आँखै अगाडि चम्किरहेका सिस्ने तथा धौलागिरि हिमालका मनोरम दृश्य, बेसीमा देखिने दाङ उपत्यका, अन्य समथर भुभाग, छेवैमा मालिका मन्दिर, छिल्लीकोटमा पुग्ने जो कोहीलाई मन्त्रमुग्ध पारिदिन्छन् यी दृश्यहरूले ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने छिल्लीकोटको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि नयाँ प्याकेजका रुपमा जीपलाइन केही महिनाभित्रैमा थपिने भएको छ । जुन जीपलाइन लुम्बिनी प्रदेशकै सबैभन्दा लामो जीपलाइन हुने बताइएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोटमा निर्माणाधिन प्रदेशकै सबैभन्दा लामो जीपलाइनका परिकल्पनाकार हुन् क्लिनिक सञ्चालक शिव श्रेष्ठ ।
उनको परिकल्पनालाई यथार्थमा बदल्न साथ दिएका छन्, अन्य दुई लगानीकर्ता श्रीधर न्यौपाने र माधव कार्की । उनीहरूलाई श्रेष्ठकी बुहारी आरतीले समेत साथ दिएकी छन् ।
छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको स्वामित्वमा निर्माण भइरहेको जीपलाइन छिल्लीकोटको मालिका र कालीका मन्दिरको बीचमा पर्दछ ।
निर्माणको अन्तिम चरणमा रहेको यो जीपलाइन केही महिनाभित्रै सञ्चालनमा ल्याइने प्रवन्ध निर्देशक शिव श्रेष्ठले बताए ।
जीपलाइन निर्माणको काम सकिएको भएपनि टिकट काउन्टर, ड्रेस चेन्जिङ कक्ष, चमेना गृह, ट्वाइलेट–बाथरूम लगायतका अन्य संरचना बनाउन बाँकी छ । बाँकी काम सबै सकाएर एक महिनाभित्रै जीपलाइनको डेमो प्रदर्शन गर्ने श्रेष्ठको भनाइ छ ।
प्रदेशकै सबैभन्दा लामो यस जीपलाइनको लम्बाई ११०० मिटर छ । यस्तै, टेक अफ टावर छिल्लीकोटको डाँडोमा र ल्याण्डिङ टावर चोर्काटे जंगलमा रहेको छ । यसबीचको उचाइ १३२ मिटर छ ।
जीपलाइन स्थानीय भुल्के सामुदायिक वनको जग्गामा बनाइएको छ । वनसँग समन्वय गरेर निजी साझेदारी कार्यक्रम अन्तर्गत यसको निर्माण भइरहेको हो ।
सञ्चालक श्रेष्ठका अनुसार, जिपलाइनबाट हुने आम्दानी अन्तर्गत टिकेटको पाँच प्रतिशत रकम वन समूहलाई दिनुपर्ने गरी पहिलो चरणमा दश वर्षे सम्झौता भएको छ ।
साहसिक पर्यटन व्यवसायमा होमिएको यो समूह जीपलाइनमा मात्रै रोकिने छैनन्, उनीहरूले स्काइ साइक्लिङ, क्यानोपी वाक, फ्रि फल, मिनी बञ्जी जम्प लगायतका संरचना समेत निर्माण गर्ने योजनामा छन् ।
जीपलाइनको काम सकेपछि उनीहरूले सोही ठाउँमा थ्री स्टार स्ट्याण्डर्ड रिसोर्ट समेत निर्माण गर्ने सोच बनाएका छन् । साथै सानो खाजा घर पनि त्यहाँ सञ्चालन गरिनेछ ।
प्रवन्ध निर्देशक श्रेष्ठका अनुसार जग्गा खरिदसहित तीन जनाको करिब डेढ करोड रुपैयाँ यस परियोजनामा लगानी भइसकेको छ ।
जीपनलाइन सञ्चालनमा आएपछि अन्य संरचना निर्माणका लागि थप डेढ करोड रुपैयाँ लगानी लाग्न सक्ने अनुमान गरिएको श्रेष्ठ बताउँछन् ।
उनले भने,‘जीपलाइनसहित अहिलेसम्म डेढ करोड जति लगानी भइसकेको छ । रिसोर्ट सहितका संरचना बनउन अझै डेढ करोड लाग्छ भन्ने अनुमान छ ।’
थ्री स्टार स्ट्याण्डर्डको रिसोर्ट निर्माणका लागि स्वीकृति समेत लिइसकेको उनले बताए । छिल्लीकोट पुगेका पर्यटकहरूले रैथाने स्वादका परिकारहरू सहुलियत मूल्यमा खान पाउने सुविधा त्यहाँ हुने उनको भनाइ छ ।
छिल्लीकोटमा आन्तरिक मात्र नभई दाङको कोइलाबास नाका हुँदै भारतबाट पर्यटकहरू समेत जानेगरेका छन् । ‘एडभेञ्चर हब’ बनेपछि यस ठाउँमा झनै पर्यटकको चहलपहल बढ्ने उनको विश्वास छ । उनी भन्छन्,‘यसले व्यवसायमात्रै फस्टाउने नभई स्थानीय उत्पादनको बिक्री, स्थानीयलाई रोजगारी सिर्जना तथा आम्दानीको स्तर समेत बढ्न पुग्छ ।’
जीपलाइनको औपचारिक उद्घाटन आगामी दशैंको घटस्थापनाका दिन गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।