क्रिसमसमा मुख्य पर्यटकीय गन्तब्यमा रमाए युवायुवती


टुरिजम पाना काठमाडौं । १० पुष २०७९

काठमाडौँ लगायत देशभरका मुख्य सहरमा ‘क्रिसमस डे’ मनाइएको छ । मुख्य सहरमा क्रिसमसमा विशेषगरी युवायुवती बढी रमाएको देखिन्थ्यो ।

इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँने गरिएको छ । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि यस अवसरमा सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७९ आयोजना गरियो ।

पछिल्ला वर्षमा मुख्य सहरका प्रमुख स्थल क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी इसाई समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ । विगतका दुई वर्र्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

राजधानीको ट्राफिक जाम र भीडभाडले पनि क्रिसमसले धेरैको ध्यान खिचेको देखिन्थ्यो । छिमेकी देशमा नयाँ भेरियन्टसहितको कोरोना महामारी बढेकाले सरकारले भने स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको थियो । (रासस)

१० पुष २०७९