पनौती नगरपालिका वडा नं २ मा पर्ने गुर्दुम डाँडालाई आजभोलि आगन्तुक स्वागत गर्न भ्याईनभ्याई छ । पछिल्लो समय गुर्दुम डाँडाको चर्चा अनि ब्यस्तता हरिया पहाडका टाकुराभन्दा पनि माथि माथि चुलिदै गएको देखिन्छ । समुन्द्री सतहबाट २२०० मिटरको उचाईमा, महाभारत श्रृङखलाको काखमा निर्धक्क बसेको गुदुर्मलाई अङ्गाल्न हामी व्याकुल थियौँ ।
शहरी जीवनशैली, प्रदुषण, कोलाहल र व्यस्त दिनचर्याबाट उकुसमुकुस भएर निस्सासिएको मनलाई माथि पहाडको टुप्पोबाट नियालिरहेको गुर्दुम भ्यू-टावरले बोलाएको महसुस भएपछि, पनौती-काठमाडौँ कर्मचारी एस्प्रेसकी सबैभन्दा कान्छी सदस्य-अमिरा थापाको नेतृत्वमा आठजनाको समुह त्यसतर्फ प्रस्थान गर्ने निणर्य गरियो ।
निणर्य बमोजिम शनिबारको दिन हामी सबै पनौती बसपार्कमा भेला भई, प्रातःकालिन प्रहरमै, मानेश्वरी माताको दर्शन पश्चात गन्तव्यतर्फ अगाडि बढ्यौं । पनौती बसपार्कबाट कुशादेवी सडक खण्ड हुदै चालिसेबाट हामीले बायाँतर्फको बाटो समात्यौँ ।
ब्यस्त दैनिकिको गुम्फनबाट निस्किएर खुल्ला आकाशमुनि आफ्ना खुम्चिएका पखेटा फिजाएर प्राकृतिक बिहारमा मग्न हुन पाउँदा सबैको मुहारमा उत्साह र उमङ्गको बहार देखिन्थ्यो । चालिसेबाट जति जति माथि उकालो लाग्दै जान्थ्यौँ, उत्तिनै हाम्रा पाईलाहरुमा उर्जा भरिदै जान्थ्यो ।
बाटोमा भेटिने हरेक मानिसको जिज्ञासु आँखाहरु हामीतिरै हुन्थ्यो, त्यसैले हामीपनि आत्मियताका साथ सोधिहाल्थ्यौँ -“ त्यो गुर्दम टावर पुग्न कति समय लाग्ला ?” अन्जान मुहारहरुलाई पनि परिचित झैँ निःस्वार्थ मुस्कानमा वहाँहरुले हामीलाई पुग्न लाग्ने समय बताईदिनुहुन्थ्यो ।
स्वर्गका अप्सराहरुले सोर्ह श्रृङ्गार गरी देवताहरुलाई मोहित बनाएझैँ, गुर्दुमले पनि हामीलाई मोहित बनाउँदै थियो । गुर्दुमको पाउदेखी शिरसम्म शब्दमा वणर्न नै गर्न नसकिने सुन्दरता लुकेको रहेछ । थरिथरि प्रजातिका रुख, बिरुवा र बुट्यान, मौसम अनुसारको फल,फुल, लतिका अनि चराचुरुङ्गिका आवाजहरुले हामी त्यसै फुरुङ्ग थियौँ । पहाडको बनोट अनुसार नै गुर्दुमवासिले गरेको खेती पनि कम मोहक थिएन ।
लामा-लामा पाटाहरु अनि हरेक पाटालाई आड दिने कान्लाहरु आहा ! चित्रकारले ठूलो क्यानभाषमा कोरेर मिल्दो रङ्ग भरेको चित्रजस्तो । परम्परागत शैलिका घरहरु तर पातलो बस्ती,बस्तीको माथी महाभारत पर्वतका चुचुराहरु, ती चुचुराहरुलाई बेलाबेला गिज्याउँदै छोपिदिने कुहिरोको घुम्टोहरु ।
जेठ महिनाको गर्मी पनि बिर्सियौँ, जब गुर्दुमका पाखाभरि हामिले ऐंसेलु, काफल अनि चुत्रो अघाउँन्जेल खायौँ । बर्षौं पछि जिब्रोले खोजेको मौलिक स्वाद पायौँ । रुखमै चढी खायौँ काफल, रसिलो-गुलियो । चुत्रोको बुट्यानमा जिब्रो ट्वाक्क पार्दै फोटो खिच्यौँ । ऐंसेलुको पहेंलो रङ्गमा पहेंलियौ अनि बिर्सियौं आफैलाई एकछिन ।
सवा दुई घण्टाको उकालो काटे पश्चात हामी गुर्दुम डाँडामा अबस्थित भ्यू टावर पुग्यौँ । यस्तो लाग्यो, यो भन्दा माथि अर्को उचाई नै छैन । यहाँबाट देखिने पनौती, बनेपा, धुलिखेल, नमोबुद्ध र बलथलिका किरिमिरि बस्ती रमाईला लागे । पश्चिममा पाले बसेझैँ देखिने फुलचोकी डाँडोलाई जिस्काउन मन लाग्यो । तुवालोको पर्दाभित्र हिमश्रृङ्खला धुमिल देखियो । तल तल पहाडका थुम्काहरु शान्त देखिन्थे ।
यस्तो ठाउँमा पुग्दा जो कोहीको पनि मन रमाउँछ । हामी पनि खुब रमायौँ, झन त्यसमाथि पनि हाम्रा अग्रज सरहरु रबिन स्याउला र देशराज बञ्जाराको गुर्दुम र फुलचोकी भ्रमणको पूर्व अनुभव र रमाईला किस्साहले हामीलाई चुस्तदुरुस्त बनाईराख्यो ।
नेपाल सरकारले सूचिकृत गरेको नेपालमा घुम्नै पर्ने सयवटा स्थानको सूचिभित्र पर्न सफल यो गुर्दुम डाँडाले पनौतीको पर्यटन प्रवद्र्धन र बिकासका धेरै सम्भावनाहरु बोकेको देखिन्छ । यहाँ पुगेपछि नै थाहाभयो गुर्दुमले प्याराग्लाईडिङ्ग परिक्षण उडानमा समेत सफलता प्राप्त गरिसकेको रहेछ ।
आगामी दिनमा हिँडेर मात्र होईन उडेरै पनौती सेरोफेरो नियालौला भन्दै हामीले भ्यू टावरको अगाडि बसेर सामुहिक तस्बिर खिच्यौं ।
स्थानीय स्रोत, साधन र उपलब्धतामा सञ्चालन भएका छन् “होमस्टे”हरु । हाम्रो यात्राको भोक र थकान मेट्न पनि फूलचोकि होमस्टेले महत्वपूण भूमिका खेल्यो ।
उपलब्धता अनुसार रोजाईको खाना, खाजा खाने जमर्को गरेपछि, रबिन सरले बजाउनु भएको मादलमा निर्मल सरको गीत अनि राज्य सर लगाएत अन्यको नाचले परिवेश नै रमाईलो भयो । तामाङ्ग समुदायको बाहुल्यता रहेको गुर्दुममा सञ्चालित होमस्टेमा खाने र बस्ने दुबै ब्यवस्था रहेछ ।
राति बास बस्नेहरु, प्रायः सबेरै फूलचोकि पुग्ने रहेछन् । जाडोमा गर्दुमले पनि हिउँको पछ्यौरी ओड्ने रहेछ । खाना खाएर हामी फेरी फर्किने वाचा सहित गर्दुम डाँडाबाट बिदा भयौँ ।
हामी त गुर्दुम डाँडा पुगेर आयौं जीवनभरिलाई यादहरु बोकेर । हाम्रो चाहना छ हर कोही, जो प्रकृतिलाई प्रेम गर्छन, पुजा गर्छन सबैका पाईलाहरु एकपटक गर्दुम पुगोस् र आत्मादेखी भनोस् “आहा ! गज्जबको गुर्दुम डाँडा ।”