आकाशमा ठोक्किनबाट जोगिए २ विमान, प्राधिकरणले गर्‍यो तीन एटीसीलाई कारबाही


टुरिजम पाना काठमाडौं । १२ चैत्र २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको हो ।

घटनाका बारेमा छानबिन गर्न भन्दै अर्को सूचना नआएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको छ । यद्यपी प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन । घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति गठन गरेको छ । छानबिन समितिले रिपोर्ट बुझाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

गत (चैत १० गते) शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।

१९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो।

१२ चैत्र २०७९