लमजुङमा कुशुमाखर घिमिरेको ६०१ औँ जन्म जयन्ती भव्यताका साथ मनाइने


टुरिजम पाना काठमाडाैँ । ५ कार्तिक २०८१

लमजुङको बहुनडाँडामा यस वर्ष भव्यताका साथ कुशुमाखर घिमिरेको ६०१ औँ जन्म जयन्ती मनाइने भएको छ ।

विक्रम सम्वत १४८० साल असोज २७ गते विजया दशमीका दिन लमजुङको बहुनडाँडामा जन्मेका उनीले लमजुङमा आधुनिक राज्यको थालनी गर्ने नेतृत्व बोकेका थिए । उनैको नेतृत्वमा वि.सं १५१६ तिहारे औंशीका दिन लमजुङमा आधुनिक राज्यको थालनी भएको इतिहास विद्हरू बताउँछन् ।

संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ्गका अनुसार राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता भएका, सबै जातजातीलाई समान अवसर प्रदान समावेसी बनाउने काम पनि कुश्माखर घिमिरेले गरेका थिए । नेपालको वर्तमान राष्ट्रिय झण्डाको परिकल्पनाकार समेत रहेका उनी लमजुङका ८ वटा कोटहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरु राखिएको संस्कृतिविद् गुरुङ्ग बताउँछन् ।

‘राज्य स्तरबाट श्री ३ र श्री ६ को उपाधी एकै चोटी पाउने एउटै व्याक्ति नेपालको इतिहासमा कुशुमाखर बाहेक अर्को भेटिएको छैन । हुन त अहिले लमजुङ्ग राज्य अस्तित्वमा छैन । त्यसैले यी महापुरुष ओझेलमा पर्नु आश्चर्य होइन,’ उनी भन्छन् ‘हजारौं वर्षको इतिहास बोकेका अन्य बाइसे चौबिसे राज्यको तुलनामा ६ सय वर्षको समेत इतिहास नबोकेको लमजुङ्ग राज्यले इतिहासका पानामा खासै ठूलो महत्व नपाउनु स्वभाविकै हो ।’

नेपाल एकीकरणको शिलन्यास लमजुङ्ग राज्यबाटै भएकोले लमजुङ्ग राज्यका संस्थापकलाई राष्ट्रिय विभुति घोषणा गरिनु पर्छ भन्ने माग जायज रहेको उनको भनाइ छ ।

 

५ कार्तिक २०८१