‘बान्नीकी चैतली’, स्थानीयले संरक्षण गरेको अदभूत संस्कृति

स्थानीयले संरक्षण गरेको अदभूत संस्कृति


बसन्त प्रताप सिंह बझाङ । १७ मंसिर २०७९
banni ki chaitani

छविस पाथिभेरा गाउँपालिकाको मुम्ला गाउँमा बिहानैदेखिको चहलपहल बेग्लै थियो । सबै घरका केटाकेटीदेखि वृद्धवृद्धासम्म सुकिला लुगामा ठाँटिएका थिए ।

परम्परागत पहिरन र गहनामा सजिएका महिलाहरू देउडा खेल्न व्यस्त थिए । हातमा काठका घोचा बोकेर गादो (बर्काे) भिरेका पुरुषहरू होस्टेहैंसे गर्दै धुपी, सल्लाको सिङ्गै रुख (काँकर) बोकेर मेलास्थलतर्फ जाँदै थिए ।

मुम्लाको काँकरझोडा खेल्ना गाउँमा पुग्नासाथ त्यहाँ उपस्थित सबैले तालीको गड्गडाहटले स्वागत गरे । काँकरको तीनतिरबाट मोटो डोरी (लडो) मा झुण्डिएका मानिसहरूले झण्डै ६० हात लामो रुखलाई तोलेनी खेतमा आधा किलोमिटर जति ठाडै हिँडाए । काँकर हिँडाएको जोखिमपूर्ण दृश्य सास रोकेर दर्शकले हेरिरहेको बेला एकाएक पुष्पवृष्टि भयो ।

माथि डाँडाबाट धामीगाउँका स्थानीयले हाहाहुहु गर्दै त्यस्तै खालको काँकर ल्याइरहँदा तल बसेका दर्शकहरूले फेरि ताली र सिठ्ठीले स्वागत गरे ।

केही बेरमा दुवै गाउँका काँकर काँकरविस्ना पुर्याइयो । दुवै काँकरलाई हातैहातको सहारामा एकसाथ ठड्याएर नाप्ने (काँकर सप्याउने) काम भयो । दुवै काँकरलाई बान्नी मष्टा मन्दिर नजिक पुर्याउनै लाग्दा बोहोरा गाउँको टोली अर्काे काँकर बोकेर त्यहीँ आइपुग्यो  ।

बाजागाजासहित आएका तीनै गाउँको टोली एकसाथ हुँदा बान्नी मष्टा मन्दिर परिसर गुञ्जायमान भयो । सबै मिलेर काँकर मन्दिरमा चढाएपछि देउडाको झक्काझक्की (दोहोरी) सुरू भयो ।

बोहरागाउँ, धामीगाउँ र मुम्लाका स्थानीयले जङ्गलबाट सिङ्गै धुपी सल्लाको रुखलाई काँकर अर्थात् लिङगोको रूपमा भित्र्याउने गरिन्छ ।

यो सुदूरपश्चिमको प्रसिद्ध मेला ‘बान्नीकी चैतली’ मा देखिने दृश्य हो । बझाङको छविस पाथिभेरा गाउँपालिकाको बान्नीचौरमा हुने पश्चिम नेपालकै विशेष पर्व अर्थात् ‘बान्नीकी चैतली’ मेलालाई यहाँका स्थानीयबासीले जस्ताको तस्तै संरक्षण गर्दै आएका छन् ।

चैतली नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको संस्कृति हो । देउडासँग जोडिएको यो शब्दले वसन्त ऋतुको आगमनको स्वागतमा मनाइने उत्सवलाई जनाउँछ । ‘बान्नीकी चैतली’ यही उत्सवको सबैभन्दा सुन्दर र भव्य रूप हो भन्दा फरक पर्दैन । ‘चैतली’ मेला कसरी सुरुवात भयो भन्ने विषयमा थुप्रै भनाइ भेटिन्छन् ।

परापूर्वकालमा महिसासुर दानव र मस्टा देवताको घमसान युद्ध भयो । युद्धमा दानवले देवतालाई पासोमा पारेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भएर महिसासुरको बध गरेको खुसीयालीमा ‘बान्नीकी चैतली’ मेला मनाउन थालिएको जनविश्वास छ । ‘बान्नी चैतली’ का तीन प्रमुख आर्कषण छन्ः काँकरे औंसी, बासी चैतली र चैतली ।

banni ki chaitaliचैते औंसी अर्थात घोडे जात्राको दिनमा काँकरे औंसी मेला लाग्दछ । औंसीको राति काँकर अर्थात काठको लिङ्गो काट्ने हुनाले काँकर औंसी भन्ने गरेको पाइन्छ । यस दिन यहाँका तीनवटा गाउँका मानिसहरूले अलगअलग काँकर काट्ने चलन छ ।

बोहरागाउँ, धामीगाउँ र मुम्लाका स्थानीयले जङ्गलबाट सिङ्गै धुपी सल्लाको रुखलाई काँकर अर्थात् लिङ्गोको रूपमा भित्र्याउने गर्छन्।

औंसीको बिहान सबभन्दा पहिला बोहराको काँकर काट्न जाने मानिसहरू ब्यासीबाट बान्नीचौरको देवीका सानामा नगरा बजाउँछन् । त्यसपछि बान्नीकोट बोहराका घर बाटगाउँको नायकले साइत सार्छ । साइत सार्दा बन्दुक पड्काउने चलन छ ।

काँकर काट्न जाने प्रत्येक पुरुषसँग बन्चरो अनिवार्य हुन्छ । साथमा बलिका लागि बोका पनि लगिन्छ । धामीगाउँको समूह बोल्लेचौर पुगेपछि मुम्लाको काँकर लिन जाने मण्डिका दलित समुदायका मानिसहरू मुम्लामा पुग्छन् ।

मुम्लाबाट हिडेको काँकर कडेलसम्म पुग्छ । धामीगाउँको काकर विसौना भन्ने ठाउँमा उभ्याउने गरिन्छ । धामीको काँकर ठीक ६० डिग्रीको आकारमा पुगेपछि झोडाखेलमा बाजा बजाउँदै सुस्केरा हालेर काँकरको स्वागत गरिन्छ । धामी गाउँको काँकर पूरै उभ्याएपछि बाहुन गाउँका बाहुनले सै (गाउने) बोलाउने चलन छ ।

गाउँमा खानपिन गरेपछि मुखियाका घरबाट अक्षता दिन्छन् र दमाहा अनि नगरा बजाउँदै लेकतिर जान्छन् । काँकर धुपी सल्लाको मात्र काटिन्छ । कसैले अन्य प्रयोजनका लागि पहिलै बन्चरोको घाउ लगाएको भए पनि त्यो रुख काटिँदैन । काँकरको टुप्पोसमेत नभाँचिएको हुनुपर्ने मान्यता छ ।

काँकर औंसीको बाह्रौ दिन अर्थात द्वादशी तिथिको दिनमा बासी चैतली मनाइन्छ । चैतली हुनुभन्दा एक दिन अगाडि मुग्ला गाउँमा बासी चैतली हुन्छ । यो दिन गाउँमा मीठोमसिनो परिकार पकाएर परिवारसँग बसेर खानपिन गर्ने र रमाइलो गरिन्छ । गाउँका सबै घरबाट बाबियो ल्याएर काँकर तान्नका लागि डोरी बाटिन्छ ।

वसन्त ऋतुको आगमनले वातावरण उल्लासमय भएको समयमा सबैले आआफ्नो घर कमेरो र रातो माटो लगाएर पोत्ने गर्दछन् । चैतली मेला यस क्षेत्रमा यति धेरै महत्वपूर्ण छ कि घरमा कसैको मृत्यु भयो भने पनि मेला सकाएपछि मात्र शव घरबाहिर निकालिन्छ । बासी चैतलीको भोलिपल्ट चैतली सुरू हुन्छ ।

सबैभन्दा पहिला मुम्ला गाउँका स्थानीयबासीले काँकरे औंसीमा काटेको काँकर मेलास्थलतर्फ लैजान्छन् । काँकर बोक्नका लागि परम्परागत पहिरनसहित मुम्लाका केटाकेटीदेखि वृद्धसमेत हातमा एक प्रकारको लठ्ठी (घोचा) बोकेर मुम्लाको एकै ठाउँमा जम्मा हुन्छन् ।

मुम्लाबाट हिडेको काँकर कडेलसम्म पुग्छ । धामीगाउँको काकर विसौना भन्ने ठाउँमा उभ्याउने गरिन्छ । धामीको काँकर ठीक ६० डिग्रीको आकारमा पुगेपछि झोडाखेलमा बाजा बजाउँदै सुस्केरा हालेर काँकरको स्वागत गरिन्छ । धामी गाउँको काँकर पूरै उभ्याएपछि बाहुन गाउँका बाहुनले सै (गाउने) बोलाउने चलन छ ।

झोडाखेल्नामा पनि मुम्ल्यालको काँकर उभ्याएर सै बोलाउछन् त्यसपछि काँकर ढलाएर लडा नखोली तोल्यानीमा ल्याँउछन् । तोलेनीको ठाडो बाटो नजिक जरापट्टीको माग पुगेपछि मोतैका मान्छेले खाल्डो बनाउँछन् । जुन खाल्डोमा काँकरको जरापट्टीको माग राखेर काँकर उभ्याइन्छ ।banni ki chaitali

काँकरको जरापट्टीको मागमा झोडाखेल्नामा सानो खत काटेको हुन्छ, त्यसैमा पारेर तीन मिटर जति लामो काठ बाँधिन्छ, जसलाई दायाँबायाँ बराबर हुने गरि नापेर राखिन्छ । त्यसैमा काँकर हिडाउँदा मान्छे चढ्ने चलन छ । यसलाई मष्टाले नापो दिएको काठ भनिन्छ, जुन जात्रा समाप्त भएपछि पाटागाउँ रजबारको घरमा अर्को वर्षका लागि सुरक्षित राखिन्छ ।

तीनवटा डोरीको सहाराले काँकर ठड्याइन्छ । एक डोरी तल्ला गडा हुन्छ, त्यसमा झुतेडी र मुम्ला तल्ला गाउँका मानिस हुन्छन् । अर्को डोरी मल्लागडाभन्दा पछाडि हुन्छ, त्यसमा मुम्ला मल्लागाउँका मान्छे हुन्छन् । तेस्रो डोरी काँकरभन्दा अगाडि मल्लो छेउतिर छड्केमा हुन्छ ।

पुरुषहरूले डोरीको साहाराले खेतमा काँकर हिँडाउँदै गर्दा महिलाहरूले विभिन्न खालका मङ्गल गीत गाउने चलन छ । यसै खेतमा सुर्मा देवीले त्रिशूलले दानवको छाती चिरेको सम्झनामा काँकर यसरी हिडाउने गरिएको जनविश्वास छ ।

तोलेनीमा भएका हजारौँ दर्शकले जौ तथा गहुँको बालासहितको बोट उखेलेर काँकरको स्वागतका लागि आकाशमा फ्याँक्दा काँकरको वरिपरि एक प्रकारको आकार तयार हुन्छ । त्यसपछि काँकर धनुष आकारको बनाउदै ढलाउने गरिन्छ ।

तोलेनीमा काँकर ढलाएपछि डोरी बटुलेर काँकर बिस्नातिर लैजान्छन् । दौलागाउँमा (भट्टका बस्तीमा) पुगेपछि भट्ट परिवारका मानिसले फलफूलसहितको चोतो (मुला) को बोट दिने चलन छ । काँकरको टुप्पापट्टी बोक्ने समूहले चैतोला गाउँछन् । यहाँ चैतली जात्राभरिमा सबभन्दा बढी चैतोला गाउने ठाउँ हो ।

ब्राह्मण र दौलाका भट्ट परिवारका व्यक्तिहरू चैतोला गाइरहन्छन् भने मुम्ल्याल-मोत्याल पनि घोचा टेक्दै चैतोला गाउँदै काँकर बिस्ना पुग्छन् । बान्नीचौरमा काँकरलाई हत्केलामा राखेर बोकेको अनौठो दृश्य अवलोकन गर्ने भीडको बयान गर्नै सकिन्न । देवीका सानामा काँकर साटासाट हुन्छ तब आ-आफ्नो काँकर बोक्ने परम्परा छ ।

बान्नीचौरको मध्ये भागबाट धामीको काँकर तलकोटतिर जान्छ भने मुम्लाको काँकर बान्नीमाडुतर्फ लाग्छ । मन्दिरमा पुगे पछि माडुको दक्षिण–पश्चिमपट्टिको झ्यालबाट काँकरको टुप्पो घुसाउँदै पूरै काँकर मन्दिरभित्र घुसाउछन् । बोहराको काँकर ढलाएर डोरी लगाएकै अवस्थामा सै बोलाउँदै तल्लो तलकोट पुर्याइन्छ ।

धामीको काँकर पहिला उभ्याइन्छ भने त्यसपछि बोहराको काँकर उभ्याइन्छ । दुईवटै काँकर मष्टा मन्दिरमा अर्पण गरिन्छन् अनि मन्दिरमा पूजा लाग्छ । फलफूल भेटीलगायत चढाइन्छ । काँकर चढाइ सकेपछि यहाँका सबै श्रद्धालुहरूको जमघट बान्नीचौरमा हुने गर्दछ । यहाँ छालाको भकुन्डो बनाएर खेलेको दृश्य मेलाको अर्काे आर्कषण हो ।

Banni ki chaitali Bajhang

तल्लो छबीस र मल्लो छबीस दुईवटा गाउँका बीचमा भकुन्डो खोसाखोस गरेर खेलेको हेर्नका लागि तछाडमछाड नै चल्छ । बान्नीचौरको पश्चिमतिरको गहिरो चौरमा भकुन्डो खेलिन्छ ।

तल्ला, मल्ला छबीसेहरू आफ्नो दाँयापट्टीबाट घुम्दै पूर्वका पश्चिम, पश्चिमका पूर्वतिर हुन्छन् । खासमा तल्लो छबीसतिर व्यासी मटेला र केही व्यक्ति कडेलका र मल्लो छबीसतिर कडेल अनि केही व्यक्ति व्यासीँका पनि हुन्छन् । जब तल्लो मल्ला छबीस्या घुम्छ भकुन्डोसहितको बान्नीकोटा बीचमा पर्छन् ।

भकुण्डो खेल्दा बीचमा मान्छे जोसँग भकुण्डो छ, उनीहरू आफ्नोतिर तान्दछन् भने बाहिरपट्टी समूह बनाएर खेल्नेले आफ्नो क्षेत्रतिर धकेल्ने गर्दछन् ।

यसरी धकेल्दा तल्लो छबीसे पूर्वबाट पश्चिमतिर र मल्लो छबीसे पश्चिमबाट पूर्वतिर धकेल्ने गर्दछन् । सानोबाट पूर्वपश्चिम दुवैतिर लिन अफ्ठेरो भएर दुवै पक्ष थाकेपछि दुवैथरीले तलतल झर्न दिने काम गर्दछन् । तलतल लैजाँदा अन्तिममा मान्छे जानसमेत गाह्रो हुने ठाउँ सिन्नेडीमा भकुण्डो फाल्ने चलन छ ।

किंवदन्ती अनुसार बासी चैतलीको दिनमा जीवलीको कुनै एक गोरुलाई बाघले माथ्र्यो । सोही गोरुको छालाको मात्र भकुण्डो बनाइन्थ्यो तर हिजोआज त्यसताकाको जस्तो धार्मिक शक्ति नदेखिए पनि वर्षभरिमा बाघले खाएको छालामध्येबाट भकुण्डो बनाइ चैतलीका बिहान बासी चैतलीका दिनमा बान्नीकोट पुर्याउने चलन छ ।

लुगाकपडामा आधुनिकता भए पनि जात्राका क्रममा बोल्लाको गादो, काठका घोचा, भकुण्डो बनाउने छालाका लागि गोरु बागले मार्नु, लडा (डोरी) बाटेर बोक्नु, छालाका दोचा, लाट्यारोटाको प्रचलन कायम रहनुले ‘चैतली’ एक आदिम कालदेखिको संस्कृति झल्काउने जात्राको प्रतिनिधित्व गर्ने जात्रा हो भन्ने कुरामा दुई मत देखिँदैन ।

छालाको भित्र भुस हालेर सिलाउने चलन छ । भुस एउटै निश्चित भाडाले, छाला पनि सधैं निश्चित एउटै नापले प्रयोग गरिन्छ । तापनि कुनै वर्ष बढी र कुनै वर्ष कम हुन्छ । बढी हुँदा खाद्यान्नको समय सुविकाल राम्रा शुभ हुने र कम हुँदा तल्लो मल्लो छबीसमा अनिकाल पर्ने भन्ने परम्परागत मान्यता छ । बान्नीचौरमा भकुण्डो खेलेपछि पसल थाप्ने, ड्यौणा खेल खेल्ने, जस्ता काम हुन्छन् ।

रातभरि चौरमा जात्रा हुन्छ, होटेल, पसल, ड्यौणा, विभिन्न खेलसहित रमाइलो गरिन्छ । रातभरि ड्यौणा जहाँ खेले पनि बिहान उज्यालो भएपछि जिल्ला तथा बाहिर जिल्लाबाट आउने सर्वोत्कृष्ट खेलाडीहरूको ड्यौणा खेल गुल्याल तौडामा लाग्दछ ।

हिजोआज विभिन्न कार्यक्रम भलिबल, क्रिकेट, लोकदोहोरी, ड्यौणा जस्ता सञ्चालन गरेर तीनचार दिनसम्म जात्रा चलाउने परम्परा बसेको छ ।

लुगाकपडामा आधुनिकता भए पनि जात्राका क्रममा बोल्लाको गादो, काठका घोचा, भकुण्डो बनाउने छालाका लागि गोरु बागले मार्नु, लडा (डोरी) बाटेर बोक्नु, छालाका दोचा, लाट्यारोटाको प्रचलन कायम रहनुले ‘चैतली’ एक आदिम कालदेखिको संस्कृति झल्काउने जात्राको प्रतिनिधित्व गर्ने जात्रा हो भन्ने कुरामा दुई मत देखिँदैन ।

अद्भूत दृश्यहरू देखिने यो मौलिक मेलाको प्रवर्धन गरेर पर्यटक भित्र्याउनका लागि छबीस पाथिभेरा गाउँपालिकाले विभिन्न
पहलहरू गरिरहेको छ ।

१७ मंसिर २०७९