आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका चिनियाँ नागरिकलाई हेलिकप्टरबाट उद्धार


टुरिजम पाना संवाददाता काठमाडौं । २८ जेष्ठ २०८२

‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्धार (रेस्क्यु) गरेको छ ।

नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो । छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले मंगलबार बिहान उद्धार गरेको हो ।

काठमाडौँस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

हुवाङले ११ जुनका दिन आफ्नो ३६ औँ जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए । परिवारले नै काठमाडौँस्थित चिनियाँ दूतावासमा खबर गरेर उद्धार गरिदिन भनेका थिए ।

त्यसपछि दूतावासले पर्यटक प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ।

२८ जेष्ठ २०८२