मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले तपाईंलाई स्वागत गर्छ । परम्परगत पोशाकमा सजिएका कर्मचारीको आतिथ्यताबाटै नेपाली कला र संस्कृति बुझ्न सकिन्छ । पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति देख्न सकिन्छ ।
होटलका थाम, कुर्सी, कुसनमा तपाईंले नेपालीपन भेट्नुहुन्छ । होटलका रुपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायतका नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ । लबिमै कर्नर ब्रू क्याफे रहेको छ ।
ठमेल नरसिंह चोकमा केही दिनअघि सफ्ट ओपनिङ गरिएको आर्या होटल एण्ड स्पाले साँचो अर्थमा नेपाली कला, संस्कृति र आतिथ्यता पस्किरहेको देख्न र अनुभव गर्न सकिन्छ । होटलमा एक सय साठी डलर देखि सोह्रसय डलर सम्मका विभिन्न बर्गका रुमहरू रहेका छन् । बाथरुम हार्डवयरमा एन्टिक सेलेक्सनलाई रोजिएको छ ।
जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा रहेको होटल सञ्चालनमा ल्याएका हुन् ।
“म जापानमा बस्दा यो कुरा सिक्ने मौका पाएको थिए, उनीहरुलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन्”, सिम्खडाले भने, “मलाई पनि नेपाल गएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ ।”
सिम्खडाका अनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कँदैनन् । नेपालबाट स्वदेश फर्कँदै गर्दा उनीहरुले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाउन भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ ।
होटलको लबिमा मयुर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्टकला देख्न सकिन्छ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अंगालिएको छ, ताकी आगन्तुकले नेपाली आतिथ्यता अनुभव गर्न सकुन् ।
सिम्खडाका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित दुई अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । “विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन्, तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ”, उनले भने ।
७२ वटा रुम भएको होटलमा ४१ वटालाई आर्या डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएको रुममा नेपाली कला बढी देख्न सकिन्छ । पाहुनालाई सोहीअनुसारको अनुभव दिलाउनका लागि काठको बुट्टे फ्रेममा विभिन्न पेन्टिङ देख्न सकिन्छ ।
होटलमा ज्याकुजीको सुविधासहित २९ वटा आर्या स्वीट रुम छन् । प्रत्येक स्वीट रुममा सिटिङ एरियामा सोफाको सट्टा बस्नका लागि फाल्चा निर्माण गरिएको छ भने बायुपङ्खी घोडा कुँदिएको टुँडाल पनि देख्न सकिन्छ । दराजमा आँखीझ्यालको कला कुँदिएको छ । त्यसबाहेक केही रुममा काठबार सहितको बार्दलीको पनि सुविधा छ ।
होटलमा भएको एक्जुकेटिभ स्वीट विशेष छ । ६५ वर्गमिटरको रुममा इनबिल्ड टेलिभिजनसहितको ज्याकुजीको सविधा पाइन्छ । त्यसबाहेक रुमभित्रै साउनाको मज्जा लिन सकिनेछ । नेपाली शैलीमा निर्माण गरिएका बेडरुममा पनि काष्ठकला पोखिएका छन् ।
होटलमा करिब १०० वर्गमिटरको प्रेसिडेन्सियल स्वीट रुम छ । यसभित्र मास्टर बेडरुमसहितको इन्टर कनेक्टिङ बेडरुम छ । किचन, डाइनिङ रुम, प्राइभेट बार, इनबिल्ड टेलिभिजनसहितको ज्याकुजी, साउनाको सुविधा प्रेसिडेन्सियल स्वीट रुमभित्रै उपलब्ध छन् ।
होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । पाहुनाका सबै रुममा फ्रेन्च फ्रेस कफीको व्यवस्था गरिएको छ । होटलका रुमहरु स्वयम्भु, धरहरा र सिटी भ्यू हुने गरी तयार गरिएको छ ।
होटलको पहिलो तलामा करिब २५ जना बस्न मिल्ने हल छ भने ११औँ तलामा पनि करिब ७० जना अट्ने सभाहल निर्माण गरिएको छ ।
स्काइ वकसहितको लाउञ्ज र वेलनेस
होटलको १२औँ तलामा १०० जना बढी अट्ने क्षमताको सोरा नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ । त्यसैको छेउमा ‘स्काइ लाइन सोरा’ पनि छ । सोरा स्काइ लाइनको सिसामा स्काइ वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । हाल होटलले सोरा स्काइ लाइन विशेष गरी डिनरका लागि पनि खुला गरिनेछट जनाएको छ । जहाँ ५० जना अट्न सक्ने क्षमताको बनाइएको छ ।
होटलको सबैभन्दा माथिल्लो तलामा द थर्टिन्थ रिट्रिट नामको ३६० डिग्री भ्यूको लाउञ्ज छ । जहाँबाट एकैसाथ स्वयम्भू बौद्धनाथ, धरहरालगयत काठमाडौँ वरपरका डाँडासहित लगभग पूरै काठमाडौँ सहर देख्न सकिन्छ । होटलको नवौं तल्लामा नाइन्थ वेभ नामाकरण गरिएको बार छ ।
होटलले आवासीय र स्थानीय पाहुनाका लागि सुविधा सम्पन्न स्पाको सुविधा उपलब्ध गराएको छ । महिला र पुरुषका लागि अलग-अलग कोठामा साउन, स्टिम निर्माण गरिएका छन् । स्वयम्भूको दृश्य हेर्दै स्पामा रहेको ज्याकुजीको आनन्द लिन सकिन्छ । स्पामा अनुभवी थेरापिस्ट छन् । वेल इक्युप जिम हल निर्माण गरिएको छ ।
होटलको नवौं तल्लामा टेम्प्रेचर मेन्टेन्ड स्वीमिङ पुल छ । स्वीमिङ पुलसँगै एकै साथ आठ जना बस्न मिल्ने आउटडोर ज्याकुजी छ ।