जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर परेको छ : पर्यटनमन्त्री


टुरिजम पाना काठमाडौँ । ३ माघ २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हिमाललाई जोगाउन सकिएन भने नेपालकै अस्तित्वमा प्रश्न उठ्ने बताएका छन् ।

एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको बताए ।

मन्त्रि पाण्डेले जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेको भन्दै हिमालको अस्तित्व जोगाउन नसके नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्ने बताए ।

प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनु पर्ने समेत बताए ।

उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्व जगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघ समेत चिन्तित हुनु पर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा १८ वटा देशका विदेशीदेखि स्वदेशीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

३ माघ २०८१