नाडाले घोषणा गर्‍यो सरकार विरुद्धको आन्दोलन, यस्ता छन् माग


टुरिजम पाना काठमाडौं । १६ मंसिर २०७९

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

सरकारले विगत ८ महिनादेखि निजी सवारी साधनको आयात रोकेको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नाडाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा मंसिर २२ गतेसम्म शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

नाडाले ५ दिनसम्म कालो व्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा मंसिर २२ गते तीन घण्टा ११–२ बजेसम्म शान्तिपूर्ण र्‍यालीसहित धर्ना कार्यक्रम गर्ने जनाएको छ ।

सरकारले ८ महिनादेखि कार, जीप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन भूमिका खेलेको भन्दै नाडा आन्दोलित बनेको हो ।

पहिलो चरणको आन्दोलनबाट पनि सरकारले मागमा सुनुवाइ नगरे अर्को चरणमा आन्दोलन हुने अध्यक्ष ध्रुव थापाले बताए

गत बैशाखदेखि प्रतिबन्धित कार, जीप भ्यान लगायत १५० सिसि इन्जिन क्षमता माथिका मोटरसाइकलको आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने नाडाको माग छ।

१६ मंसिर २०७९