भारतीय पर्यटकले २५ हजार भारु मात्र ल्याउन पाउने नियम हटाउनुपर्छ – ब्यवसायी


टुरिजम पाना संवाददाता लुम्बिनी । १५ फाल्गुन २०८०

भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका पर्यटक भएकाले अव्यवहारिक र झन्झटिलो नीति नियमहरु संशोधन गरी पर्यटकमैत्री बनाउन माग गरेका हुन् ।

नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीले नेपाल सस्तो होइन उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने मान्यता स्थापित गर्न,नेपाली आकाशलाई कालो सूचीबाट हटाउन,आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाई भाडा दर समान बनाउन,रुपन्देहीलाई क्यासिनो हब, नाइट लाइफ र वेडिङ डेस्टिनेसन (भारतीयहरु यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य) को रुपमा विकास गर्न माग गरेको छ ।

यस्तै लुम्बिनीलाई शान्ति शहर, ध्यान र योगा केन्द्रको रुपमा विकास गर्न र लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बर्थिङ अस्पतताल बनाउन, नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटववलको जितगढी किल्लालाई युरोप लगायत मुलुकमा ब्राण्डिङ गरी पर्यटक आकर्षित गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

यस्तै नेपाली कलेजहरुले होटेल म्यानेजमेन्टको इन्टर्नसीपमा विद्यार्थीलाई विदेश पठाउने गरेकोमा त्यसलाई रोकेर विदेशी विद्यार्थीलाई नेपालमा इन्टर्नसीप गराउन पहल गर्नुपर्ने, बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहारहरु नियम विपरीत गेष्ट हाउस र होटेलमा परिणत भएकाले यसलाई रोक्नुपर्ने, लुम्बिनी शान्ति भूमि भए पनि ध्वनी प्रदूषण र कोलाहलयुक्त वातावरण भएकाले शाइन ल्याङग्वेज (इशारा भाषा) अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

भारत उत्तर प्रदेशमा मात्रै २४ करोड बढी जनसंख्या भएकाले उक्त जनसंख्याको एक/दुई प्रतिशत मात्रै हरेक वर्ष नेपाल भित्र्याउन सके यहाँको अर्थतन्त्रमा ठूलो सुधार आउन सक्ने भएकाले भारतीय पर्यटकलाई विना झन्झट सहज वातावरणमा आउने, घुम्ने र चाहे जति खर्च गर्न पाउने वातावरण सरकारले बनाइदिनुपर्ने पाठकले बताए ।

भारतीय पर्यटकले २५ हजार भारु मात्र ल्याउन पाउने नियमले व्यवसाय फस्टाउन नसकेकाले चाहे जति रकम ल्याउन पाउने नीतिका लागि सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

पाठकले भने, ‘चाहे जति रकम बोक्न पाउने नीतिगत व्यवस्थाका लागि सरकारले भारतसँग उच्चस्तरीय वार्ता गर्न अपपरिहार्य छ ।’

भारतीय पर्यटक चढेका गाडीहरु सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी भारतसँग सीमा जोडिएका जिल्लाको उत्तरतर्फको अन्तिम सीमा क्षेत्रसम्म आउन दिनुपर्ने व्यवसायीको माग छ ।

एशोसिएनका उपाध्यक्ष दिलीप गौचनले विदेशी पर्यटकलाई आकषिर्त गर्न बुद्धजन्मस्थल लुम्बिनी, जितगढी किल्ला, रामापिथेकस पार्क, रानीमहल, बसन्तपुर लगायत हिलस्टेशनहरु भएपनि सरकारले यिनको ब्राण्डिङ र बजारीकरणमा पर्याप्त लगानी नगरेको औंल्याए ।

बेलहिया नाकाबाट कोरोना महामारी अघि एक लाख ६० हजार विदेशी पर्यटक आएकामा गत वर्ष ८० हजार मात्र आएको तथ्यांकले सरकारले पर्यटक भित्राउन प्रभावकारी काम नगरेको पुष्टी हुने गौचनको भनाइ छ ।

‘विदेशी मुद्रा आर्जन,रोजगारी सिर्जना र तुलनात्मक लाभका हिसाबले राम्रो फाइदा लिन सकिने क्षेत्र पर्यटन नै हो, त्यसैले सरकारले पर्यटनलाई मुख्य एजेण्डा बनाउनपर्छ’, गौचनले भने, ‘सरकारी निति नियम समय सापेक्ष र पर्यटकमैत्री नहुँदा पर्यटनबाट लाभ लिन धेरै पछाडि छौं ।’

 

 

१५ फाल्गुन २०८०