पटिहानीको स्टोनपार्कमा पर्यटकको आर्कषण बढ्दै


टुरिजम पाना काठमाडाैँ । १५ असार २०८१

भरतपुर महानगरपालिका र वडा– २२ पटिहानीमा बनेको स्टोन पार्कले धेरै मानिसलाई आकर्षित गरिरहेको छ ।

महानगरपालिका र वडाको समन्वयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क बनाइएको वडाध्यक्ष विष्णुराज महत्तो बताउँछन् ।
पार्कभित्र आगमी वर्ष मुर्तिकला वर्कशप सञ्चालन गरिने जानकारी दिँदै उनले भने, “कलाकारहरुले वर्कशममा जंगली जनावरहरुको प्रतिबिम्ब ढुङ्गामा कुँद्नेछन् । साथमा स्थानीय कला र संस्कृति झल्कने कलाकृतीलाई पत्थरमा उतारेर पार्कको आर्कषणलाई थप बढाउने काम गर्नेछन् ।” उनका अनुसार करिब १ करोड २० लाख रुपैयाँको बजेटमा यो पार्क निमार्ण गरिएको हो ।

बगीरहेको कलकल राप्ती खोलासँगै पार्कको अवलोक गर्न सकिन्छ । पार्क भित्र रहेको चिल्डे«न पार्कमा बालबालिका निकै रमाइरहेका भेटिन्छन् । यहाँको भ्युटावरबाट चितवन राष्ट्रिय निकुञ्ज भित्रकाे प्राकृतिक दृश्यसँगै हात्ती, गोही, भालु, चराचुरुङगी लगायत अन्य वन्यजन्तुकाे मनोरम दिनचर्या देख्न पाइन्छ । यहाँबाट सुर्य अस्ताएको दृश्य समेत हेर्न सकिन्छ ।

हाल पार्कमा प्रवेश गर्न कुनै शुल्क लाग्दैन । केहि समय पछि भने भने पार्कमा प्रवेशमा २० रुपैयाँ शुल्क लगाउने तयारी भएको महत्तोले जानकारी दिए । यस पार्कमा रहेको पोखरीमा डुङ्गा चढ्न विदेशी पर्यटकहरु विशेष गरी आकर्षित भइरहेका छन् ।

लगभग २६ रोपनीमा फैलिएको यस पार्कमा प्राकृतिक तथा कृत्रिम ढुङगाबाट बनेका विभिन्न संचरना राखिएको छ । पार्कमा आयरल्याण्ड, सगरमाथा, पानीका फोहोराले खिँइएका ढुंगाका, ढुंगाबाट बनेका टेबल, कुर्सि, छाता लगायतका संरचना छन् ।

जेष्ठ ६ गते महानगरपालिका मेयर रेनु दाहालले पार्कको उद्घाटन गरेकी थिइन् । यहाँ दैनिक ५ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।

 

१५ असार २०८१