पर्यटन प्रवर्द्धनमा महिला पत्रकारको भूमिका महत्त्वपूर्ण : व्यवसायी


टुरिजम पाना संवाददाता काठमाडौं । २५ जेष्ठ २०८२

पर्यटन प्रवर्द्धनमा पत्रकार महिलाको भूमिका महत्त्वपूर्ण रहेको नगरकोटका पर्यटन व्यवसायीले बताएका छन्।

शनिबार सञ्चारिका समूह नेपालको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा महिला पर्यटन व्यवसायीको संघर्ष र सफलतामा महिला पत्रकारको भूमिका विषयक गोष्ठीमा नगरकोट पर्यटनका व्यवसायीले महिला पत्रकारले कुनै पनि विषयललाई गहन रुपमा लिने गरेकाले भूमिका महत्त्वपूर्ण रहेको औंल्याएका हुन्।

कार्यक्रममा नगरकोट नालुङ पर्यटन विकास समिति अध्यक्ष नवीन गुरुङले कुनै पनि पर्यटन क्षेत्रमा महिलाकै बढी उपस्थिति र प्रचारप्रसारको मुख्य भूमिकामा पनि रहने हुँदा महिला पत्रकारले पर्यटन प्रवर्द्धनमा महत्त्वपुर्ण सघाउ पुग्ने बताए। उनले भने, ‘महिला पत्रकारको समूहलाई एकसाथ नगरकोट देख्दा खुसी लागेको छ। कुनै पनि विषयलाई महिलाले गहन रुपमा लिनुहुन्छ। अतः पर्यटन प्रवर्द्धनमा महिला पत्रकारको आवश्यक रहेको देखिन्छ।’

उनले नगरकोट आउने आगन्तुकका लागि रिसोर्ट, साधारणदेखि महँगा र सुविधासम्पन होटल, रेस्टुराँ तथा लजे सेवामा रहेको बताए। उनले भने, ‘नगरकोटमा धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वका थुप्रै पर्यटकीय स्थल छन्। नगरकोटमा धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेकाले एक वा दुई दिनको बसाइ कम पर्ने हुँदा केही दिन घुमेर मात्र यहाँको वास्तविक साैन्दर्यमा रमाउन सकिन्छ। यस्ता सम्पदा संरक्षण र प्रवर्द्धनका महिला पत्रकारले े प्रचारप्रसारमा सहयोग गरे नगरकोटको समग्र पर्यटन क्षेत्र थप समृद्ध बन्ने अपेक्षा छ।’

सञ्चारिका समूह नेपालले नगरकोटको पर्यटन प्रवर्द्धनमा कार्यक्रममार्फत भूमिका निर्वाह गरेकामा उनले खुसी व्यक्त गरे।

कार्यक्रलममा महिला पर्यटन व्यवसायी लक्ष्मी गुरुङले आफूले २ रुपैयाँको चियाबाट सुरु गरेको व्यवसाय अहिले करोडको सम्पत्तिमा रुपान्तरण भएको अनुभव सुनाउँदै आत्मीय सेवा, अर्गानिक खाना र स्थानीय संस्कृतिको महत्त्वबारे प्रकाश पारिन्।

वर्षौंदेखि पर्यटन व्यवसायमा अनुभव हासिल गरेकी महिला पर्यटन व्यवसागी रेनु तामाङले पर्यटन व्यवसाय नै जीविकोपार्जनको माध्यम भएको बताउँदै यसमै रमाउने गरेको प्रतिक्रिया दिइन्। चिया पसलबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्रा अहिले रेस्टुरेन्ट र होटलमा परिणत भएको बताउँदै पारिवारिक सहयोग र परिश्रमकै कारण सफल भएको सुनाइन्।

पर्यटन प्रहरी सन्तोष नेपालले नगरकोटमा आउने बाह्य पर्यटक सुरक्षाका लागि काम गरिरहेको जानकारी दिए। ‘यहाँ आउने पर्यटकले सामान्य समस्याबाहेक ठूला खाले आपराधिक, अप्रिय घटना भोग्नुपरेको छैन। एकाध पर्यटकका पासपोर्ट, मोबाइल हराउने केही समस्या आएका छन्। त्यसलाई समाधान गरेकै छौं’, उनले भने।

सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले सञ्चारकर्मीका लागि नगरकोटले एउटा फरक अभ्यासको थलो बनेको बताइन्। महिला पत्रकार अब केवल घटना कभरेजमा सीमित नभई विश्लेषक, सम्पादक र कहानीकार बन्दै गएको उनको भनाइ छ। सञ्चारि समूह नेपालका अध्यक्ष कमला पन्थीले पर्यटन प्रवर्द्धनमा महिला पत्रकार र व्यवसायी सहकार्यले समावेशी पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा सञ्चारी समूह नेपालले पाँचवर्षे रणनीतिक योजना तयारीको छलफलसमेत गरेको छ। छलफलमा पूर्वअध्यक्ष बस्नेत, भीम भूर्तेल, सन्तोष सिग्देल, लक्ष्मी पोख्रेललगायतका विज्ञले संस्थाको योजनाबारे सुझाव दिएका थिए।

२५ जेष्ठ २०८२