फ्रुट्स प्रालिले आफ्नो पहिलो आउटलेट काठमाडौँको सोल्टीमोडमा सञ्चालनमा ल्याएको छ। करिब १० लाख रुपैयाँको लगानीमा सुरु भएको यो व्यवसायलाई आगामी ५ वर्षभित्र ५० स्थानमा विस्तार गर्ने योजना कम्पनीले बनाएको सञ्चालक अग्नि कँडेलले जानकारी दिए।
२४ वर्षदेखि काठमाडौँको नयाँबजारमा फलफूल बिक्री गर्दै आएका कँडेलसहित ४ जनाको टोलीले यस व्यवसायलाई नयाँ ढंगले सञ्चालन गर्ने सोचसहित ‘फल फ्रुट्स’ नामा आउटलेट सुरु गरेका हुन्।
‘ताजा फलफूल र स्वादको नाम’ नारासहित सञ्चालनमा आएको पहिलो आउटलेटमा विभिन्न प्रकारका ताजा फलफूल उपलब्ध छन्। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै फलफूल बिक्रीलाई व्यवस्थित र आधुनिक बनाउन तथा युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले निकट भविष्यमा ई–कमर्समार्फत पनि बिक्री सुरु गर्ने कम्पनीको तयारी छ।
कम्पनीले ५ वर्षभित्र खोल्ने ५० आउटलेटमध्ये धेरैमा आफैं लगानी गर्ने र केहीलाई फ्रेन्चाइजी मोडेलमार्फत सञ्चालन गरिने जनाएको छ। फ्रेन्चाइजी दिने क्रममा पसल निर्माणदेखि आवश्यक फलफूल आपूर्ति र बिक्रीसम्बन्धी तालिम समेत प्रदान गरिने कम्पनीको भनाइ छ। साथै, केही आउटलेट कम्पनीकै निगरानीमा सञ्चालन गरिनेछ।
एक आउटलेट सञ्चालन गर्न न्यूनतम ५ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। यस्ता आउटलेटमार्फत ३ देखि ५ जनालाई प्रत्यक्ष रोजगारी समेत सिर्जना हुने कम्पनीले उल्लेख गरेको छ।