चितवनको मेघौली क्षेत्रमा चरासमुह अवलोकन, संकटापन्न प्रजातिहरू भेटिए


टुरिजम पाना संवाददाता चितवन । २८ जेष्ठ २०८२

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मेघौली क्षेत्रमा सम्पन्न चरासमुह अवलोकन कार्यक्रममा दुर्लभ प्रजातिका चरा र स्तनधारी जनावरहरू भेटिएका छन्। आइतवार सम्पन्न उक्त कार्यक्रममा १२१ प्रजातिका ७५२ वटा चरा र ९ प्रजातिका ६८ भन्दा बढी स्तनधारी जनावरहरूको अवलोकन गरिएको हो।

कार्यक्रमको आयोजना मेघौली घाटगाईं नेचर गाइड संघले गरेको हो। कार्यक्रममा १० जना चराप्रेमी र एक जना निकुञ्जका गेम स्काउटको सहभागिता थियो।

अवलोकन यात्रा बिहान मेघौली सेराई लज आसपासको राप्ती नदी किनारबाट सुरु गरिएको थियो। सहभागीहरू जिप सफारीमार्फत टाइगर टप्स जंगल लज नजिकैसम्म पुगेका थिए। त्यसपछि टोलीले सुरुङ खोला, ढाक्रे खोला, कान्छी खोला र एक प्राकृतिक नुन चाट क्षेत्र हुँदै अवलोकन कार्य सम्पन्न गरेका थिए।

कार्यक्रमका क्रममा संकटापन्न प्रजातिका ग्रेट स्लेटी वुडपेकर, ग्रेट होर्नबिल, र ग्रे क्राउन प्रिनिया जस्ता चरा प्रजातिहरू देखिएको आयोजकले जानकारी दिएको छ। त्यस्तै, अवलोकन गरिएका स्तनधारी जनावरहरूमध्ये ग्रेट वन सिङ्गे गैँडा (IUCN को संकटापन्न सूचीमा रहेको) विशेष उल्लेखनीय रहेको बताइएको छ।

संघले यस्ता कार्यक्रम जैविक विविधताको संरक्षण, स्थानीय गाइडहरूको क्षमतावृद्धि, र वातावरणीय चेतना विस्तारका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको मेघौली घाट गाई नेचर गाइडका अध्यक्ष मनिष कुमार लिम्बुले बताए।

२८ जेष्ठ २०८२