमा उनले फास्ट फुडको पनि व्यवस्था गरेका छन् । मम, चाउमिन, फ्राइ राइस जस्ता खाजा चिया स्टेशनमै पाइने भएकाले त्यसका लागि पनि ग्राहकहरू जाने गरेको उनी सुनाउँछन् । उनले दिनमा करिब १० हजारदेखि १५ हजारसम्मको कारोबार गर्ने गरेका छन् । परिवारको साथ र सहयोगले पसल सञ्चालन गर्ने गरेको बताउने प्रवेश आफू यही पेसामा रमाइरहेको सुनाउँछन् ।

उनी आफू व्यवसायी मात्र हैन, अन्य युवाहरूका लागि पनि मोटिभेटर हुन् । उनको व्यवसाय सञ्चालन भएपछि सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा पनि उनको चर्चा भइरहेको पाइन्छ । उनी भन्छन्,‘कोही पनि असक्षम हुँदैन । थोरै साथ र सहयोग भएमा काम गर्न सकिन्छ, व्यक्तिगत रुपमा कामका लागि भने आफैंले हिम्मत गर्नुपर्छ, मैले यही पाठ सिकें ।

६ फाल्गुन २०७९