यात्राबारे हाम्रो प्रश्न टुङ्गिन नपाउँदै जवाफको सुरुवात प्रश्नबाटै गरिन्, उनले ।
तपाईंले आफ्नो जिन्दगीलाई कसरी व्याख्या गर्नुहुन्छ ? एकछिन मौन भएर उनी आफैं बोलिन्, हो यात्रा पनि जिन्दगी जस्तै हो । ……………………..
सानीभेरी गाउँपालिका ११, रुकुम पश्चिमकी सीर्जना सिज्जु असाध्यै धेरै घुमिरहने एक यात्रीका रूपमा चिनिन्छिन् ।
टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र युट्युबमा उनले आफूले घुमेका ठाउँहरूका बारेमा भिडिओ र तस्बिरहरू राखिरहेकी हुन्छिन् । घुमफिर गरिरहने अन्य मानिसभन्दा उनको यात्रा अलि भिन्न छ ।
यात्रालाई लक्जरीको रूपमा कहिल्यै व्याख्या नगर्ने । सामाजिक सञ्जालमा तस्बिर र भिडिओहरू राख्दै ठाउँहरूको बारेमा व्याख्या गर्छिन् उनी ।
घुम्नको लागि अरुलाई प्रेरित गर्छिन् । सामान्यतया हामी धेरैलाई लाग्छ, घुम्नु त्यति सजिलो काम होइन । समय छुट्याउ, योजना बनाउ, खर्च जोह गर, साथी जुटाउ .. आदिआदि ।
सीर्जना अनुरोध गर्छिन्, घुम्ने कामलाई असाध्यै धेरै योजना बनाएर थाती नराख्नुस् ।
……………………..
काठमाडौंमा फरेस्ट्रि पढ्दै गरेकी २५ वर्षिया रुकुमकी सीर्जनाले पर्यटकीय ठाउँहरूलाई चिनाउन थालेको लकडाउनपछि मात्रै हो । त्यसभन्दा अघि कमै हुन्थ्यो यात्रा ।
कलेजले लैजाने टुर र साथीहरूसँग कहिलेकाहीँ घुम्न निस्कन्थिन् । तर त्यतिबेला यसरी भिडिओ र तस्बिरहरू बनाएर राख्ने गरेकी थिइनन् । विश्वभर फैलिएको कोरोना महामारीसँगै नेपालमा पनि लकडाउन सुरु भयो । अन्य क्षेत्रसँगै स्कुल कलेज पनि बन्द भए । सहरमा घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन ।
गाउँमा भने यो प्रतिबन्धको असर कम थियो । त्यहीँबाट सुरु भयो, सीर्जनाको आफ्नो गाउँ चिनाउने यात्रा । आफ्नो पालिका, जिल्ला, प्रदेश हुँदै उनले अन्य प्रदेशका पनि धेरै ठाउँको भ्रमण गरिन् ।
यात्रामा उनी स्थानीय मानिसहरूसँग गफ गर्छिन् । त्यो ठाउँको राम्रा पक्षहरूको बारेमा सोध्छिन् । अप्ठ्याराहरूका बारेमा पनि कुराकानी गर्छिन् । अनि आफ्ना तस्बिर र भिडिओहरूमा त्यो कुरा बताउँदै सामाजिक सञ्जालमा राख्छिन् ।
उनलाई घुम्न हिँड्ने अरू मानिसहरूभन्दा भिन्न यसअर्थमा पनि भन्न सकिन्छ कि, उनी आफू घुम्न गएका ठाउँहरूको बारेमा राम्रो र नराम्रो कुराहरू मात्रै भन्दिनन् । अझ राम्रो बनाउन के गर्न सकिन्छ ? आफूले देखेका उपायहरू पनि बताउँछिन् । पर्यटकीय क्षेत्रका स्थानीय मानिसहरूले कसरी आम्दानी गर्न सक्छन् ? आफ्नो ठाउँमा रहेका के के चिजहरू बेच्न सक्छन् ? उनी सुझाउँछिन् ।
के का लागि घुम्नुहुन्छ ?
‘हाम्रो अर्को प्रश्नमा उनको जवाफ थियो, आफ्नै सन्तुष्टिका लागि । अर्को भनेको लुकेको ठाउँहरू देखाउने उद्देश्य पनि हो मेरो ।’
उनी भन्छिन्, ‘कर्णाली गरिब पनि छ, सम्भावना भएको ठाउँ पनि हो । आजका मानिसहरूलाई छिटो नतिजा चाहिन्छ । तर पर्यटन त्यस्तो क्षेत्र होइन । कोभिडपछि पर्यटन क्षेत्र धेरै कमजोर भयो । हामी सबैले आ आफ्नो क्षेत्रबाट केही न केही भूमिका
निभाउन सक्छौं ।’
उनले अझैं अगाडि थपिन्, मैले आफ्नै सन्तुष्टिका लागि घुमिरहँदा ती ठाउँहरूका तस्बिर र भिडिओहरू सेयर गर्छु । अरु धेरैले ती ठाउँका बारेमा थाहा पाउनुहुन्छ । त्यहाँको चालचलन, रहनसहन र सँस्कृतिका बारेमा जे बुझ्छु, त्यो कुरा पनि सेयर गरिरहेको हुन्छु ।’
यात्रामा हिँड्दा मन नपरेको कुरा वा चित्त दुख्ने कुरा केही छ ?
कुराकानीका क्रममा हाम्रो अर्को प्रश्न थियो यो उनलाई । लामो सास फेरेर उनले भनिन्, देश घुम्दा चित्तै दुखाउनु पर्ने कुरा त के हुन्छ र ? त्यसमा पनि हाम्रो देश यति धेरै सुन्दर छ, भएका तनाव अनि थकानहरू सबै मेटिएजस्तो लाग्छ । तर गाउँ घुम्न जाँदा केही प्रश्नहरू यस्ता आउँछन्, नरमाइलोचाहिँ महसुस हुन्छ ।
कतिपय ठाउँमा, कहाँबाट आएको ? कुन प्रोजेक्टबाट आएको ? कति डलर आउँछ ? भन्ने प्रश्नहरू गर्नुहुन्छ । कोही मान्छे आफ्नै सन्तुष्टिको लागि, खुसीको लागि, देश बुझ्न, सुन्दर ठाउँहरू हेरेर आनन्द लिन घुमेर हिँड्छ भन्ने कुरा नबुझेरै होला उहाँहरूले यस्तो प्रश्न गर्ने गर्नुभएको ।
अर्को नरमाइलो लाग्ने कुरा भनेको, प्रकृतिलाई बिगार्ने गरि यात्रा गर्ने धेरै मान्छे देखेको छु । त्यसो नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । खाएका प्लाष्टिक, बोटलहरू जथाभावी फाल्ने, राम्रो फोटो/भिडिओ खिच्ने बहानामा प्रकृतिको आफ्नो स्वरुपलाई बिगारिरहेको पाउँछु । प्रकृति त्यति सजिलो छैन । जस्तो छ, उसलाई स्वीकार गरेर घुम्नुपर्छ ।
घुम्न मन पराउने तपाईंजस्तै अन्य धेरै साथीहरूलाई के भन्न चाहानुहुन्छ ? हामीले कुराकानीको बिट मार्दैगर्दा उनलाई सोध्यौं ।
हुन त सबैको फरक सोच हुन्छ । घुम्ने आ–आफ्नै तरिका हुन्छ । मलाईचाहिँ असाध्यै पपुलर ठाउँभन्दा लुकेका ठाउँहरू घुम्न पर्छ । छुटेका ठाउँहरू मनपर्छ । पहिल्यै चिनिएका र चलेका ठाउँहरूभन्दा नयाँ ठाउँ जान मन लाग्छ ।
होटल पाइन्छ कि नाइँ, राम्रो बाटो छ कि छैन, गाडी जान्छ कि जाँदैन ? भनेर सोच्न थालियो भने नेपालमा घुम्न धेरै सम्भावना छैन । जस्तोसुकै समस्या भए पनि म जान्छु भन्ने भयो भने मात्रै अर्गानिक घुमाइ हुन्छ ।
देखासिखिमा घुम्न जाने कुराले पनि यात्राको असली मजा लिन सकिँदैन । फलानो त त्यो ठाउँ गएको रहेछ, यो बिदामा म पनि जान्छु भन्न थाल्नुभयो भने त्यो घुमाइले तपाईंलाई खास आनन्द दिँदैन । घुम्ने नाममा धेरै अपेक्षा राखियो भने पनि निराश भइन्छ । खराब नियत राख्ने मान्छेहरू पनि यदाकदा हुन्छन् । सचेतचाहिँ हुनुपर्छ तर नेपाल त्यति धेरै असुरक्षित छैन ।
सामाजिक सञ्जालमा मलाई धेरैले सोध्नुहुन्छ (विशेष गरि महिलाहरू), छोरी मान्छे भएर एक्लै घुम्न गाह्रो हुँदैन ? डर हुँदैन ? मेरो फोटो र भिडिओमा पनि उहाँहरूको यस्तो प्रश्नहरू धेरै आउँछ ।
छोरा र छोरी भनेर घुम्ने कुरामा पनि हामीले फरक सोच्न थाल्यौं र सधैं साथी नै खोज्न थाल्यौं भने आफैंमाथि अन्याय हुन्छ जस्तो लाग्छ मलाई । तपाईं घुम्दै जाँदा आफैंप्रति विश्वास बढ्दै जान्छ । यात्रा भनेको आँट पनि त हो ।
……………………..
केही समय अघि मात्रै, लुकेर रहेका पर्यटकीय ठाउँका बारेमा सीर्जनाले बनाएको भिडिओ उत्कृष्ट पाँचमा पर्यो र, कर्णाली प्रदेश सरकारबाट एक लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेकी छन् ।