हेलम्बु ग्रेट ट्रेल निर्माणमा सहयोग गर्ने वरिष्ठ अर्थशास्त्री तिमिल्सिनाको प्रतिबद्धता


टुरिजम पाना संवाददाता सिन्धुपाल्चोक । २८ जेष्ठ २०८१

सिन्धुपाल्चोकको प्रसिद्ध हेलम्बु गाउँपालिकाको षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ग्रेट ट्रेल निर्माणमा सहयोग गर्ने विश्व बैकका वरिष्ठ अर्थशास्त्री गोविन्द तिमिल्सिनाले प्रतिबद्धता दिएका छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार शुक्रबार विश्व बैकका वरिष्ठ अनुसन्धान अर्थशास्त्री तिमिल्सनासहितको विदेशी प्राध्यापकको टोलीले निर्माणाधीन ग्रेट ट्रेल अवलोकन गरेको थियो । हेलम्बुको महत्वपूर्ण र बृहत योजनामध्ये एक ट्रेल र हेलम्बुको प्राचिन इतिहास र पर्यटन विकासबारे अध्यक्ष शेर्पाले अर्थशास्त्री तिमिल्सनालाई विस्तृत जानकारी गराएका थिए ।

अमेरिकाबाट आएका अर्थशास्त्रीसहितको टिमले हेलम्बु गापाले निर्माणाधिन् चीनको ग्रेट वालको झझल्को दिने ६० किलोमिटरमध्ये बनिसकेको ८ किलोमिटर संरचना अवलोकन गरेका थिए ।

‘चीनको ग्रेट वालभन्दा पनि यो राम्रो लाग्यो, हिमालको काखमा रहेको झण्डै सम्पूर्ण हेलम्बु देख्न सकिने यो ग्रेट ट्रेल देखेर गर्वले छात्ती फुलेको छ, यसमा हाम्रो सहयोग समन्वय र पुरा साथ रहनेछ, यसले हेलम्बु मात्रै नभई सिंगो देशको पर्यटनमा सघाउन पुग्ने देखिन्छ’ अर्थशास्त्री तिमल्सिनाले भनेका छन् । देशभर आर्थिक निराशा छाइरहेसँगै किशोरकिशोरी वैदेशिक रोजगारीमा धकेलिनुपरेको घटना सम्झँदै उनले यसलाई रोक्न यही रोजगारी सिर्जना गर्नुपर्नेमा जोड उने जोड दिएका छन् ।

अर्थशास्त्री तिमल्सिनाले बौद्ध धर्म र प्राचिन इतिहासको महत्व बोकेका हुनाले ग्रेट ट्रेल भविष्यमा गएर देशकै लागि अर्थतन्त्रको सहारा बन्ने र यो देखेर आफु धेरै प्रभावित भएकाले आवश्यक सहयोग र पहलकदमीमा जुट्ने बताएका छन् ।

यसअघि आर्थिक समस्याकै कारण तिव्रता दिनमा ढिलाइ भएको ग्रेट ट्रेल बन्नुमा विश्व बैकका अर्थशास्त्रीबाट सहयोगको प्रतिबद्धता पाएपछि नयाँ आशा पलाएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । ‘बजेट मनग्य नहुँदा ट्रेलको काम ढिला भएको थियो, अब विश्व बैकका अर्थशास्त्रीले चासो दिनुभएपछि नयाँ आशा जागेको छ,’ शेर्पाले भने ।

हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी योजना हो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ । हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी), भेमेथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । स्थानीय ढुङ्गाको प्रयोग गरेर ट्रेल निर्माण गरिँदै छ ।

समुद्री सतहबाट २४०० देखि ५००० मिटर उँचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङ लगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिने शेर्पा बताउँछन् । ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथा समेत देखिने गाउँपालिका अध्यक्ष शेर्पाले बताए । यहाँको जङ्गलमा कालिज, घोरल, लेकाली भेडा, रेड पाण्डा लगायत पशुपक्षी छन् ।

पछिल्ला वर्षमा पर्यटन बोर्ड, प्रदेश सरकार र गाउँपालिकाले बजेट छुट्ट्याएर ट्रेल बनाउँदै आएका छन् ।

२८ जेष्ठ २०८१