सौराहाका स्थानीयले, सौराहामा पालिएका निजी हात्तीलाई वन क्षेत्र नजिक एकीकृत गरेर राख्न माग गरेका छन् । व्यक्तिले पालेका हात्तीका कारण, जङ्गली हात्ती बस्तीमा आउन थालेको भन्दै उनीहरुले, निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न माग गरेका हुन् ।
स्थानीयको मागपछि, हात्ती पाल्दै आएका व्यवसायीले पनि सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए, आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् । सौराहा क्षेत्रमा अहिले मकुना, रोनाल्डो र धुर्बे पनि पोथी खोज्दै बस्ती आउने क्रम बढेको स्थानीयको भनाइ छ ।
सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै निजी हात्ती एकै ठाउँमा राख्नु पर्ने स्थानीयको माग छ । स्थानीयको मागपछि, निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायीले पनि छलफल थालेको, रत्ननगर ६ का वडाध्यक्ष किरण महतोले जानकारी दिए।
सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था मातहतमा छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए, निजी हात्ती एकीकृत गरेर राख्न तयार रहेको बताए ।
जाडो महिना सुरु भएसँगै जंगली हात्ती बस्ती पस्न थालेका हुन् ।