फुड ब्लगिङमा रमाएका सिद्धार्थ घिमिरे


मनिषा पौडेल काठमाडौं । १९ कार्तिक २०७९
nepal food blogger

काठमाडौंका २७ वर्षीय सिद्धार्थ घिमिरे कलेज पढ्दादेखि नै नयाँ रेस्टुरेन्ट खुलेको, नयाँ खानेकुरा बजारमा आएको थाहा पाउँदा वित्तिकैं रेस्टुरेन्टहरुमा पुग्थे ।

खानपिनका सौखिन रहेका सिद्धार्थले यसरी रेस्टुरेन्टहरुमा पुग्दा फोटो खिचेर मोवाइलमा राख्ने गर्दथे । यसरी साथीहरुसँग घुम्दा उनको मोबाइलमा खानेकुराको धेरै फोटोहरु कलेक्सन भए । सिद्धार्थका बुबा सेफ भएको उनलाई यसप्रति अझ मोह वढेको उनी बताउँछन् ।

मोबाइलमा धेरै फोटो कलेक्सन भएपछि उनलाई आफूले खिचेका फोटोहरु सामाजिक सञ्जालमा पोष्टाउने रहर जाग्यो । त्यसपछि उनले ‘सिद्धार्थ फुड डायरी’ भनेर उनले इनस्टाग्राममा फोटो राख्न सुरु गरे ।

यसरी फोटो राख्न थालेपछि ३ महिनामा नै उनको फलोअर्स ३० हजार पुग्यो । ‘सुरुमा त मलाई फुड ब्लगिङ हुन्छ भन्ने थाहा थिएन’, उनी सम्झिन्छन् । इनस्टा एकाउन्टमा फलोअर्स बढ्न थालेपछि सिद्धार्थ उत्साहित भए ।

सिद्धार्थ भन्छन्, ‘खानेकुराको फोटो राख्दै जाँदा धेरै मानिसले खोज्न थाले । अनि प्रोफेसनल रुपमै लाग्छु भन्ने सोचेर नेपाल डट फुड नाम राखेर भिडियो बनाउन सुरु गरेँ ।’ नेपालको पहिलो फुड ब्लगर दाबी गर्ने सिद्धार्थले सन् २०१५ बाट फुड ब्लगिङ सुरु गरेपनि २०१८ देखि यसलाई व्यवसायिक रुपमा चलाउन थाले ।

उनी भन्छन्, ‘त्यहाँको मेनु कस्तो छ ? खानेकुरा कस्तो पाइन्छ ? भनेर धेरैले सोध्न थालेपछि मलाई कसरी ब्लग बनाउनु पर्ने रहेछ भन्ने थाहा भयो र सुरु गरेँ ।’ सिद्धार्थले आफ्नो एकाउण्टमा १ लाख फलोअर्स पुगेपछि आफ्नो अनुहार सार्वजनिक गरे । ‘सबैले चिनेपछि झन् राम्रोसँग काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनी सुनाउँछन्, ‘त्यसपछि झन् मेरो क्रेज पनि बढ्दै गयो र म पनि उत्साहित बने ।’

‘नेपाली भएर पनि हामीलाई नेपालमा के-के खानेकुराहरु बन्छन् भन्ने थाहा छैन । म मौलिक खानेकुराहरुलाई ब्लगमार्फत सबै सामु चिनाउने प्रयास गरेको छु ।’

नेपाल डट फुडको इन्स्टाग्राममा अहिले २ लाख ३९ हजारभन्दा बढी फलोअर्स पुगिसकेको छ । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सिद्धार्थ फुड ब्लगिङमा रमाएका छन् । ब्लग बनाउन र खानकै लागि नेपालका धेरै ठाउँ पुगिसकेको सिद्धार्थले बताउँछन् । उनी भन्छन्, ‘ब्लग बनाउन नेपालका सात वटै प्रदेश पुगेको छु, काठमाडौंभन्दा बाहिर निस्किएपछि मलाई स्थानीय खाना मन पर्छ ।’

food blogger siddartha nepal food

ब्लगिङ यात्राको सुरुका वर्षमा सिद्धार्थले काठमाडौं पाइने खानाहरु मात्रै प्रमोसन गर्थे तर बिस्तारै उनलाई लाग्यो, अब नेपालको कुना-कुनामा पाइने स्थानीय खानाको पहिचान गराउनुपर्छ । त्यसपछि छठ पर्व र यससँग सम्बन्धित खानेकुरा जान्न मन लागेर हालै जनकपुर पुगेका सिद्धार्थ भन्छन्, ‘नेपाली भएर पनि हामीलाई नेपालमा के-के खानेकुराहरु बन्छन् भन्ने थाहा छैन । म मौलिक खानेकुराहरुलाई ब्लगमार्फत सबै सामु चिनाउने प्रयास गरेको छु ।’

उनले खानाका रेसिपिको पनि भिडियो बनाएर टिकटकमा राख्ने गरेका छन् । सिद्धार्थले पनि लकडाउनको समयमा खाना पकाउन सिके । उनी भन्छन्, ‘पकाउन पनि सिक्नुपर्ने रहेछ भन्ने लाग्यो । सुरुमा अलि गाह्रो भयो, तर पछि पकाउन पनि रमाउन थालेँ ।’

कोरोना महामारीको लकडाउनको समयमा खोलेको नेपाल डट फुड टिकटक एकाउन्टमा यो समाचार तयार पार्दासम्म उनको झन्डै ८ लाख फलोअर्स पुगिसकेका छन् ।

सामाजिक सञ्जालमा लोकप्रिय ब्लगर बनेका सिद्धार्थलाई धेरै फुड ब्लगिङ गर्न कति सजिलो छ भनेर म्यासेज गर्ने गर्छन् । यसरी सोध्नेहरुलाई सिद्धार्थ भन्छन्, ‘यो हेर्दा सजिलो देखिन्छ, तर हामीले धेरै कम्प्रमाइज गर्नुपर्छ, हेर्दा जस्तो सजिलो छैन । हार्ड डेडिकेसन आवश्यक पर्छ ।’

‘फुड ब्लगर भनेपछि मानिसहरु धेरै खान्छ होला भन्ने सोच्छन्, तर म ठिक्क मात्र खान्छु । खानेकुरा स्वस्थ हुनुप¥यो, खाने भन्दैमा जस्तो पायो त्यस्तै पनि खानु त भएन नि’

उनलाई विभिन्न रेस्टुरेन्ट तथा ब्रान्डहरुले प्रमोसनका लागि पनि बोलाउने गरेका छन् । उपत्यकाबाहिर गएर रेस्टुरेन्टको प्रमोसन गर्नुभन्दा पनि स्थानीय परिकारमा रमाउन उनी औधी रुचाउँछन् ।

सुरुमा एक्लैले शुरु गरेका सिद्धार्थसँग अहिले भिडियोग्राफर, कन्टेन्ट लेखकसहितको टिम छ ।

१९ कार्तिक २०७९