स्वच्छ सहरसँगै पर्यटकीय सहर बन्दै धुलिखेल


सोनी शाही काठमाडाैँ । ७ आश्विन २०८१
mayor of dhulikhel municipality

काठमाडौंबाट केवल २८ किलोमिटरको दुरीमा रहको धुलिखेलन नगरपालिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । खासगरी धुलिखेलले नगरप्रमुख अशोक कुमार व्यञ्जुको नेतृत्वमा ‘ग्रीन क्लब’ लगायत पर्यटकलाई आकर्षक गर्ने पूवाधार निर्माणमा जोड दिएको छ । वरिपरी हरिया डाँडाकाँडाले आँखालाई शितलता प्रदान त गर्छन् नगरभित्रका पुराना बस्ती र सम्पदाहरूले जो कोहीलाई मोहित बनाउँछन् । त्यसका साथै, साहसिक खेलबाट मनोरञ्जन लिनका लागि पनि वार्षिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू धुलिखेल पुग्ने गरेका छन् ।

नगरप्रमुख व्यञ्जुका अनुसार प्राकृतिक रूपमा धनी धुलिखेलले पर्यटन विकासकै लागि नगरभित्रका १२ वटै वडामा ‘ग्रीन क्लब’ तथा पर्यटकीय गन्तव्य निर्माणमा ध्यान दिइरहेको छ । त्यसका साथै, नागरिकको स्वास्थ्यको विषयलाई भने प्राथमिकतामा राखिएको उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलहरूको आधारमा, दिगो विकासको लक्ष्यमा स्वास्थ्यसम्बन्धी सूचकहरूको आधारमा र नेपालको संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको उपयोग गर्दै प्राथमिक तथा अन्य उपचारको नीति लिएका छौं,’ उनले भने ।

वातावरणीय हिसाबमा मात्र नभई नगरको स्वास्थ्य व्यवस्था, सरसफाई, नीति लगायतको मुल्याकंन गर्दै गत साता विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिकालाई नेपालको पहिलो र एसियाको दास्रो स्वच्छ सहर घोषित गरेको थियो । ‘सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले विश्वका स्वस्थ सहरहरूका लागि केही मापदण्डहरू तय गरेको थियो । धुलिखेलले ती मापदण्डहरू पूरा गरेका कारण आवेदन दिएका थियौँ’ व्यञ्जु भन्छन् ‘बालबालिकाको खोप, पोषण, स्वास्थ्य, महामारीजन्य रोगहरू नियन्त्रण, वातावरणीय कारणले स्वास्थ्यमा पर्ने असर, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको दिर्घरोग, सर्ने तथा नसर्ने रोगहरूको उपचारलगायत क्षेत्रमा धुलिखेल नगरपालिकाले गरेका कार्यहरूको अवलोकन गरि देशको पहिलो स्वच्छ सहर घोषणा गरिएको हो ।’

विश्व स्वास्थ्य संगठनले स्वच्छ सहरका लागि तय गरेको मापदण्डभित्र पर्न नेपालबाट काठमाडौं, भक्तपुर, ललितपुर, धरानलगायत विभिन्न नगरपालिकाले आवेदन दिएका थिए । तर अन्य सहर भने असफल भए । विभिन्न चरणहरू पार गरि अन्तिम चरणमा पुगेका एसियाका २३ सहरहरूको मूल्यांकन गर्दा ६९.५६ प्रतिशत अंक ल्याएर भारतको पुणे पहिलो र ६२.४४ प्रतिशत अंक ल्याएर धुलिखेल दोस्रो तथा नेपालको पहिलो घोषित भएको थियो ।

‘हामीले धुलिखेल नगरपालिकाभित्रको डिजिटल हेल्थ तथ्यांक समेत निकालेका छौँ । यो दक्षिण एसियाकै पहिलो हो । स्वास्थ्य क्षेत्रमा मात्र नभई पूर्वाधार निर्माणमा पनि तीव्रता दिइरहेका छौँ,’ नगरप्रमुख व्यञ्जु भन्छन् । आगामी दिनमा ‘हेल्थ सिटी’को सदस्यता पाउनुका साथै नसर्ने रोगहरू, सिमान्तकृतहरूको स्वास्थ्य, सडक सुरक्षा, वातावरणका कारण स्वस्थ्यमा पर्ने असरहरू लगायत ग्रीन सिटीको अवधारणाका विषयमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रोटेकलमा आधारित रहेर समस्या न्युनीकरण गर्ने उनको भनाइ छ ।

धुलिखेल नेपालको चौथो बालमैत्री सहर पनि हो । साथै दिगो विकासका चारवटा लक्ष्य (शिक्षा, स्वास्थ्य, खाने पानी र गरिबी निवारण) प्राप्त गरेको दक्षिण एसियाकै पहिलो सहरको रूपमा पनि धुलिखेललाई चिनिन्छ । यस्तै, धुलिखेललाई आगामी दिनमा पनि स्वच्छ सहरकै रूपमा निरन्तर चिनाउन नगरले छुवाछुत मुक्त, जिरो कार्वन सिटी, वातावरणमैत्री, सांस्कृतिक र पर्यटकीय सहर बनाउने योजना बनाइरहेको व्यञ्जुले बताए ।

७ आश्विन २०८१