पोखराका प्याराग्लाइडिङ कम्पनीमाथि कर छलीको आरोप, कारवाहीको तयारीमा राजस्व कार्यालय


pokhara paragliding
फाइल तस्वीर

पोखरामा सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरूले कर छलेको आरोपमा आन्तरिक राजस्व कार्यालय पोखराले अनुसन्धान सुरु गरेको छ।

उजुरीको आधारमा कार्यालयले ती कम्पनीका चालु आर्थिक वर्ष (साउनदेखि फागुनसम्म) का कागजातहरू संकलन गरी अध्ययन गरेको हो। आन्तरिक राजस्व कार्यालय पोखराको सूचना अधिकारी रेनु तिम्सिना भट्टराईका अनुसार, प्याराग्लाइडिङ कम्पनीहरूले आफ्नो कारोबारको सम्पूर्ण विवरण नदिएको, मूल्य अभिवृद्धि कर तिरेको नदेखिएको, तथा नेपाल हवाई खेलकुद संस्था (ना) ले तोकेको कोटा अनुसार उडान गरे पनि राजस्व नबुझाएको पाइएको वताइएको छ

भट्टराईले नेपाल हवाई खेलकुद संस्था “ना” मार्फत सबै प्याराग्लाइडिङ कम्पनीका कागजात लिइए पनि, आवश्यक अतिरिक्त कागजातहरू कम्पनीहरूबाट सिधै संकलन गरिएको बताइन्। उनले कतिपय कम्पनीहरूले कारोबार विवरणसमेत नराखेको तथा निष्क्रिय भएका कम्पनीहरूसमेत अनुसन्धानको दायरामा परेको जानकारी दिइन्।

हाल कार्यालयले प्राप्त विवरण र कारोबारबीच फरक देखिएकाले मूल्य अभिवृद्धि कर ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ। यसरी पोखराका प्याराग्लाइडिङ कम्पनीहरूमा वित्तीय पारदर्शिताको अभाव देखिएको भन्दै आन्तरिक राजस्व कार्यालयले कडाइ गर्ने संकेत दिएको छ।

८ असार २०८२