आज माघे संक्रान्ति, तीर्थस्थलमा भक्तजनको भीड

थारु वस्तीमा बिशेष रौनक


टुरिजम पाना काठमाडौं । १ माघ २०७९

आज माघ १ अर्थात माघे संक्रान्ति स्नान, दान, खानपिन र रमाइलो गरेर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास पनि रहिआएको छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुदै जान्छन् । माघे संक्रान्तिको अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत स्थानमा स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेको छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायले भने आजको दिनलाई माघी पर्वका रुपमा मनाउदैछन । पर्वमा पुस मसान्तको अघिल्लो दिन नजिकैको खोला र नदीमा माछा मार्ने, मसान्तीका दिन जिता (सुंगुरबंगुर) काट्ने, नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायत परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन पनि छ ।

विशेषगरी पश्चिम तराई बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, चितवन लगायतका थारु वस्तीमा रौनक छाएको छ । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघीका अवसरमा थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरन लगाएर मघौटा, सिखिया र हुरदंगा नाच नाच्ने गरेका छन ।

पछिल्लो समय माघीको अवसर पारेर गोरु जुधाउने चलन पनि छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नुवाकोटको तारुका, तनहुँको बन्दिपुर र धादिङ लगायतका केहि जिल्लामा गोरु जुधाईदै छ ।

१ माघ २०७९