‘भर्भराउँदो कोइलामा सेकाउँदै भुक्क फुलाएर बुबाले खुवाउने त्यो गहुँको रोटी र गाउँमा सातामा एक पटक देखा पर्ने मोटरसाइकलको–दुईतिर, बडेमानको टोकरी अड्याएर, त्यो मोटरसाइकल–वाला दाइले लिएर आउने पाउरोटी, क्या स्वाद थियो ! अचेल त्यस्तो स्वाद कहाँ पाइन्छ खोज्दै छु म ।’: पेष्ट्रि सेफ नारायण श्रेष्ठको हिजोआजको लहड हो यो ।
तर यो केवल लहड मात्र होइन, बाल्यकालका ती स्वादहरूमा फर्किन खोज्ने प्रयास पनि हो । ‘काम विशेषले बुबा आमा गाउँ बाहिर बजार गएर आउँदा बिस्कुट, दुनोट, केक ल्याइदिनुहुन्थ्यो। त्यो कम्ता मिठो हुन्थेन! बाल्यकालको त्यो स्वाद खोज्नु छ। फेरि त्यही पाउरोटी खानु छ,’ नारायणको याद आज पनि ताजै छ ।
‘मेरो बुवा केही समय भारतमा काम गरेर नेपाल फर्किनु भएको थियो । काम गर्ने ठाउँमा बुवा भान्छे हुनुहुन्थ्यो रे । भारतमा भात भन्दा रोटी खाने चलन भएकाले उहाँले रोटी बनाउने । बुवाले हामीलाई पनि रोटी बनाएर खुवाउनु हुन्थ्यो । त्यो रोटीको मिठास बेग्लै ।’ उनको बाल्यकालका सम्झनाहरू गाउँका गोरेटोहरूमा बग्ने हावासँगै, त्यो पिठोको बास्नामा मिसिएका छन्। त्यो सरल जीवन, पोलेको रोटीमा लुकेको प्रेम, अपनत्व र न्यानोपन नै अहिलेका सफल सेफ नारायणको प्रेरणा बनेको छ ।
उनी आफूलाई कहिल्यै सेफ मात्र ठान्दैनन् । उनी भन्छन्, ‘म त बाल्यकालका ती स्वादहरूलाई जिउँदो राख्न खोजिरहेको मान्छे हुँ। मेरो सिप र कौशलतामा धेरै कुरा छ, तर त्यो पुरानो मिठास– त्यो स्वाद– म सधैँ खोजिरहेको हुन्छु।’
सायद त्यो समयको स्वादले नै नारायणको जीवनको स्वादको खोजी सुरु ग¥यो।
∘∘∘ नारायणको जन्म धादिङ मैदीको देवीस्थानमा भएको हो । तर खेतीपाती बेसी तिर भएको हुनाले सानै हुँदा डीडाँडा झरेका रे, बुढिगण्डकी जलविद्युत् आयोजनाको छेउ । कक्षा ५ सम्म गाउँकै श्री पिपलटार प्राथमिक विद्यालयमा पढेपछि बाँकी शिक्षा र एसएलसी पारीपट्टि गोर्खा जिल्ला दरबुङको श्री रत्नेश्वर उच्च माविबाट दिए । झोलुङ्गे पुल तरेर पारी गएपछि १ घण्टाको बाटो थ्यो विद्यालय जान ।
गाउँमै भए पनि घाँस दाउरा, मेलापात भन्दा भान्छा बढी प्यारो थियो नारायणलाई । ‘बा आमा घाँस दाउरा जानु हुन्थ्यो । कहिलेकाहीँ कतै कतै साथी जान परे मात्र बहिनी र मलाई लानु हुन्थ्यो । नत्र हामी प्राय घरभित्रकै काम गथ्यौँ ।’
त्यसरी साथी जाँदा गाउँलेका गफमा भुलिन्थे उनी । विदेशका होटलमा कुक भएकाहरूको कहानी । कुक हुन सकिन्छ र ? भन्ने प्रश्न आफैँलाई गरेपछि नारायणको कलिलो मस्तिष्कमा सपनाको एउटा खाका तयार भयो । त्यति बेला सम्म निलो सर्ट र निलो पाइन्ट लाएर विद्यालय दौडिँदै गर्दा नारायणलाई सेतो सेफ कोटमा ठाँटिउँला कुनै दिन भन्ने पटक्कै अड्कल थिएन । त्यति बेला उनी कक्षा ८ मा पढ्थे ।
∘∘∘ एसएलसी दिएर चितवन, मामाघर गएका उनले सिभिल इन्जिनियरिङको ब्रिज कोर्स गर्दै थिए। त्यतातिर जाँच दिए पनि उनको नाम निस्केन । उनी गर्वका साथ सम्झन्छन्, ‘रिजल्ट आयो । एसएलसीमा मेरो गाउँबाट फस्ट डिभिजन ल्याएर पास गर्ने म पहिलो विद्यार्थी । तर त्यो बेला विद्यालयमा चार जनाको फस्ट डिभिजन आएको थियो ।’ भोली पल्ट चितवनबाट उनी गाउँ पुगे । गाउँमा चर्चा चल्यो – टोपबहादुरको छोराले फस्ट डिभिजन ल्यायो । भोज चल्यो ।
विद्यालयमा नै प्लस टु खुलेको हुनाले सरहरूले त्यहीँ पढे हुन्थ्यो जस्तो गर्नुभएको थियो तर उनलाई दुनियाँ हेर्ने रहर भयो । ‘बा आमाले घाँस दाउरा गरेर कतिन्जेल थेग्ने मेरो पढाई ? फेरी बहिनीको पनि त जिम्मेवारी थ्यो । मेरो घरको व्यथा मलाई नै थाहा थ्यो । बुवाले नपढेको हुनाले छोराछोरी पढुन् भन्नुहुन्थ्यो ।’
काठमाडौँ गएर उनी काकाको छोराहरूसँगै बसे । अनिल दाइ, केशव दाइ र सुष्मा दिदी । काठमाडौँमा कोठा खोज्दै धक्का खान परेन । व्यवस्थापन सङ्कायतर्फ सोह्रखुट्टेको सिग्मा कलेज भर्ना भए र पार्ट टाइम काम थाले । दिउँसो कलेज । साँझ लाजिम्पाटको एउटा अपार्टमेन्टमा रिसेप्सनमा काम । त्यहीँ अलिअलि पढ्न मिल्ने । आधा किताब घरमा आधा किताब काम गर्ने ठाउँमा ।
‘कहिलेकाहीँ काम सकेर घर जाँदा मध्यरात भैसकेको हुन्थ्यो । एक दुई बजे घर गएपछि पनि अन्योल भविष्यको पिरले मेरा परेला कहाँ जोडिन्थे र ? बिहान उठ्यो । अनिदोका बिच राता आँखा लिएर कलेज पुग्यो । साथीहरूलाई लाग्थ्यो यसले त रातभर पढेछ । तर ती रातहरू अन्योलताको अनगिन्ती पाना पल्टाउँदै बितेको मलाई मात्र थाहा छ ।’ – यति भन्दै गर्दा उनका आँखा फेरी उस्तै रङ्गमा रङ्गिन खोजिरहेका थिए ।
सँगैका साथीहरू होटल म्यानेजमेन्ट पढ्थे । उनीहरू होटल भिजिटका कुरा सुनाउँथे । नारायण चाख मानेर सुन्थेँ । पछुतो हुन्थ्यो आफूले होटल म्यानेजमेन्ट नपढेकोमा–मनमा बिझी रहन्थ्यो । बिजनेस स्टडिज छोडेर होटल म्यानेजमेन्ट तिर जाने सम्भावना पनि थिएन अनि आर्थिक हैसियत पनि ।
अनेकन अन्योलताका बिच एउटा दृढ निश्चय थियोः जे गर, फ्रन्ट लाइनमा देखिने गरी गर । अलिअलि कमाउने भएपछि नारायणलाई सबैभन्दा पहिला काठमाडौँका पसलहरू चहार्दै केक, पेष्ट्रिी चाख्ने मन भयो । त्यो गुलियोप्रतिको मोहको कारण नै थाहा थिएन उनलाई ।
प्लस टु सकिएपछि झन् अन्योलता बढ्यो । उति बेला सबै जना बिदेसिने लहर । पैसा हुने, पढ्न सक्ने अस्ट्रेलियातिर । अरू दुबई, कतार, मलेसिया । ब्याचलर र विदेशको अन्यौलताका बिच नारायणले विदेश रोजे । चार पाँच वर्ष लगाएर स्नातक पढ्न भन्दा परदेशीन ठिक लाग्यो ।
विदेश जाने मुड बनाउँदै गर्दा उनले गुगल गरे, गुलियो । खाना बनाउनेहरुको भिडमा भिड हुनका लागि भन्दा अलग गर्न मनथ्यो नारायणलाई । किचन हेल्पर भएरै होटल लाइन सोझ्याउने सोचे उनले ।
युएईको दुबईमा डबल ट्रि वाई हिल्टन होटलको प्री ओपनिङलाई हायरिङ चलिरहेको रहेछ । हजारौँको एप्लिकेसन । दुई दिन मात्रको अन्तर्वार्ता । पहिलो दिन बिहान ७ बजे देखि कुर्दा पालो आयो राती साढे आठ बजे । उनको अन्तर्वार्ता लिने नेपाली नै परे । गजेन्द्र शर्मा ।
हप्ता १० दिनमा छानिएको खबर आयो । सन् २०१४ को अप्रिलमा उनी झन्डै ६० हजार तिरेर दुबई उडे । छोरो उडाउन एयरपोर्ट पुगेका बुवासँग छुट्टिँदै गर्दा नारायणले मनमनै भने, ‘बुवा, तपाईँको थाप्लाको बोझ अब म बोक्छु ।’
अप्रिल २९ मा दुबई पुग्दा कम्पनीको गाडी लिन आएको रहेछ । होटलभन्दा अलि केही पर कर्मचारी बस्ने स्टाफ क्वाटर । रुममा मात्र तीन जना । नुवाकोटका अनीश न्यौपाने, काभ्रेका रमेश श्रेष्ठ र नारायण । सबै व्यवस्थित थियो ।
पहिलो दिन होटल घुम्ने चिन्ने काम भयो । भोलिपल्टबाट कामको बाँडफाँड । होटल खुलेकै थिएन । त्यसैले सबैले सबै काम गरे । प्याकेजिंग खोल्ने, सामान प्लेसमेन्ट गर्ने । तीन चार महिनापछि होटल ओपनिङ भयो। अनि बल्ल सबैको आआफ्नो काम छुट्टियो।
आँखाले देखेरै सिक्न सकिन्छ
हेल्परको रूपमा काम सुरु गरेका उनले त्यहाँ रहँदा पेस्ट्री र बेकरी सम्बन्धी सीप विस्तार गर्न थाले । दश महिना पछि नेपाली सेफ इन्द्रप्रसाद उप्रेतीले बाटो खोलिदिनुभयो सिक्नलाई । उनी भन्छन्, ‘सबै कुरा हातले नै बनाएर, गरेर मात्रै सिक्ने होइन रहेछ। आँखाले देखेर पनि सिक्न सकिँदो रहेछ। केही समय मैले त्यही गरेँ ।’ तर त्यही बिचमा ‘फोर सिजन’ दोहाबाट अफर आयो । हरेन्द्र बोहरा दाइले ठुलो होटलमा गइस् भने ग्रोथ हुन सजिलो हुन्छ भन्नुभएथ्यो । अनि उनलाई लाग्यो बरु चार महिना ढिलो होस् ठुलोमै गएर सिक्ने ।
२०१५ को जनवरी १० मा उनी फोर सिजन गए । जाने बित्तिकै आधा रातमा ड्युटी । रातको १ बजेदेखि । दुई महिना जति पट्यारलाग्दो तालिकामा काम गरेपछि राम्रो काम गरेको भन्दै उनलाई बिहान ल्याइयो । बिहान आएपछि आँखाले सिक्ने काम फेरी सुरु भयो । पेस्ट्री र बेकरी नजिकै थियो। त्यहाँ जाने सघाउने सिलसिला सुरु भयो । त्यहाँ पनि नेपाली दाइहरू । उनीहरूले नारायणको इन्ट्रेस्ट बुझेर पेस्ट्रीमा ट्रेनिङको बाटो खोलिदिए । साँझ ६ बजे ड्युटी सकिने, छ देखि नौ सिक्ने समय थियो । तीन महिनामा ३०० देखि अधिकतम ४५० घण्टासम्मको ट्रेनिङको नियम हुनेमा नारायणले त्यसको तीन गुना गरे । उनलाई घर जानै मन नलाग्ने हुँदै गयो । छुट्टीको दिन पनि सेफलाई रिक्वेस्ट गरेर दिनभर काम गर्न जान्थे । उनले बनाएका परिकारहरू सर्भ हुन थालेपछि चिनी के हो, पिठो के हो रिसर्च गर्न थाले । ट्रेनिङ सकियो । फर्केर हेल्परमा जानै मन भएन । भाग्यवश उनको ट्रेनिङ सकिँदै गर्दा त्यहाँबाट एक जनाले छोडेपछि बाटो खुल्यो ।
तर भनेजस्तो सजिलो कहाँ! फोर सिजन गएको बल्ल आठ नौ महिना भएको थियो । हेल्परमा राम्रै काम गरिरहेको भएर यताका मान्छेलाई नि यतै राख्न मन । ट्रेनिङ राम्रो गरेपछि उताका मान्छेलाई पनि उतै लैजाने मन । नारायणलाई निन्द्रा पर्न छोड्यो । जान दिने कि नदिने भन्ने डिसिजन पेन्डिङ भयो करिब १० दिन । त्यो दश दिन एक दशक भन्दा कम भएन । तर जुन दिन निर्णय भयो त्यही दिन पेपर साइन भयो । त्यसको १०÷१२ दिनपछि उनी सिफ्ट भए ।
अब बल्ल नारायणको सेफ यात्रा सुरु भयो । बिहान ड्युटी थियो ब्रेकफास्ट सेटअपको । अरू ट्रेनिङमा आउनेलाई सिकाउँदै जाने । चिज केक, चकलेट फोडन्ट अरू धेरै चिज बनाउन जान्ने भए–एक वर्षको दौरान । डेढ वर्षपछि बेकरीपट्टिबाट एक जनाले छोडे । पेस्ट्रिपट्टीबाट हेल्प गर्न जानुपर्ने भो । नारायणले खुट्टो उचाल्दै थिए । त्यहाँ भएका नेपाली दाइलाई तपाईँ भएको बेलामा यो मौका मलाई दिनुस् भनेर फकाए । अरू आयो भने सिकाउलान् नसिकाउलान् भनेर ललना गाए । नभन्दै उनी ब्रेडपट्टि गए अर्को स्टाफ हायर नहुन्जेललाई । चकलेट, केक, ब्रेडमा दक्ष भए ।
त्यही बिचमा फोर सिजन अबुधाबीमा भ्याकेन्सी भयो आफूभन्दा माथिको पोजिसनमा । एक वर्षअघि यतै काम गरेका दाजु अबुधाबीको फोर सिजनमा थिए । उनीसँग सम्पर्क गरेर, बायोडेटा पठाए । पहिलो लट फोनमा अन्तरवार्ता भयो। पोजेटिभ रेस्पोन्सले पुलकित थिए उनी । एच.आर.बाट हुने अरू इन्टरभ्यु भने बाँकी नै थियो। उनले आफ्नो सेफलाई पनि सोधे । एउटै कम्पनी भएकाले आफ्नो स्टाफको ग्रोथका लागि नारायणलाई जान दिने कुरा भो अनि उनी अबुधाबी पुगे ।
भनेको सजिलै टिप्ने र लगाएको काम समयमा गर्ने भएपछि उनलाई नयाँ ठाउँमा पनि सबैको प्यारो हुन बेर लागेन । उनले त्यहाँ वेडिङ्ग केकहरूलाई हाइली डेकोरेट गरेर फिनिसिङ्ग कसरी गर्ने, साइनिङ कसरी ल्याउने सिके । एक वर्ष त्यहाँ काम गर्दा कोभिड महामारी सुरु भयो। नेपाल फर्किए । दश महिना पछि कम्पनीले बोलाएर उनी काममा फर्किए । काममा गएको दुई महिनापछि दुबईकै बुलग्यारी होटलबाट अफर आयो । म्यानेजमेन्टमा कुरा पुग्यो । उनलाई एउटा पोजिसन क्रिएट गरेर प्रमोसन दिएर राख्ने कुरा भयो । अनि उनी त्यही बसे । त्यसपछि केक बनाउन सिकाउने चतुरा जीले नै छोडेर गएपछि नारायणको फेरी प्रमोसन भयो। उनी एक वर्षमै ७÷८ जना राखेर सिफ्ट ह्यान्डल गर्न सक्ने भए ।
२०२२ को अन्त्यतिर, यहाँ सिक्ने यत्ति नै हो अरू कहीँ छलाङ लाउनै पर्छ भन्ने लागेर नारायण आइ.इ.एल.टी.एस गर्दै थिए। कहाँ जाने भन्ने नभए पनि पढेर खेर जान्न भन्नेमा थिए उनी ।
एक दिन सामाजिक सञ्जाल हेर्दै गर्दा बेलायतमा एउटा भ्याकेन्सी देखे। बायोडेटा पठाए, पोर्टफोलियो सहित । इम्प्रेसड भयो हायरिङ कमिटी । साढे दुई महिनापछि अफर लेटर आयो। आइ.इ.एल.टी.एस दिए । रिक्वाएरमेन्ट पुरा भो । करिब ५ हजार पाउन्ड खर्च गरेर उनी बेलायत उडेँ ।
इन्टरकन्टिनेन्टल लन्डन–दि ओटु
काम सुरु भयो । उस्तै उस्तै काम । शैली फरक । नारायणलाई हायर गर्ने अमित सेफले निगरानी गरिरहेका थिए । अमितले नारायणलाई कम्पिटिसनमा पठाउने सोचिरहेका थिए । बेलायतमा त कम्पिटिसनहरू भइरहने । अमित आफै पनि युके बेक अफः द प्रोफेसनल्समा भाग लिइसकेका । नारायणमा उनले आफ्नो अधुरो सपना पुरा गर्न सक्ने क्षमता देखेका थिए । होटलकै अर्को ब्रान्चमा काम गर्थे तनुज शर्मा । । खासमा नयाँ ब्रान्च खुलेपछि तनुज नयाँमा गएका र तनुजको ठाउँमा नारायण हायर भएका रहेछन्। अमितले नारायण र तनुजको जुगलबन्दी बिचार्न दुवै जनालाई एकै ठाउँमा काम गर्न राखे । कम्पिटिसनमा भाग लिन दुई जना अनिवार्य चाहिने भएकाले पनि जुगलबन्दी बिचार गर्नैपर्ने थियो । नारायणलाई पनि बल्ल मेरो बेला आयो भन्ने भान भयो । अब्बल आउने उनको भोक पुरानै ।
‘बेक अफः द प्रोफेसनल्स–२०२४’
दुई भाइ अडिसमा गए । एउटा केक मागेकोमा दुइटा बनाएर लगे । निर्णायकले उनीहरूले पेस गरेको केक लिएर गएपछि छानिन सक्ने सुराक पाएका थिए उनीहरूले । सम्भावना बलियो लाग्यो । एक महिनापछि रिजल्ट आयो । नभन्दै उनीहरू छनोटमा परे । त्यो कार्यक्रमभर नै नारायणले चकलेट पट्टि र तनुजले सुगरपट्टि काम गरेका थिए । नारायणको चकलेटसँग खेल्ने, गुलियो र क्रिमको सन्तुलन मिलाउने सिर्जनशीलता नै कला प्रदर्शनको माध्यम बनेको छ । उनीहरू हरेक साँझ, हरेक च्यालेन्ज अघि सल्लाह गर्थे । कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने प्लानिङ हुन्थ्यो । दोस्रो च्यालेन्जमा आउट अफ बक्स सोचेर नारायण र तनुजको जोडिले ‘ओट कट्योर’ च्यालेन्ज (अर्थात् विशेष फेशन सिर्जना) अन्तर्गत अपसाइड डाउन रेड लेडी बनाए । रातो पहिरनमा रातै हिल जुत्ता लगाएकी अर्धकद तर कम्ममुनीको भाग मात्र भएकी । त्यो चकलेट सो पिसले भर्खरै जिम्न्यास्टिक गर्ला जस्तो देखिएको थियो । उनीहरूले त्यो पहिलो राउण्ड जिते । आत्मविश्वास बढ्यो।
हरेक तेस्रो दिनमा कम्पिटिसन हुन्थ्यो । प्रतियोगितामा जानु अघि उनीहरू होटलमा प्राक्टिस गर्थे । दुवै जना एसियाली मूलका भएकाले नेपाल र भारतमा प्रयोग हुने मसलाहरूको भरपुर प्रयोग गरेका थिए । उनी भन्छन्, ‘नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि सक्दो मेहनत गरेको थिएँ र आगामी दिनमा पनि गर्नेछु।’
क्रोसन्ट किंग
थर्ड राउन्डमा सु च्यालेन्ज थियो । सु एण्ड नोग्याटिन, प्ले थिममा । हिट एण्ड विन । कार्यक्रमको इतिहासमा नै उत्कृष्ट भनेर निर्णायकको प्रशंसा बटुलेका थिए । त्यति मात्र होइन निर्णायक लियम चाल्र्सले नारायणलाई क्रोसन्ट किंग भन्न समेत भ्याए । उपनाम दिए । नारायणले आफैँ माथि विश्वास नगरेका बेला लियमले आत्मविश्वास बढाए । उपनाम स्विकार्न लगाए । अनि नारायणलाई भने, ‘आई लभ यु अ लट ।’उनीहरू टप सिक्समा पुगे । मिथिकल बिस्ट बनाउनुपर्ने थियो । नारायणलाई लाग्यो केही नेपालकै बनाऊँ । सोचे यही बेला हो देशको संस्कृति प्रमोट गर्ने । घर सल्लाह भो गरुड बनाउने ।
विष्णु भगवानको वाहन गरुड । पन्छीहरूका राजा । बौद्ध ग्रन्थहरूका अनुसार गरुडलाई सुपर्ण, राम्रो पङ्ख भएको, जीव भनिन्छ । यसले सर्प खान्छ । गरुडको स्वरूपलाई हेर्दा शरीर मनुष्यको जस्तो र मुख तथा पखेटाले गर्दा चरा जस्तो देखिन्छ । भारतको चेन्नई सहरबाट ६० किलोमिटर टाढा वेद गिरि माथि ‘पन्छी तीर्थ’ छ । जहाँ शताब्दी औँ देखि अपराह्नको समयमा एक जोडी गरुड सुदूर आकाशबाट मन्दिरमा आई पुजारीले दिएको खानेकुरा खाएर फेरी आकाशमा नै फर्किन्छन् भन्ने विश्वास छ ।
सनातन धर्ममा गरुड जति आश्चर्यपूर्ण, रहस्यमय र महत्त्वपूर्ण छ, ‘द बेक अफ’मा नारायणले बनाएको चकलेटको गरुडलाई पनि निर्णायकहरुले आश्चर्यपूर्ण मानेका थिए । उनीहरूले प्रतिस्पर्धा गर्न लायक, उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गरेका थिए । त्यो निलो रङ्गको चकलेटको गरुडको आँखा, चुच्चो, पखेटा, कम्मरमा बाँधेको पेटी, सर्प अनि प्रसादको रूपमा राखिएको चकलेट विद ग्वाभा–पिन्च अफ हिमालयन सल्ट । सानो भन्दा सानो विवरण कुँदिएको । मूर्तिकारले मूर्ति कुदेँ जस्तो । अझ त्यसलाई झुन्ड्याउनु पर्ने । ६ घण्टा मात्रै थियो त्यो बनाउने समय । नारायण भन्छन्, ‘राम्रो इन्जिनियरिङ भयो । उ बेलाको ब्रिज कोर्स काम लागे जस्तो भो ।’ नारायणको जोडी जजिङको पालामा ढाका टोपी लगाएर ठाँटिएका थिए । उनीहरूले च्यालेन्ज जिते । जितिसकेपछि ऊर्जा थपियो । आत्मविश्वास बढ्यो । आफूलाई तिर्खान दिनरात मेहनत गरे । साढे दुई घण्टाको मात्र सुताई । दुई भाइको जोडी बेजोड जमिरहेको थियो–अनस्क्रिन र अफस्क्रिन पनि । निर्णायकहरुले जुगलबन्दीको उदाहरण दिने गरी ।
टप फाइभमा पुगेपछि प्रस्तुति खासै राम्रो भएन । मनोबल कमजोर भयो । फुरफुर परिरहेका उनीहरू अलिकति खिन्न भए तर जिन्दगीमा कहिलेकाहीँ यसरी ब्रेक पनि लाग्छ भनेर चित्त बुझाए । नारायण भन्छन्, ‘रातभर निन्द्रा लागेन । चार वटामा तीन वटा जितेर एउटामा सेकेन्ड भएकोमा त्यहाँ गएर झट्का लाग्यो।’ अर्को राउन्ड सुगरको सो पिस बनाएर आइसक्रिम बनाए । सुगरको पेङ्गुइन । त्यो राउन्डमा उनीहरू थर्ड भए ।
फाइनल पुग्नलाई एक स्टेप बाँकी थ्यो । त्यो च्यालेन्जमा टेबल सिन क्रिएट गर्नुपर्ने थियो । खान योग्य कुराको मात्र प्रयोग गर्नुपर्ने । अनि केही चलायमान देखिन पनि पर्ने । इडिबल इन्टरयाक्टिभ चकलेट वाटर ह्वील । उनीहरूले सानो घर, घर छेवैमा पोखरी, त्यही पोखरीमा खेलिरहेका हाँसहरू, मैदान, बगैँचा र पानी घट्ट बनाएका थिए । त्यो घट्ट, साँच्चै तरल पदार्थले मात्र चल्थ्यो, पानी हालेपछि जस्तै । निर्णायकहरुले नै पानी हालेर हेरेका थिए । त्यतिन्जेल उनीहरूलाई पनि धुकचुक थियो चल्ने हो कि नचल्ने हो भन्ने । त्यो पानी बग्दै पोखरीमा पुग्दाको दृश्य साँच्चै मनमोहक थियो । उनीहरूले डिजर्ट बनाएर घरभित्र लुकाएका थिए । एडभेन्चरस थियो । त्यो राउन्डमा उनीहरू सेकेन्ड भए ।
फाइनलको च्यालेन्ज अन्तर्गत एउटा हाफमा ‘आफ्टरनुन टी’ थियो । बेलायतको चिया सम्बन्धी परम्परा हो आफ्टरनुन टी । १८४० ताका सुरु भएको मानिन्छ । बेलुका ८ बजे हल्का भोक मेटाउन मिनी मिलका रूपमा विकसित भएको पाइन्छ । आफ्टरनुन टीमा स्यान्डविच, क्लोटेड क्रिम र जाम, मिठो पेस्ट्री र केकहरू समावेश हुन्छन्। अनि अर्को हाफमा ब्याङ्केटको बुफे । वेस्ट अफ ब्रिटिस हुनुपर्ने । आइकोनिक चिजहरूको डिजर्ट । उनीहरूले पनि आइकोनिक टावर ब्रिज बनाए । लन्डनको सिग्नेचर ब्रिज । हुबहु नभए पनि उनीहरू झन्डै झन्डै नजिक पुगेका थिए ब्रिजको खाकामा ।
नारायण सम्झन्छन्, ‘बेलायत पुगेर ब्रिजमा नजाँदा बेलायत भ्रमण अपूर्ण भन्दा रैछन् । म त बेलायत टेकेको दोस्रो दिन नै फोटो खिच्न पुगेको थिएँ।’ कम्पिटिसनको दौरान बनाएका सो पिस टुट्ने फुट्ने केही पनि भएन । अरू टिमले त्यस्ता दुख झेल्नुप¥यो तर यी दुई भाइ भाग्यमानी निस्किए यो मामलामा ।
आफ्टरनुन टीको कमेन्टमा सबै उत्कृष्ट थियो। नराम्रो केही थिएन। त्यहीँ सकारात्मक सोच आइसकेको थियो नारायणलाई । ‘अरूलाई कमेन्ट गरेको सुनेर पनि जितिन्छ कि जस्तो लागेर मैले तनुजलाई जित्न सकिन्छ, आशा छ, भन्न भ्याइसकेको थिएँ ।’
दुई घण्टापछि अनाउन्स भयो नारायण र टीजेको नाम । नारायण भावुक भए तर टीजेको आँसु नै खस्यो । तीसकै उमेरमा तरक्की
बाल्यकालमा गहुँको रोटी र गाउँमा आउँदै गरेको पाउरोटीको स्वाद खोज्दै हुर्केका नारायण, आज, बेलायतको ठुलो र भव्य रेस्टुरेन्टमा पाउरोटीलाई नयाँ शैलीमा प्रस्तुत गर्दै छन्। उनी भन्छन्, ‘ जिन्दगी बल्ल सुरु भयो। धेरै उतारचढाव आए पनि हार नमानेको नतिजा हो यो भनेर गर्व महसुस हुन्छ । कडा मेहनत गर्दै सम्हालिँदै गरेको प्रतिफल हो यो । जो–जो मसँग जोडिनुभयो उहाँहरूले राम्रोसँग सिकाइदिएर त म यहाँ छु । सबैको गाइडेन्स राम्रो थियो। वर्ल्डको वेस्ट सेफहरू भएको लन्डनमा प्रतियोगिता भाग लिएर जित्दा दुई चार दिन त निन्द्रै लागेन ।
उनको अर्को उद्देश्य भनेको आफ्नो सिप अरूलाई पनि सिकाउनु हो। ‘नेपालमा पनि बृहत् बनाउनु छ, विस्तार गर्नु छ। केकलाई नेपाली स्वाद हालेर नेपालीपन कसरी दिने भन्ने मेरो उद्देश्य रहनेछ। चिनीको सट्टा सख्खर प्रयोग गर्दै नेपालको फ्लेभरमा मेरो सिपको फ्युजन दिने सोच छ,’ उनी थप्छन्। नारायणलाई विश्वास छ, यो प्रयासले नेपाली स्वादलाई विश्वस्तरमा पु¥याउन सघाउनेछ ।
नेपाली स्वाद र संस्कृति विश्वलाई चिनाउने सपना बोकेर अगाडि बढिरहेका नारायणको जीवन विजयोत्सवको रूपमा लगाइने दशैँको टिकाको जस्तै सफलताको गाढा रङले सजिएको छ । ती बाल्यकालका मिठासपूर्ण स्मृतिहरूदेखि बेलायतका भव्य भान्सासम्मको यात्रा । उनले आफैँभित्रको सिर्जनशीलता र मेहनतको फ्युजनलाई विश्वसामु नयाँ ढङ्गले प्रस्तुत गरेका छन्। ‘जिन्दगी बल्ल सुरु भएको छ,’ भन्ने उनको गर्व मिश्रित वाक्यांश, सङ्घर्ष र सफलताको उत्सव हो।
दशैंमा दिइने आशीर्वचन जस्तै सङ्घर्ष र मिहिनेतको आशीर्वाद छ उनको जीवनमा पनि । ‘कीर्तिश्च नारायणे’ले साँचो अर्थमा नारायण श्रेष्ठलाई चित्रित गरिरहेको छ ।
‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई
सेफद्वय सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’ (तस्वीरहरु)