नेपालमा दर्ता बिना नै चलेको इनड्राइभरका चालक धमाधम प्रहरी कारवाहीमा


टुरिजम पाना काठमाडौं । ५ फाल्गुन २०७९

नेपालमा दर्ता बिना नै लामो समयदेखि सञ्चालनमा आइरहेको राइड शेयरिङ एप इन्ड्राइभर चलाउने १७ चालक कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न स्थानबाट ती चालकहरूलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले जानकारी दिए ।

उनका अनुसार, इनड्राइभरका नाममा गुनासो आएपछि ती चालकहरूलाई कारबाही गरिएको हो । उनीहरूले सवारी साधन किन्दा उल्लेख गरिएको प्रयोजनभन्दा बाहिर रही सवारी साधन चलाएको पाइएको प्रहरी नायब महानिरीक्षक चौधरीको भनाइ छ ।

निजी प्रयोजनमा दर्ता भई भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट इनड्राइभरका चालकहरूलाई कारबाही गरेको हो ।

पछिल्लो समय राइड शेयरिङ एप चलाउनेहरूले गुनासो बढी गरिरहेकाले यसबारे ट्राफिक प्रहरी पनि गम्भीर बन्दै गएको हो । केही समयअघि मात्रै कोटेश्वरबाट सयभन्दा बढी सवारी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले पछिल्लो तीन दिनमा नै करिब हजार सवारी चालकलाई कारबाही गरिसकेको छ ।

गुनासोका आधारमा तीन दिनअघि मात्रै २८१ जना चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले मंगलबार ३५० जना र बुधबार ३३३ जना चालकलाई कारबाही गरेको छ ।

उनीहरूलाई एक हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

‘यो पनि एक किसिमको ट्राफिक नियम नै हो, सोही बमोजिम कारबाही हुने गरेको छ,’ उनले भने ।

यसमा यात्रु आफैं पनि सचेत हुनुपर्नेमा जोड दिए । यात्रु वा अन्य जो कोहीले पनि ट्राफिक नियम पालना नगरेको, प्रयोजन विपरित सवारी साधन चलाएको पाएमा ट्राफिक कन्ट्रोल नम्बर १०३ मा फोन गर्ने वा सामाजिक सञ्जालमार्फत नै गुनासो गर्न सकिने उनले बताए । गुनासो आएपछि सुनुवाई हुने समेत उनको भनाइ छ ।

यस्तो छ कानून

खासगरी सवारी साधन किनदा नै यसको प्रयोजन खुलाउनुपर्ने हुन्छ ।सोही प्रयोजन खुलेसँगै नम्बर प्लेट राखिन्छ । निजी नम्बर प्लेटका सवारी साधनको हकमा, उनीहरूले रकम लिएर अन्य यात्रु बोक्न पाउँदैनन् ।

निजी नम्बर प्लेट रातो नम्बर प्लेटको हुन्छ तर, वि.सं. २०७५ साल माघ १८ गते बागमती प्रदेश सरकारले प्रदेश राजपत्रमा निजी सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने व्यवस्था गरेको थियो ।

उक्त राजपत्रको दफा १३ को उपदफा ९४० मा निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्रा बीमा गरी यात्री ओसार पसार गर्न सक्नेछ । भन्द रातो नम्बर प्लेटका सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने नीतिगत व्यवस्था गर्‍यो ।

त्यस्तै बागमती प्रदेश सरकारले बनाएको २०७९/८० को आर्थिक विधेयकमा राइड शेयरिङ एपमा आधारित कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ । उक्त विधेयकको दफा १८ को उपदफा (४) मा बागमती प्रदेश भित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिएको राईड सेयरिङ एपमा निजी नम्बरका सवारी साधन भाडा लिने प्रयोजनमा प्रयोग गरी सेवा दिने संस्थाले तोकिएको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाइ अनुमति लिई सञ्चालन गर्नु पर्ने उल्लेख छ ।

साथै उक्त ऐन प्रारम्भ हुनु अघि राईड सेयरिङ एप प्रयोग गरी विद्युतीय सूचना प्रणालीबाट सञ्चालनमा रहेका संस्थाले संवत् २०७९ साल चैत्र मसान्त भित्र अनुमति लिनु पर्ने उल्लेख छ ।

दर्ता अनुमतिको लागि दुई पाङ्ग्रे मात्रको लागि २५ हजार, चार पाङ्ग्रेको लागि ५० हजार र दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवैको लागि ७० हजार रुपैयाँ तोकिएको छ । यस संस्था प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरण गर्दा दर्ताको ५० प्रतिशत रकम तिर्नुपर्ने पनि सोही ऐन मा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार, प्रयोजन अनुसार नै सञ्चालन भएका सवारी साधनका चालकलाई कारबाही हुँदैन । नेपालमा दर्ता नभएका राइड शेयरिङलाई पनि कारबाही गरिन्छ । ‘इन्डाइभर नेपालमा दर्ता भएको छैन, उनीहरूबाट यात्रुहरू पीडित भएपछि गुनासो आयो । त्यसकारण कारबाही चलाएका हौँ,प्रवक्ता भट्टराईले भने ।

५ फाल्गुन २०७९