गण्डकी प्रदेशका प्रमुख शक्तिपीठहरू


गोविन्द मरासिनी पोखरा । १७ आश्विन २०७९
फाइल तस्बीर

बडा दशैंमा नवदुर्गाको पूजापाठका लागि गण्डकी प्रदेशमा विभिन्न शक्तिपीठहरू चर्चित छन् । पर्यटनका लागि अनुपम रहेको यस प्रदेशमा अवस्थित विन्ध्यावासिनीदेखि बन्दीपुर, मनकामना लगायतका मन्दिरहरू मुलुककै प्रमुख शक्तिपीठहरूमध्येका हुन् । यसरी हेर्दा धार्मिक पर्यटनका लागि समेत गण्डकी प्रदेश प्रसिद्ध रहेको छ । यहाँ गण्डकी प्रदेशभित्र रहेका केही शक्तिपीठहरूको जानकारी संक्षिप्तमा उल्लेख छ ।

विन्ध्यवासिनी (कास्की)


पर्यटकीय शहर पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरलाई पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर समेत भनिन्छ ।
यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हुन् । विन्ध्यवासिनीलाई भगवती कालीको अवतार मानिन्छ । यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीयवासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ । यस मन्दिरमा फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्राउने प्रचलन छ ।

यसबाहेक फेवातालमा रहेको तालबाराही मन्दिरमा दशैंको कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्दछ भने भद्रकाली मन्दिर पनि दशैंको अवसरमा विशेष पूजा हुने शक्तिपीठ हो ।

मनकामना (गोरखा)


गोरखा जिल्लामा रहेको मनकामना मन्दिर देशकै एक प्रमुख शक्तिपीठमध्ये एक हो । यस मन्दिरको नाम ‘मनले चिताएको इच्छा पूरा गर्ने भगवती’ भन्ने अर्थमा मनकामना नाम रहन गएको विश्वास गरिन्छ । वडा दशैंको अवससरमा मन्दिरमा भक्तजनहरूको घुईँचो लाग्ने गर्दछ । यहाँ दशैंभरी नै पूजा हुने भएपनि विशेषतः महाअष्टमीको दिन विशेष पूजा गर्ने गरिन्छ ।
गोरखाको गोरखा दरबार पनि प्रमुख शक्तिपीठ हो । यसै दरबारबाट दशैंको फुलपातीमा हर्षबढाइका साथ काठमाडौंको हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ ।

खड्गमाई (तनहुँ)


वर्षमा एकपटक दशैंको घटस्थापनादेखि पूर्णिमासम्म मात्र खुल्ने तनहुँको बन्दिपुरमा रहेको प्रसिद्ध खड्गमाईमा दशैंको अवसरमा विशेष मेला लाग्ने गर्दछ । यहाँ फुलपातीको दिन परापूर्व कालका राजा मणिमुकुन्देश्वरले प्रयोग गरेको शक्तिरुपी हतियार (खड्ग) लाई सबै जातजातीका समुदायले मिलेर उक्त खड्गलाई आसपासका मन्दिरसँगै बजार परिक्रम गराउने गरिन्छ ।
उक्त राजाको हतियार निकै शक्तिशाली रहेकाले त्यो हतियारलाई संरक्षण एवं पूजाकै लागि खड्गमाइको मन्दिर स्थापना गरिएको समेत पाइन्छ । यस मन्दिरमा बलि दिन र खड्ग निकालेको अवलोकन एवं दर्शन गर्नकै लागि भक्तजनहरूको घुईँचो लाग्नेछ गर्दछ ।

tanahu kalika
तनहुँ कालिका दमौली, तस्वीर: कृष्ण न्यौपाने

दमौली बजारबाट एक किलोमिटरको दूरीमा अवस्थित तनहुँ कालिका मन्दिर बागभञ्ज्याङ सामुदायिक वनको बीच भागमा छ । सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यही पार्कभित्र रहेको मन्दिरमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् । यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँ मल्लकालिन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको छ । मन्दिरसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइएको छ । अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ ।

तनहुँकै छाब्दी बराही र ढोरबराहीमा वडा दशैंको अवसरमा पूजाआजा हुने गर्दछ । छाब्दी बराही र ढोरबराहीमा दैविक शक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका व्यक्तिहरू यी बराहीको पूजा गर्दछन् ।

आलमदेवी (स्याङ्जा)
स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा रहेको आलमदेवीलाई जिल्लाकै प्रमुख शक्तिपीठ मानिन्छ । आलमदेवी दर्शन गरे मनोकाँक्षा पुरा हुने विश्वास गरिन्छ । शाहवंशका कूलका रुपमा रहेको यस मन्दिरमा प्रत्येक वर्षको वडादशैंमा राजपरिवारका सदस्य समेत यस मन्दिरमा पुग्ने गरेका छन् । वडा दशैं र चैते दशैमा राँगा, बोका, भेडा, परेवा र कुखुराको बलि दिने प्रचलन छ । यस्तै पुतलीबजार नगरपालिकामा रहेको चण्डीथान र चण्डीकालिका मन्दिरमा पनि विशेष पूजा हुने गर्दछ । यसबाहेक गह्रौँकालिका, बहाकोट कालिका, कोल्माकोट लगायतमा स्थानमा समेत देवीको पूजा गरिन्छ ।

बाग्लुङ कालिका (बाग्लुङ)
बाग्लुङमा अवस्थित कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न भई राम्रो फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहेको छ । वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियमपुर्वक पूजा गरिन्छ । जसलाई सरकारी पूजा पनि भनिन्छ, जुन हरेक वर्ष हुने गर्दछ । नियम पूजामा पन्चबली चढाइन्छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा लगायतका पञ्चबली दिनका लागि छुट्टाछुट्टै ठाउँहरूको व्यवस्था गरिएको छ । नवरात्रको बाग्लुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ ।

पैयूँकोट (पर्वत)
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको पैयूँकोट मध्यकालमा अस्तित्वमा रहेका बाइसे÷चौबीसे राज्य अन्तर्गतको एक प्रमुख राज्य हो । सेनवंशीय राजाहरूको तत्कालीन दरबार र हाल खड्गदेवी मन्दिर रहेको ठाउँ नै पैयुँकोटका नामले प्रसिद्ध छ । यस मन्दिरमा बडादसैं र चैत्राष्ठमीका दिनमा उत्सवका साथ खडगदेवीको पूजाआजा हुने गर्दछ ।
घटस्थापनाका दिन जमरा राख्दा जमरामा बलीको रगत पर्न ेगरी पाठाको बली दिइन्छ । दशमीका दिन टीका जमरासहित शुभ साइतमा मौलामा पूजा गरीसकेपछि कोटमा उपस्थित भएका कर्ता, उपासु लगायत सबैले टीका जमरा लगाउँदछन् ।
यस्तै पर्वतकै गुप्तेश्वर गुफा, लगायतमा दशैंको पूजा हुन्छ ।

मौलाकालिका (नवलपरासी पूर्व)
पूर्वी नवलपरासीमा रहेको मौलाकालिकामा नवदुर्गाको विशेष पूजाअर्चना हुने गर्दछ । वडादशैं अन्तर्गत नवरात्रभर यस मन्दिरमा पूजाआजा गरिन्छ । मौलाकालिका भगवतीको दर्शन गरेर मनले आँटेको कुरा पूरा हुने किंवदन्ती वर्षौंदेखि रहिआएकोले हरेक हिन्दु पर्वहरूमा हिन्दु धर्मावलाम्बीको बाक्लो भिड लाग्ने गरेको छ ।

लमजुङ कालिका (लमजुङ)

lamjung darbar
तस्वीर: सिर्जना भुर्तेल

शाहवंशीय राजाहरूको कुलदेवता मानिने लमजुङ कालिका मन्दिर लमजुङ दरबार  परिसरमा रहेको छ ।
लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा वर्षभरि पूजा हुने भए पनि मुख्यतयावर्षको दुई पटक बडा दशैं र चैतेदशैमा विशेष पूजा हुन्छ ।
वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ ।
विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भीड लाग्ने गर्दछ । बाइस सुसारे पूजारीहरू अर्थात बाइस जातिका पूजारीहरू लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् । यो सँगै लमजुङमै रहेका अकलादेवी, तार्पुकोट कालिका र दहरे देवी मन्दिरमा समेत दशैं पूजा हुन्छ ।

ताकमकोट (म्याग्दी)म्याग्दी जिल्लाको पश्चिमी भेगमा अवस्थित छ ताकमकोट । बडादशैंको अवसरमा विशेष मेला लाग्ने यस कोटमा पञ्चवली दिने परम्परा छ । धार्मिक हिसाबले मात्र नभई पर्यटकीय हिसाबले यो ठाउँ महत्वपूर्ण छ । ताकमकोटबाठ गुर्जा, चुरेन, धौलागिरि, मानापाथीदेखि अन्नपूर्ण हिमालको दृश्यावलोकन समेत गर्न सकिन्छ । म्याग्दीमै रहेको भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पूजा हुन्छ भने अन्य समयमा दैनिक नृत्य पूजा हुन्छ ।

१७ आश्विन २०७९