नेपालका पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन गरे ।
नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायी लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ भाषा अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उनले बताए ।
मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँलाई नेपालको प्रकृति हेर्न आह्वान गर्नसमेत आग्रह गरेका छन् ।
जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका काम पनि भइरहेको मन्त्री पाण्डेले बताए ।
त्यसैगरी कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा सातौँ भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
राजदूत सोङले चीन विश्व पर्यटन मोडेललाई पुनर्संरचना गर्ने शक्ति राष्ट्रका रूपमा रहेको बताए ।
चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएको समेत राजदूत सोङले बताए ।
त्यसैगरी पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्त्वपूर्ण पहल भएको बताएका छन् ।
निमित्त सिइओ ऐरले चिनियाँ भाषा प्रशिक्षणले नेपालका पर्यटन पेसाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने छ ।
नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा ब्याचबाट २ सय ४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरूप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।