सफा र सुन्दर महानगर बन्दै वीरगञ्ज, जथाभावी फोहर फ्याँके जरिवाना


टुरिजम पाना संवाददाता वीरगञ्ज । २६ माघ २०७९
chhatha parva

महानगर क्षेत्रमा जथाभावी फोहर फ्याँक्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय महानगरलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना तिराउने नीति लिएको हो ।

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइमा मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजनाहरु अघि बढाइएपछि यतिबेला महानगर सफा र सुन्दर देखिन थालेको हो । सडकमा जथाभावी फोहर फ्याँक्ने व्यक्ति तथा सङ्घसंस्थालाई महानगरले तत्कालै जरिवाना गर्ने अभियान नै सुरु गरिएको छ ।

‘करिब सात-आठ वर्षअघिसम्म नगरका अधिकांश सडकमा फोहर फ्याक्ने प्रवृत्तिका कारण नगर दुर्गन्धित र कुरुप थियो’, वीरगञ्ज महानगरपालिका–६ का रतन टेमानी भन्छन्, ‘पछिल्लो समय महानगरले सरसफाइलाई विशेष प्राथमिकतामा राखेर अभियान नै चलाएपछि नगर क्षेत्रका सडक र बजार अहिले चिटिक्क र सुन्दर देखिएको छ ।’ सडकहरु सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरु सुन्दर र सफा महानगरवासी हुन पाएकामा गौरवको अनुभूति भइरहेको उनको भनाइ छ ।

‘पहिला पहिला बिहान उठ्ने बित्तिकै घरअगाडिको सडकहरुमा फोहरको दर्शन हुन्थ्यो’, टेमानी भन्छन्, ‘तर अहिले बिहान उठेपछि सडकहरु सफा, सुन्दर देखिदा मन आनन्दित हुन्छ ।’ सडकसँगै महानगरका अधिकांश ठाउँ सफा र सुन्दर देखिएपछि महानगरको सौन्दर्य समेत बढेको उनको कथन छ ।

सडकमा थुप्रिने फोहर र दुर्गन्धले ठूलो सास्ती भोगेको सुनाउँदै वीरगञ्ज महानगरपालिका–१६ का अशोक महतो भन्छन्, ‘ करिब आठ-नौ वर्षअघि मेरो घरमा छिमेकी मुलुक भारतबाट दुई पाहुना आउनु भएको थियो तर घर अगाडिको सडकमा थुप्रिएको फोहरका कारण उहाँहरुले खाना नै खानु भएन, बिहान त्यतिकै फर्किनुभयो । त्यसयता ती पाउना वीरगञ्ज आउनै चाहनु भएन’, उनी भन्छन् ।

‘सडकमा जथाभावी फोहर फ्याँक्ने प्रवृत्तिका कारण विगतमा कुरुप बनेको वीरगञ्ज महानगरले अहिले काँचुली फेरेको छ’, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष समेत रहेका स्थानीय प्रकाश खेतान भन्छन्, ‘पहिला बजार क्षेत्रको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिसहरु पुनः वीरगञ्ज आउन चाहँदैनथे तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाहरुबाट मानिसहरु आउने क्रम समेत बढेको छ ।’ यसबाट महानगरको सौन्दर्य बढ्नाका साथै पर्यटन प्रवद्र्धनमा समेत ठूलो फाइदा पुगेको उनको भनाइ छ ।

केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायत सडकहरु महिले सफा र सुन्दर भएका छन् । सफा र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँ जानकारी दिन्छन् ।

उनका अनुसार वडा नं १ देखि ३२ वटै वडामा वीरगञ्जस्थित पृथी तारा एम.के इन्टरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आइएको छ । ‘मेयर साहबको मुख्य चाहना नै सफा, सुन्दर वीरगञ्ज बनाउने हो’, उनी भन्छन्, ‘त्यही योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ ।’ नालाको सरसफाइ महानगर आफैले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एन. के इन्टरनेसनल जेभीले गरिरहेको छ ।

‘पहिला महानगरसँग नाला सफा गर्न एउटा जेटिङ र एउटा सक्सन उपकरण थियो’, शाखा प्रमुख मियाँ भन्छन्, ‘अहिले महानगरले थप एउटा जेटिङ र एउटा सक्सन उपकरण खरिद गरी नाला सरसफाइमा प्रयोग भइरहेको छ ।’ साइरन जडित ट्याक्टरले फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ । विगतमा डम्पिङ साइट नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनी बताउँछन् ।

सडकमा जथाभावी फोहर फ्याल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र स्वच्छ, सफा र सुन्दर महानगर बनाउने योजनालाई सफल तुल्याउन महानगरले जरिवाना तिराउने अभियान चलाएको छ । ‘घर, पसल र कार्यालयबाट निस्किने फोहरहरु जताततै फ्याँक्ने स्थानीयहरुमा प्रवृत्ति थियो’, शाखा प्रमुख मियाँ भन्छन्, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले गत पुस १७ गतेदेखि जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेयता हालसम्म सडकमा जथाभावी फोहर फ्याँक्ने एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, व्यापारी र स्थानीय गरी ५२ जनाबाट रु ५३ हजार जरिवाना असुल भइसकेको छ ।’

आर्थिक राजधानीका रुपमा चिनिएको महानगरको पर्यटन प्रवद्र्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम थालिएको नगर प्रमुख राजेश सिंह बताउँछन् । ‘म निर्वाचित भएर आएदेखि नै यहाँको सरसफाइ तथा फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छु’, उनी भन्छन्, ‘कसरी वीरगञ्जलाई सफा र सुन्दर राख्न सकिन्छ भनेर मैले ध्यान केन्द्रित गरेको छु, यसमा सबैको साथ र सहयोग चाहिन्छ । महानगर सफा र सुन्दर भए मात्र यहाँ आन्तरिक र बाह्य पर्यटक आउँछन्, व्यापार पनि फस्टाउँछ त्यही भएर लागिरहेका छौँ ।’

‘बढ्दो जनघनत्व र सडकमै फोहर फ्याल्ने प्रवृत्तिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो’, नगर प्रमुख सिंह भन्छन्, ‘फोहर व्यवस्थापन गरी वीरगञ्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु । निर्वाचित भएदेखि नै त्यो योजनालाई कार्यान्वयनमा लैजाँदैछु ।’

बढ्दो सहरीकरण र जनसंख्याका कारण महानगरपालिकामा दैनिक फोहर उत्पादन बढ्दै गएको थियो । केही वर्षअघिसम्म महानगरपालिकामा दैनिक १६-१७ मेट्रिक टन मात्र फोहर उत्पादन हुँदै आएकामा पछिल्लो केही वर्षयता दैनिक करिब २२ मेट्रिक टनभन्दा बढी फोहर उत्पादन भइरहेको महानगरपालिकाले जनाएको छ । (राजु विश्वकर्मा/रासस)

२६ माघ २०७९