नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरी : मन्त्री पाण्डे


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डे हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तार गर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्यूनतम भयो । बाहिरबाट विदेशी यात्रुहरू जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो कसरी बढाउन सकिएला भनेर लिजमा लिने कुरा पनि एउटा उपाय हो । लिजमा लिने होमवर्क पनि भइरहेको । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ । अलि ठुलो आकारको एयरलाइन्सहरूसँग सहकार्य गरेर काम गर्न सके र नेपाल एयरलाइन्सले सेवाको क्षमता विस्तार गरे मात्रै टिकटको ब्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको ब्यालेन्स नै गर्न सक्दा रहेनछौँ ।’

मन्त्री पाण्डेले राम्रो ऐन र नियम बनाउन जरुरी रहेको बताए ।

१८ असार २०८२