कर्णाली साहसिक गन्तव्य हो भन्ने बुझेर पर्यटक आउनुपर्छ: मोहनदेव जोशी


टुरिजम पाना काठमाडौं । २६ कार्तिक २०७९
RaRa Tal, Karnali, Visit Karnali, Visit Rara
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल ! तस्बिर : गीता कटुवाल

मुलुक संघीय संरचनामा गएसँगै पर्यटनको कार्यक्षेत्र तीन तहमा रहने व्यवस्थालाई अबलम्बन गरिएको छ । प्रदेश सरकारहरू गठन भएसँगै उद्योग, पर्यटन, वन र वातावरणको क्षेत्रमा काम गर्नको लागि हरेक प्रदेशमा पर्यटन मन्त्रालय छ ।

प्रदेश सरकार आइसकेपछि कर्णालीमा पर्यटनको क्षेत्रमा कस्ता कामहरू भए ? के के कामहरू हुन सकेका छैनन् ? पर्यटनको क्षेत्रमा काम गर्न प्रदेश सरकारलाई अप्ठ्याराहरू कस्ता छन् ? यिनै विषयको सेरोफेरोमा रहेर टुरिजम पानाले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीसँग कुराकानी गरेको छ :

मोहनदेव जोशी
सचिव
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश

 

प्रदेश सरकार गठन भइसकेपछि कर्णालीमा पर्यटन क्षेत्रको कामहरू कसरी भइराखेको छ ?

पर्यटन क्षेत्रको लागि विनियोजित बजेटबाट अहिले हामीले दुई क्षेत्रमा विभाजन गरेर काम गरिरहेका छौं । पर्यटन पूर्वाधार र पर्यटन प्रवर्द्धन । पर्यटन पूर्वाधार अन्तरगत विकासे खर्च पर्‍यो ।

पर्यटन प्रवर्द्धन भनेको चालु खर्च अन्तर्गत पर्दछ । जसमा गोष्ठी गर्ने, सभाहरू गर्ने, सेमिनार गर्ने, प्रचार सामग्रीहरू तयार पार्ने, सार्वजनिक बहस तथा साहित्यिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर उहाँहरूको माध्यमबाट पर्यटकीय क्षेत्रहरूलाई प्रचारप्रसार गर्ने काम राखेका छौं । त्यस्तै, बहुवर्षीय रुपमा पर्यटन क्षेत्रको विकास गर्ने कामलाई हामीले पर्यटकीय पूर्वाधार भनेका छौं । मुख्यगरी यी दुईवटा काममा हामीले पैसा खर्च गरेका छौं ।

पूर्वाधार अन्तर्गत पछिल्लो पाँच वर्षमा प्रदेश सरकारले के के काम गर्‍यो ?

प्रत्येक जिल्लामा मोटामोटी ‘एक जिल्ला, एक पर्यटकीय उपज’ भनेर अलि ठूलो खालको (प्रदेशका लागि ठूलो) पर्यटकीय पूर्वाधारमा काम गरिराखेका छौं ।

मन्त्रालयबाट हुने अरू धेरै कामहरू भने दुर्भाग्यवश टुक्रे योजनामा बढि खर्च भएको हामीले महसुस गरेका छौं । त्यो टुक्रे काम भनेको पर्यटकीय क्षेत्रहरूमा हरित उद्यान निर्माण, हेलिप्याड निर्माण, मन्दिरको संरचनाहरू तयार गर्ने, सहिद प्रतिष्ठान भवनहरू र अन्य स–साना कुराहरूमा बढि खर्च भइराखेको छ ।

Deuti Bajyai, Mandir, Surkhet, Karnali
कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको देउती बज्यै मन्दिर !

ठूला पूर्वाधारका बारेमा बताउनु पर्दा ‘एक जिल्ला एक पूर्वाधार’ भनेर प्रदेशका दशवटै जिल्लामा काम भइरहेको छ । त्यो बाहेक कर्णाली प्रदेश गुरुयोजना अनुसार नयाँ पर्यटकीय गन्तव्यहरूमा पनि काम भइरहेको छ । गुरुयोजना अनुसार देहायका गन्तव्य नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका छन् :

१. सुर्खेत काक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जजुरादह, पञ्चपुरी नगरपालिका ८ र ९ वडा (गुसी ताल, मादले गुफा, शिव गुफा) गिद्दे डाँडा पर्यटन क्षेत्र
२. दैलेख पञ्चकोशी पर्यटन क्षेत्र (धार्मिक पर्यटन), कोदगढी–पञ्चदेवल–बेलासपुर महाबु पर्यटन क्षेत्र
३. कालिकोट पचाल झरना
४. सल्यान कुपिन्डे दह
५. जाजरकोट खलङ्गा दरवार क्षेत्र
६. रुकुम पश्चिम गोतामकोट चित्रिपाटन साहसिक पद मार्ग
७. जुम्ला सिंजा सभ्यता, डुडुल स्तुपा (चैत्य)
८. हुम्ला लिमि उपत्यकाका पर्यटकीय स्थलहरू
९. मुगु रारा ताल, रारा शे फोक्सुण्डो ताल पदयात्रा मार्ग
१०. डोल्पा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र

यसरी प्रत्येक जिल्लामा कम्तिमा एक करोड र बढिमा १० करोडसम्म, पर्यटकीय गुरुयोजना अनुसार हरेक वर्ष हामी काम गरिरहेका छौं ।

यो त भयो पूर्वाधारको कुरा, प्रवर्द्धनतर्फ यहाँहरूले छुट्याउनु भएको बजेट र बनाउनु भएको योजना अनुसार कत्तिको काम हुन पायो ?

यसलाई मैले दुईवटा रुपमा विभाजन गर्छु । पर्यटन प्रवर्द्धन भन्ने वित्तिकै हामी सुरूमा कुरा गर्छौं, नीतिगत र संरचनाको । त्यसपछि बल्ल हामी कार्यक्रमको कुरा गर्छौं ।

नीतिमा कुरा गर्नुपर्दा पर्यटकीय पूर्वाधारलाई विस्तार गर्नको लागि नीतिगत रुपमा, प्रदेश पर्यटन ऐन २०७८ जारी भइसकेको छ ।
अर्को, कर्णाली प्रदेशको पर्यटन गुरुयोजना, (२०७७–०७८ देखि २०८६–०८७) १० वर्षको गुरुयोजना बनाएर मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत गरिसकेका छौं । त्योभन्दा बाहेक अन्य कामहरूमा हामीले कर्णाली प्रदेशका महोत्सवहरूको क्यालेन्डर बनाउने काम गर्छौं ।

त्यसैगरी विशेष रुचिको पर्यटकीय स्थलहरूको गाइडको लागि मोबाइल एप बनाएका छौं, गन्तव्य कर्णालीको नाममा । कर्णालीका कुन कुन स्थानहरू गन्तव्यको लागि योग्य छन्, के के हेर्न पाइन्छ, कसरी जाने, कहाँबाट जाने, कुन मौसममा जाने भन्ने विषयका जानकारीहरू विस्तृत रुपमा त्यहाँ राखिएको हुन्छ ।

Salyan, Kupinde Tal, Kupinde Daha, Tourism, KArnali
कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको प्रसिद्ध कुपिन्डे दह ! तस्बिर : सरिता चलाउने ।

त्यसैगरी कर्णाली क्षेत्रको सम्पूर्ण पर्यटकीय क्षेत्रहरूको महत्व उजागर गर्नेगरी कर्णाली भन्ने पुस्तक प्रकाशन भएको छ । यो पुस्तक हामीले विभिन्न मञ्चहरूमा, विभिन्न क्षेत्रहरूमा, विभिन्न संघसंस्था तथा निकायहरूलाई वितरण गरिरहेका छौं । यसको माध्यमबाट कर्णालीको पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन हुन्छ र प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

त्यसैगरी हामीले भर्खरै मात्र कर्णाली प्रदेशको पर्यटकीय स्थानहरूलाई सामान्य जनताले कसरी बुझ्छन् भन्नको लागि छोटा भिडियोहरू, सामाजिक सञ्जालको लागि छोटा भिडियोहरू र कर्णाली क्षेत्रको पर्यटकीय बृत्तचित्रहरू भनेर खुल्ला प्रतिस्पर्धा गराएका थियौं ।

सामान्य जनताले पनि भाग लिन पाउँन् भनेर यसलाई एकदमै ठूलो व्यावसायिक प्रतिस्पर्धाको रुपमा गराएनौं । यो प्रतिस्पर्धा हामी हरेक वर्ष गराउँछौं र छनौट भएकालाई पुरस्कार वितरण गर्छौं । यसवर्ष पनि १४ जना उत्कृष्ट सामग्री बनाउने व्यक्तिहरू छनौट हुनुभएको छ ।

नेपाली, अङ्ग्रेजी, हिन्दी र चाइनिज यी चारैवटा भाषामा कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्नेगरी एउटा अलग्गै वेबसाइट डिजाइन गरिएको छ । यसै आर्थिक वर्षबाट यो सञ्चालनमा आउँछ ।

त्यसैगरी, कुडा कर्णालीका भनेर कर्णाली उत्सवमा हरेक वर्ष सरकारले कर्णालीको पर्यटन लगायत विविध क्षेत्रहरूलाई कसरी प्रवर्द्धन गर्ने भन्ने हिसाबमा एउटा यो सार्वजनिक सरोकारको मञ्चलाई पनि प्रोत्साहन गरिरहेका छौं ।

त्यो बाहेक हामीले हरेक वर्ष एक समयमा वैचारिक विषयहरूमा मन्थन गर्ने, जुम्ला–रारा अल्ट्रा म्याराथुनलाई प्रवर्द्धन गर्ने, र्याफ्टिङको लागि आवश्यक पूर्वाधारहरू निर्माण गर्ने, प्याराग्लाइडिङको क्षेत्रमा राम्रा मानिस आउन सकुन् भनेर कर्णाली प्रदेशबाट हरेक वर्ष १० जना विज्ञहरूलाई तालिम दिने र उनीहरूलाई आवश्यक सामग्रीहरू वितरण गर्ने लगायतका यस्ता धेरै कामहरू गरिरहेका छौं ।

प्रवद्र्धको लागि कुरा गर्दा हामीले कर्णालीको लागि ‘पाँच प’ भनेर भन्छौं ।
– पहुँच
– प्रचार
– प्रवर्द्धन
– पूर्वाधार
र,
– पर्यावरण ।
यो पाँचैवटा प लाई ध्यान दिँदै पर्यटन प्रवर्द्धनका हाम्रा सम्पूर्ण कामहरू यसै पाँच प को वरपर रहेर भइरहेका छन् ।

अहिलेसम्म प्रदेश सरकारले गरेको कामलाई हेर्दा कुन क्षेत्र प्राथमिकतामा राख्नुपर्ने देखिन्छ, पूर्वाधार कि प्रवर्द्धन ?

कर्णाली प्रदेशमा बनेको पर्यटन गुरुयोजनाले १० वर्षमा प्रदेश सरकारले गर्नुपर्ने कामहरूको बारेमा स्पष्ट रुपमा व्याख्या गरेको छ । यसले के भन्छ भने, प्रवर्द्धन र पूर्वाधारलाई सँगसँगै लैजाने तर बजेट विनियोजनको हिसाबबाट पूर्वाधारका कार्यक्रमहरूमा बढि रकम विनियोजन गर्ने भनिएको छ । हामी त्यसै अनुरुपले अघि बढिराखेका छौं । यद्दपी हामीले अझैपनि पूर्वाधारको लागि गर्नुपर्ने कामहरू थुप्रै बाँकी छ ।

प्रदेश पर्यटन ऐनले हामीलाई जुन अधिकार दिएको छ, खासगरी होटल/लजहरू, ट्रेकिङ एजेन्सीहरू, साहसिक खेल पर्यटन दर्ता गर्ने, होमस्टे दर्ता गर्ने लगायतका धेरै कामहरू छन् । यी सम्पूर्ण कामहरूको लागि एउटा अलग्गै दर्ता र सञ्चालन ऐन बनाउन बाँकी नै छ ।

कर्णालीको प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल । तस्बिर : गीता कटुवाल

वित्तिय रुपमा हाम्रो जिम्मेवारी पर्यटन पूर्वाधारमा बढि छ । हामी त्यहाँ बजेट बढि हाल्छौं । तर प्रवर्द्धनको कामहरूमा रकम कम भएको भएपनि हामीले गर्नुपर्ने मेजर कामहरू बाँकी नै छ । हाम्रो ध्यान त्यहाँ पनि गएको छ ।

समृद्ध कर्णालीको लागि पर्यटन क्षेत्रमा प्रदेश सरकारले जुन किसिमको लगानी र कामहरू गरिरहेको छ, त्यसको नतिजा कस्तो देखिएको छ ?

पर्यटन क्षेत्रमा गर्ने काम भनेको दीर्घकालिन लगानी हो । यसबाट तुरुन्त लाभ आइहाल्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौं । तर जतिपनि जिल्लामा अहिले ठूला पूर्वाधार र संरचनाहरू निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ, वित्तीय साझेदारी कार्यक्रम सुरू भइसकेपछि स्थानीय सरकारहरूको समन्वयमा त्यहाँबाट प्राप्त राजश्वको केही प्रतिशत प्रदेश सरकारले पाउनेगरी हामी अघि बढिरहेका छौं ।

संघीय सरकारसँग जोडिएका कतिपय ठाउँहरूमा भने राजश्वको विषय कसरी सुल्झाउन सकिन्छ भनेर पनि हामी छलफल गरिरहेका छौं । आजको भोलि नै हाम्रो लगानीले प्रतिफल नदेला तर दीर्घकालीन रुपमा प्रदेश सरकारले पर्यटनको क्षेत्रमा गरेको लगानी खेर जाँदैन भन्ने कुरामा हामी ढुक्क छौं ।

पर्यटनको क्षेत्रमा प्रदेश सरकारले लगानी गर्दैगर्दा कुन ठाउँको लागि के आवश्यक छ र धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गर्नुपर्ने काम के हो भनेर कसरी पहिचान गर्नुहुन्छ ?

कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७–२०८६) बनाएका छौं । यो पर्यटन गुरुयोजनाले प्रत्येक जिल्लाको लागि कुन कुन ठाउँमा लगानी गर्नुपर्छ भनेर प्रष्ट बोलेको छ । अघि मैले माथि उल्लेख गरेका ठूला पूर्वाधारका काम बाहेक पर्यटनका क्षेत्रमा गर्नुपर्ने अझै धेरै काम र ठाउँका बारेमा गुरुयोजनाले भनेको छ ।

यो बाहेक कहिलेकाहीँ मागमा आधारित भएर पनि हामी काम गरिरहेका हुन्छौं । पर्यटकीय, धार्मिक, साँस्कृतिक सम्पदा छ वा सानो रकममा पनि त्यो सम्पन्न हुन्छ भन्ने भयो भने हामी स्थानीय सरकार/नागरिकको मागको आधारमा पनि पर्यटनको क्षेत्रमा काम गरिरहेका हुन्छौं ।

कर्णाली प्रदेशमा रहेर पर्यटनको क्षेत्रमा काम गर्न प्रदेश सरकारलाई कस्तो खालको अप्ठ्यारो देखिएको छ ?

अन्य प्रदेशभन्दा कर्णाली भौगोलिक रुपमा अलि भिन्न छ । दुर्गम छ । कर्णाली जस्तो छ, जुन स्वरुपमा छ, त्यसरी नै चिनाउनु पर्छ । यसको स्वरुप बिगारेर होइन, यो जस्तो छ त्यसरी नै यसको ब्रान्डिङ गर्नुपर्छ भन्ने हिसाबले हामी काम गरिराखेका छौं ।

तपाईले हाम्रो पुरानो डकुमेन्ट पल्टाउनुभयो भने कर्णालीलाई आकर्षक अथवा सुरक्षित गन्तव्य भन्ने गरिएको थियो । हामीले के नारा दियौं भने, कर्णाली साहसिक गन्तव्य हो । यो सुरक्षित गन्तव्य होइन ।

यहाँ असुरक्षा छ, समस्या छ, दुर्गम बाटाहरू छन्, यहाँ भौगोलिक अवस्था जोखिम छ, दुर्घटना हुनसक्छ । र, त्यो जानेर नै पर्यटक आउनुपर्छ । यो ठाउँ साहसिक खेलका लागि, साहसिक पर्यापर्यटनको लागि उपयुक्त हुन सक्छ भन्ने जुन यहाँको इमेज छ, हामीले यसलाई त्यसरी नै चिनाउनु पर्छ ।

सल्यानको कुपिन्डे तालमा रमाउँदै पर्यटक ! तस्बिर सरिता चलाउने

कर्णालीलाई हेर्ने दुईवटा आँखा छन् । एउटा आँखा छ, भूगोल/प्रकृतिको । अर्को आँखा छ, सामाजिक/आर्थिकको । सामाजिक/आर्थिक आँखाले के भन्छ भन्दा, कर्णालीमा अशिक्षा व्याप्त छ, कर्णाली गरिब छ, कर्णालीमा अपायक छ भन्छ । तर भूगोल/प्रकृतिको आँखाले कर्णाली सुन्दर छ, कर्णाली अतुल्य छ, कर्णाली आकर्षक छ, कर्णाली साहसिक छ भन्छ ।

हाम्रो मन्त्रालयबाट हामीले गर्न खोजेको काम भनेको सम्पूर्ण रुपमा यो दोस्रो आँखाबाट । हामी के चाहन्छौं भने, कर्णालीलाई हेर्ने आँखा भूगोल/प्रकतिको आँखा होस् । हामीले गर्ने सम्पूर्ण कामहरू अहिले त्यसैतर्फ केन्द्रित छन् ।

पर्यटकलाई कर्णाली आउन अझै सजिलो होस् भन्नका लागि (हवाई र स्थलमार्ग दुबैतर्फ) प्रदेश सरकारले के के सुधार गर्‍यो ?

कर्णाली प्रदेशको जुन प्रथम पञ्चवर्षीय योजना बनेको छ, त्यो प्रथम पञ्चवर्षीय योजनाले ६ वटा ‘ब’ मा जोड दिएको छ । त्यो ६ वटा ‘ब’ मध्ये प्रथम ‘ब’ भनेको बाटो हो । कर्णाली प्रदेश सरकार के कुरामा स्पष्ट छ भने कर्णाली प्रदेशको समग्र विकासको लागि सबैभन्दा महत्वपूर्ण अब्यव: भनेको बाटो हो । त्यसकारण बाटोको विकास हुनुपर्छ भन्ने कुरामा सरकार चनाखो नै छ ।

हामीले अघिनै भनिसकेका छौं, पर्यटकीय प्रवर्द्धनका पाँचवटा प मा पहिलो प भनेको पहुँच नै हो । हवाई पहुँच होस् या स्थल पहुँच होस्, यो हाम्रो मुख्य कामभित्र पर्छ ।

हामीले अहिले जतिपनि पूर्वाधारको काम गरिराखेका छौं । संरचनाहरू निर्माण गरिराखेका छौं । प्रदेशमा भएका पर्यटकीय ठाउँहरूलाई अझै आकर्षक र घुम्न लायक बनाउने प्रयास भइराखेको छ, त्यहाँसम्मको पहुँच भएन भने त हामीले जतिसुकै काम गरे पनि त्यसको अर्थ हुँदैन । त्यसकारण प्रदेश सरकारले जुन जुन पर्यटकीय गन्तव्यका लागि काम गरिहेको छ, त्यहाँसम्मको बाटोका बारेमा हामी सोचिरहेका छौं । त्यसको लागि काम भइरहेको छ । बाटो सहज भएन भने यात्रा महङ्गो पर्न आउँछ, यात्रा महङ्गो भएपछि पर्यटक कम आउँछन् भन्ने कुरामा हामी सचेत छौं ।

कर्णालीका १० जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा स्थल मार्ग हुँदै जाने बाटो पुगिसकेको छ । हुम्लामा पनि अहिले कर्णाली करिडोरको सर्केगाडबाट करिब ७६ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी हो । अरु सबै ट्रयाक खुल्ला भइसकेको छ । आशा गरौं, हाम्रो योजना र अपेक्षा अनुसार नै काम भयो भने अबको दुई वर्षमा कर्णालीका सबै जिल्लामा स्थलमार्ग हुँदै पुग्न सकिन्छ । यसो भयो भने हामीले अझै धेरै पर्यटकलाई भित्र्याउन सक्छौं भन्ने विश्वास छ ।

कर्णाली घुम्न आउने पर्यटक र संघ सरकारसँग प्रदेश पर्यटन मन्त्रालयको के अपेक्षा छ ?

कर्णाली प्रदेशको जुन दुईवटा मुख्य गन्तव्य हो, से–फोक्सुन्डो र रारा । यो दुवै निकुञ्ज एरिया हो । निकुञ्ज एरिया भन्नेबित्तिकै यो संरक्षणको हिसावबाट बनाईको संरचनाहरू हो । पर्यटकीय गतिविधि गर्ने बित्तिकै, पर्यटकीय चहलपहल बढ्ने बित्तिकै निकुञ्जका वन्यजन्तुमा, बासस्थानहरूमा अथवा वनस्पतिहरूमा असर पर्न सक्छ ।

त्यही भएर हामीले सुरूदेखि नै जोड दिएको भनेको कर्णालीलाई अरु प्रदेशजस्तो गरेर भौतिक संरचनामा काम गर्ने छुट छैन । हाम्रा मुख्य दुई गन्तव्य, रारा र फोक्सुन्डोमा हामीले काम गर्ने भनेको प्रकृतिमा आधारित पर्यटन नै हो । हामी चाहन्छौं, हामीसम्म आउने (कर्णाली आउने) पर्यटकहरू कम्तीमा वातावरणीय रुपमा सचेत मान्छे आउन् ।

दोस्रो कुरा, सरकारले गर्नुपर्ने कामको कुरामा हामीले अहिले पनि पर्सनल रुपमा धेरै फोनहरू पाउँछौं । रारा आउन/फोक्सुन्डो आउन इच्छुक हुनुहुन्छ उहाँहरू मन्त्रालयमा फोन गर्नुहुन्छ । कुन मौसममा आउने, कसरी आउने, बाटो के हो, प्लेनको टिकट कति पर्छ ? कहाँ बास बस्ने ? के के हेर्न पाइन्छ ? बाइक जान्छ कि जाँदैन ? यस्ता प्रश्न असाध्यै धेरै आउँछन् । र, बारम्बार आउँछन् ।

यसबाट हामीले के बुझ्यौं भने प्रदेश सरकार गठन भइसकेपछि पर्यटकीय गन्तव्यहरूको जुन हिसाबले हामीले प्रचारप्रसार गर्नुपर्ने थियो, इन्फर्मेसनहरू थ्रु गर्नुपर्ने थियो, त्यो अझैपनि पुगेको छैन कि भन्ने लागिरहेको छ ।

हामीले बनाउँदै गरेको एप र विभिन्न भाषामा सञ्चालन हुने वेबसाइटले यी समस्याहरूको समाधान हुनेछ भन्ने आशा छ ।

हाम्रा उच्च हिमाली जिल्लाहरू जहाँ दुर्गम क्षेत्रहरू धेरै छन्, जहाँ स्थलमार्गको राम्रो व्यवस्था हुन सकेको छैन । बाटो पुगेको ठाउँमा पनि यात्राको लागि असहज छ वा भनौं दुर्घटनाको बढि जोखिमहरू भएका ठाउँहरू छन् ।

मुगु, जुम्ला, डोल्पामा बाटो छ तर बढि दुर्घटनाको जोखिम छ । हुम्लामा र डोल्पामा त अहिले फ्लाइट नै पाउने अवस्था छैन । संघीय सरकारसँग हामीले अपेक्षा गरेको/चाहेको के हो भने, यस्ता ठाउँहरूमा हवाई उडानमा छुट सुविधा वा सहुलियत दिएर कर्णाली प्रदेशका सबै जिल्लामा कम्तिमा दिनको एउटा फ्लाइटको व्यवस्था गरिदिनु पर्‍यो ।

अहिले मन्त्रालयलाई आउने गुनासोहरूमा हरेक दिन झन्डै २० प्रतिशत गुनासो हुम्लामा फ्लाइट भएन, हुम्लामा खाद्यान्न पुगेन, माथि जान पाइएन, विजोग भयो भन्ने खालको आउँछ । हाम्रै नागरिक जान पाइराखेका छैनन् भने हामीले कुन मुखले पर्यटकलाई आऊ भन्न सक्छौं ? यसमा संघीय सरकारले पहल गरेर नियमित हवाई उडानको व्यवस्था गरिदिनु पर्छ ।

२६ कार्तिक २०७९