पोखरा विमानस्थलमा एरो थाईले मङ्सिर १४ गते क्यालिब्रेशन फ्लाइट गर्ने

रिट्ठेपानी डाँडा कटान सुरु 


टुरिजम पाना काठमाडौं । २४ कार्तिक २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो मङ्सिर १४ गते क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सञ्चालन गरिने भएको छ ।

आउँदो पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेशन फ्लाइटको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा क्यालिब्रेशन फ्लाइट गरी पुस १७ अर्थात् जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताए।

‘जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ तर उडान सङ्ख्या तत्कालका लागि सीमित हुनेछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

एरो थाईको जहाजबाट यान्त्रिक उडान

यान्त्रिक उडानका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि नोभेम्बर २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । यो जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे–नगरेको जाँच गर्नेछ ।

एरो थाईको जहाजले एक हप्ता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार यो कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ ।

यही कम्पनीले गएको वर्ष फागुन ६ गते देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।

चरा विज्ञले छोटो अनुसन्धान गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । अहिलेको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए ।

‘विमानस्थल नजिकै डम्पिङ साइट र चरा वासस्थानबारे विज्ञहरूबाट असिसमेन्ट अडिट गरी साँझ परेपछि सञ्चालन गर्ने वा उपयुक्त वातावरणमा सञ्चालन गर्ने निर्णय हुनेछ । चराचुरुङ्गीको गतिविधि कम हुने मौसममा विमानस्थलमा उडान गरिनेछ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवर्द्धन गर्ने सरकारी लक्ष्य छ । देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ ।

झन्डै तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झन्डै २२ अर्ब रुपैयाँ लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा अहिले दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटीसी टावर, सात वटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ महामारीलगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले विमानस्थल निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडल मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० वा त्यो सरहका जहाजको उडान–अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटीआर र चार वटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ ।

रिट्ठेपानी डाँडा कटान सुरु 

ठूला जहाजको उडान एवम् अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको काम आज सोमवारदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । डाँडा कटानका लागि आवश्यक टेन्डर प्रक्रिया पूरा गरी काम सुरु गरिएको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिए । धावनमार्गको अप्रोच पर्ने भएकाले झन्डै ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । दुई हप्तामा १४ मिटर डाँडा काटेर यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ ।

आयोजना प्रमुख मुनाकर्मीका अनुसार आईकाओ मापदण्डअनुरूप जहाज उडान एवम् अवतरण गर्ने मार्गमा अवरोध हुनु हुँदैन । रिट्ठेपानी डाँडा धावनमार्गको अप्रोच मा पर्छ । धावनमार्गमा ४० मिटर अप्स्ट्र्याकल परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान सिङ्गल अप्रोच बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोच बाट उडान तथा अवतरण हुनेछ । डाँडा कटान भएपछि दुवै खाले उडान सहज हुनेछ । (रासस)

२४ कार्तिक २०७९