सन् १९५० जुन ३ का दिन फ्रान्सका मउसाइस हेजगोग र लोइस लाचेनले पहिलोपटक ‘अन्नपूर्ण प्रथम’ हिमालको सफल आरोहण गरे । त्यो विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण भएको पहिलो क्षण थियो ।
त्यसयताका ७४ वर्षमा अन्नपूर्ण हिमाल जस्ता आठ हजार मिटरभन्दा अग्ला कैयन हिमालमा हजारौँले सफल आरोहण गरी विभिन्न कीर्तिमान पनि कायम गरिसकेका छन् । उनीहरुले अन्नपूर्ण हिमालको सफल आरोहणपछि हिमाल आरोहणमा नयाँ युग सुरु भएको मानिन्छ । त्यसैको सम्झनामा हरेक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । नेपालमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसका अवसरमा आइतबारदेखि तीन दिने कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा सञ्चालन हुने कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका साथै विभिन्न देशका राजदूत तथा दूतावासका उच्च अधिकारीहरु पर्यटकीय राजधानी पोखरामा भेला भएका छन् ।
बोर्डका अनुसार कार्यक्रममा सहभागी हुन बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, मलेसियाका राजदूतहरुको कार्यक्रममा सहभागिता हुनेछ । त्यसबाहेक संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)सहितका कूटनीति नियागका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता रहने जनाइएको छ ।
विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि सहभागी भइ हिमाल आरोहणको सम्झनामा मुलुकको पर्यटन प्रबद्र्धनका लागि भइरहेका यसप्रकारको गतिविधिलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । तर अबको समयमा भने हामीले पर्यटन प्रबद्र्धनसँगै प्राकृतिक सम्पदा र हिमालहरु जोगाउनु पनि उत्तिकै महत्वपूर्ण छ । विभिन्न देशका कूटनीतिज्ञहरु एकै ठाउँमा भेला भएको अवसरमा यसप्रकारको हिमाल पग्लने र हिउँ नै नपर्ने समस्याबारेमा पनि विषय उठान गर्न जरुरी भइसकेको छ ।
केही महिना पहिले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनिओ गुटरेसले पनि नेपालका हिमालहरुमा जलवायु परिवर्तनको असर गम्भीर रहेको भन्दै विश्वसमुदायलाई यसप्रति सचेत हुन आग्रह गरेका थिए । उनको यो आह्वान आफैमा महत्वपूर्ण थियो । जलवायु परिवर्तनले हिमालमा हिउँ नै नपर्ने समस्यादेखि अस्वभाविक वर्षा, अत्यधिक गर्मी हुने तथा नदीका जल सतह बढ्ने वा घट्ने घटना समान्य हुन थालिसकेका छन् । नेपालमा मात्रै होइन यो समस्या विश्वका अधिकांश देशमा देखा परिसकेको छ ।
नेपालको तराई भूमिमा जमिनमुनीको पानीको सतह कम हुँदै गएको छ । मालदिभ्स जस्ता समुन्द्रतटीय देशको त भविष्य नै संकटाभिमुख छ । र, यसको सोझो असर नेपालको पर्यटनमा पनि देखिएको छ ।
नेपालका हिमालहरूमा जलवायु परिवर्तनको असर अत्यन्त गम्भीर छ । अन्नपूर्ण र सगरमाथा जस्ता हिमाल नेपालको पर्यटनका लागि महत्वपूर्ण पक्ष हुन् । हिमाल पर्यटक आकर्षित गर्नका लागि मात्रै नभइ व्यवसायिक हिसाबले पनि राज्यलाई ठूलो राजस्व संकलनको स्रोत पनि बनेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त यामका लागि सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोहीले अनुमति पाएका थिए । जसबाट सरकारले रु ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।
मन्त्रालयका अनुसार नेपाल भित्रने कुल पर्यटकमध्ये १५ प्रतिशतभन्दा बढी पदयात्रा र हिमाल आरोहणका लागि आउने गरेका छन् । यदि जलवायु परिवर्तनको असरका कारण सेता हिमालबाट हिउँ पग्लिएर काला पहाडमा परिणत हुँदै जाने हो भने यसले एकातिर पर्यटनको क्षेत्रमा ठूलो नोक्सानी दिनेछ भने अर्कोतर्फ हिमताल फुट्नेलगायतका प्राकृतिक विपत्का घटनाको जोखिम बढ्नेछ ।
जलवायु परिवर्तन पछिल्लो समय संसारभर चुनौती बनेको विषय हो । हाम्रो मुलुकको हिस्सा न्यून छ । अर्थात् ०.०९ प्रतिशतभन्दा पनि कम छ । तर विश्वका अन्य देशका कारण उत्पन्न अधिक कार्बन उत्सर्जनका कारण हामीले भोग्नु परिरहेको समस्यामा विश्वको ध्यानकर्षण गराउनु जरुरी भइसकेको छ ।
जलवायु परिवर्तनको प्रमुख कारण मानवीय क्रियाकलाप नै हो । उद्योगहरूबाट निस्कने कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासहरूको उत्सर्जन, वन फँडानी, र यातायातका साधनहरूबाट निस्कने धुवाँले वायुमण्डलमा तापक्रम वृद्धि गरिरहेको छ । वैश्विक जलवायु परिवर्तनका कारणले हिमालका हिउँहरू तीव्र रूपमा पग्लिरहेका छन् । साथै, जनसंख्या वृद्धिसँगै ऊर्जा र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन पनि जलवायु परिवर्तनका लागि जिम्मेवार छ ।
जलवायु परिवर्तनको असर नेपालका हिमालमा स्पष्ट देखिन थालिसकेको अवस्था छ । पहिलो र प्रमुख असर हिमनदीहरूको पग्लिने गति बढ्नु हो । हिमनदीहरूको पग्लिने गति तीव्र हुँदा जलाशयहरूमा पानीको मात्रा असन्तुलित भइ नदीहरूको वहावमा अस्थिरता आउँछ । पछिल्लो समय बागलुङको हिमताल फुट्नुको कारणलाई यसको अंशका रुपमा लिन सकिन्छ । यसले बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम पनि बढाएको छ । उदाहरणका लागि जलवायु परिवर्तनका कारण हिमतालमा जोखिम पनि उत्तिकै बढेको छ ।
जलवायु परिवर्तनको असर हिमाल र हिमाली क्षेत्रमा तीव्र रुपमा पर्दै गएको भन्दै सरोकारवालाहरुले समयमै राज्यको ध्यान नपुगे जनजीवन र मुलुकको अर्थतन्त्रमै प्रभाव पर्ने बताइसकेका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले गत जेड १८ गते शुक्रबार बसेको बैठकमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पा र पर्वतारोहण पथप्रदर्शक दावा याङ्जुङ शेर्पाले जलवायु परिवर्तनले नेपालका हिमालहरु कालो ढिस्कामा परिणत हुने जोखिम बढेको र सगरमाथा क्षेत्रमा फोहोर र प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
त्यतिमात्रै होइन, पानीका मुहान सुक्न थालेको, बालीनाली र चौरीपालनमा असर पुगेको तथा हिमताल फुट्ने खतरा बढ्दा जीवनशैली, जीविका र पर्यटनमा प्रभाव परेको उनीहरुको गुनासो थियो । सगरमाथा चढ्नुअघि अरु आठ हजार उचाइका हिमाल चढेको हुनुपर्ने नियम बनाउन पनि उनीहरुको सुझाव थियो ।
समितिको छलफलमा मात्रै होइन, सर्वोच्च अदालतले समेत सगरमाथालगायतका हिमाल आरोहणमा देखिएको ट्राफिक जाम, त्यसवापत हुने फोहोर तथा प्रदूषणका कारण जलवायु परिवर्तनमा थप बल पुगेको आशय निकाल्दै आरोहीको संख्या तोक्नुपर्ने फैसला सुनाइसकेको छ । न्यायाधीशहरु सपनाप्रधान मल्ल र सुष्मलता माथेमाले सरकारका नाममा हिमाल आरोहण अघि नै कति संख्याका आरोहीलाई अनुमति दिने हो टुंगो लगाउन निर्देशन दिइसकेको छ । हालै सकिएको वसन्त याममा सगरमाथामा आठ जना आरोहीले ज्यान गुमाएका थिए । पर्यटन विभागले विगत वर्षको तुलनामा यस वर्ष अत्यधिक सुरक्षाका उपाय अपनाएको दाबी गरे पनि जलवायु परिवर्तनका कारण हिमालमा भने असर परिरहेको देखिएको छ ।
जलवायु परिवर्तनका कारण हिमालको जैविक विविधता र पारिस्थितिकी प्रणालीमा पनि असर परेको छ । तापक्रममा वृद्धि हुँदा वनस्पति र जनावरहरूको आवासीय क्षेत्र परिवर्तन भएको छ । यसले कतिपय प्रजातिहरूको अस्तित्वलाई नै संकटमा पार्ने जोखिम बढेको छ । हिमाली क्षेत्रमा पाइने दुर्लभ वनस्पति र जनावरहरूको संख्या घट्दा मुलुकको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्छ ।
हिमाली पर्यटन नेपालका लागि प्रमुख आर्थिक स्रोत हो । हिमालका दृश्यहरू र पर्वतारोहणका लागि आउने पर्यटकहरूको संख्या जलवायु परिवर्तनका कारण घट्न सक्छ । जसले स्थानीय समुदायको आयआर्जनमा नकारात्मक प्रभाव पार्छ । हिमालका बाटाहरू र संरचनाहरूमा पनि जलवायु परिवर्तनले असर पार्छ । जसले पर्यटकहरूको यात्रा कठिन र जोखिमपूर्ण बनाउने सम्भावना रहन्छ ।
र अन्त्यमा
जलवायु परिवर्तनका समस्या समाधानका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । पहिलो त हिमालको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न जरुरी छ । अहिले नेपाली सेना तथा शेर्पाहरुको सहयोगमा हिमाल सरसफाइ भइरहे पनि त्यो प्रभावकारी छैन । एक तथ्यांकअनुसार सगरमाथामा मात्रै हाल तीन सयभन्दा बढी मानिसका शवका साथै १४ हजार टन फोहोर उठाउन बाँकी छ । यस्तो अवस्थामा फोहोर व्यवस्थापनका लागि पछिल्लो समय ड्रोनको प्रयोग गर्ने विकल्प प्रभावकारी बन्नसक्ने भन्नेमा बहस सुरु भएको छ ।
हरितगृह ग्यासहरूको उत्सर्जन घटाउनका लागि स्वच्छ ऊर्जा स्रोतहरूको उपयोग गर्नु आवश्यक छ । सौर्य, वायू र जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवद्र्धन गर्नुपर्छ। त्यसबाहेक, वन संरक्षण र पुनःस्थापना कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । साथै, हिमाली क्षेत्रमा वनस्पति आवरण बढाउन वृक्षारोपण कार्यक्रमहरू सञ्चालन पनि गर्न सकिन्छ ।
त्यसैगरी हिमाली क्षेत्रमा जलवायु अनुकूलन कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । हिमतालहरूको व्यवस्थापन, बाढी र पहिरो नियन्त्रणका उपायहरू अपनाउन सकिन्छ । स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरबारे सचेतना फैलाउन र उनीहरूलाई अनुकूलन उपायहरू अपनाउन तालिम पनि दिनुपर्छ । जलवायु परिवर्तनका असरहरूको अध्ययन र अनुसन्धानलाई प्रवद्र्धन गर्र्दै वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका असरको सही मूल्यांकन गर्न र समस्या समाधानका लागि प्रभावकारी रणनीतिहरू विकास गर्न सकिन्छ ।
जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको असरले प्राकृतिक र आर्थिक क्षेत्रमा समस्या उत्पन्न गरिरहेको छ । यस्ता समस्याहरूको समाधानका लागि स्वच्छ ऊर्जा, वन संरक्षण, जलवायु अनुकूलन, र अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । संयुक्त प्रयास र दीर्घकालीन योजनामार्फत मात्र जलवायु परिवर्तनका असरहरूलाई न्यून गर्न सकिन्छ र हिमाली पर्यावरणको संरक्षण गर्न सकिन्छ ।