हिँडे पुगिन्छ: होटलको रिसेप्सनिस्टदेखि विभिन्न कम्पनीको सञ्चालकसम्म राजन सिंखडा

पर्यटनलाई अध्यात्मसँग जोड्दै राजन


विष्णुकान्त घिमिरे काठमाडौं । १८ पुष २०७९

‘…तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते

कान्छा बालाई सोध्या’छ भन्दिनु…’

गायक कुमार बस्नेतको कर्णप्रिय स्वर एक समय प्रायःको कानमा गुञ्जिरहन्थ्यो  । एक समय गाउँघरका भित्तामा झुण्डिरहने रेडियो तथा क्यासेटले समेत निकै बजाउँथे यी र यस्तै गीत ।  विदेशी पर्यटकलाई घुमाउँदै हिँड्नेहरूले  गाउँदै हिँड्ने यो गीतले माहौल नै अर्कै बनाइदिन्थ्यो ।

अहिलेका निकै व्यस्त एवम् सफल पर्यटन व्यवसायी राजन सिंखडाले बाल्यकाल सम्झँदै थिए । आफू पर्यटन क्षेत्रमा सक्रिय रहन यी र यस्तै गीतहरूले पनि भूमिका खेलेको उनी बताउँछन् ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहनेमध्ये एक हुन् पर्यटन व्यवसायी सिंखडा । धादिङको विकट गाउँ दार्खामा जन्मे हुर्किएका सिंखडा  पछिल्लो समय विभिन्न कम्पनीका सञ्चालक भइसकेका छन् ।

दार्खाको माझघरमा उनको घर । घरबाट थोरै तल चिप्ले ढुंगा । सोही चिप्लेढुंगाको छेउबाट सुन्दर देखिन्छ, माथिको गणेश हिमाल । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्दै हुर्किएका सिंखडाले बाल्यकालमै पर्यटकहरूको चहलपहल देखेका थिए  । ‘जापानिज र कोरियन पर्यटकहरू हाम्रो घरको बाटो हुँदै गणेश हिमाल जान्थे,’ सिंखडा सम्झन्छन्,’उनीहरूले हाम्रो गाउँमा गर्ने क्याम्प हेर्दा रमाइलो लाग्थ्यो ।’

त्यतिखेर उनी ७ वर्षको मात्रै थिए । क्याम्पहरूमा झरेका झिलझिले कागज रमाइलो मानेर हेर्ने गरेको उनी सम्झन्छन् । धादिङ पर्यटनका लागि उर्बर भूमि हो । उनलाई पर्यटनमा आउन यी र यस्तै घटनाक्रमहरूले झकझकाएको उनी सम्झन्छन् । सिंखडा अध्यात्ममा उत्तिकै विश्वास गर्छन्  । स्कुले जीवनमा संस्कृतमा उनले राम्रो अध्ययन गरे  । एसएलसी पछि धेरैले उनलाई पण्डित बन्नुपर्छ पनि भनेका थिए  ।

वि.सं.२०५० मा एसएलसी सकाएका सिंखडा भन्छन्,’त्यतिबेला चार्टर एकाउन्टेन्टको माग ठूलो थियो । उता मामाहरूले इञ्जिनियर बन्नुपर्छ भन्नुभएको थियो ।’ उनले एसएलसी पास हुने बित्तिकै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाले । तर अध्ययन गरेनन् । उनी सीए पढ्नतिर लागे  । त्यतिखेर धादिङका पर्यटन व्यवसायी ज्ञानु रिमाल, उनले निकै नाम सुनेका थिए । उनले रिमाललाई भेट्ने अवसर पाए, काका सैलेन्द्र सिंखडाका दाइ तोयानाथ मार्फत  ।

रिमाल गणेश हिमाल ट्रेकिङ कम्पनीका सञ्चालक । उनीसँग चिनजानकै क्रममा बाक्लो हिमचिम गरे सिंखडाले । सन्.१९९४ को डिसेम्बरमा सिंगापुरियनहरूसँग मिलेर होटल हिमाल खोले रिमालले  । सिंखडाले त्यहाँ रिसेप्सनमा जागिर पाए । ‘त्यहाँ मलाई रिसेप्सनमा राख्नुभयो इन्टरभ्यु लिएर,’ सिंखडा भन्छन्,’म अंग्रेजी फरर बोल्न सक्थें, त्यसले पनि सहयोग गर्‍यो ।’ त्यतिखेर तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले होटलको उद्घाटन गरेका थिए ।

सिंखडाको औपचारिक पर्यटन यात्रा यहिँबाट शुरू भयो । उनले त्यहाँ करिब डेढ वर्ष बिताए । ‘वेस्ट स्टाफको अवार्ड’ समेत पाए । सिंखडालाई ट्रेकिङमै जाने सोच आयो । उनले होटल छाडे र शुरू गरे फर्स्ट इनभाइरोमेन्ट ट्रेकिङमा आफ्नो यात्रा । सन् १९९७ को फ्रेब्रुअरीमा त्यहाँबाट बेल्जियम नागरिकलाई घोरेपानी-घान्द्रुक ट्रेकिङ गराए । यस दिनदेखि उनी पर्यटन क्षेत्रमा जम्दै गए, कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

उनले लगातार ट्रेक गर्ने अवसर पाइरहे । फलस्वरूप सन् १९९९ मा आफैं ट्रेकिङ कम्पनी स्थापना गर्न पुगे उनी  । १९९९ को सेप्टेम्बरमा उनले अर्थबाउन्ड् ट्रेक शुरू गरे । उमेरले २३ वर्षमा दौडँदै गरेका उनले आफैं कम्पनी खडा गरेर काम गर्नु त्यतिखेर चानचुने कुरा थिएन  । उनले आफूसहित अन्य ४ जनासँग मिलेर सो कम्पनी सञ्चालन गर्न थाले  । पर्यटकहरू आइरहेकै थिए, उनलाई सहज भइरहेको थियो ।

तर, भुमिगत रुपमा रहेको माओवादी द्वन्द्वले असर पार्न शुरू गरिसकेको थियो । सन् २००० मा दरबार हत्याकाण्ड भयो । सन् २००३ मा हृतिक रोशन काण्ड भयो । यी र यस्तै आतंकले सन् २००६ सम्म पर्यटन क्षेत्र पूरै सुस्त भयो ।

यस अवधिमा उनका २ जना सारथीहरूले कम्पनीबाट हात झिकिसकेका थिए । सिंखडा र अर्का एक पार्टनर निश्चल कुँवर मात्रैले कम्पनी सम्हालिरहे । उनी भन्छन्,’उहाँहरू टिक्न सक्नुभएन, छाड्नुभयो, म मैले पछि राम्रो होला भन्ने अपेक्षाले व्यवसाय टिकाइरहें ।’

चरम द्वन्द्व पछि सन् २००५ मा विस्तृत शान्ति सम्झौता भयो । सिंखडाले त्यतिखेरसम्म पर्यटनमा आफूलाई सफल बनाउन ‘ब्याकग्राउण्ड’ बनाइरहेका थिए । विस्तारै पर्यटन क्षेत्र चलायमान हुँदै गयो । सन् २००८ मा ट्रिप एड्भाइजरमा सूचिकृत भयो । त्यतिखेर सायदै ट्रेकिङ कम्पनीहरू ट्रिपएड्भाइजरमा सूचिकृत भएका थिए ।

ट्रेकिङमा योगाको स्वाद

उनी स्वभावैले अध्यात्मिक । अझ भनौँ, अध्यात्ममा उनको विशेष लगाव । सोही कारण नै उनले ट्रेकिङमा नयाँ स्वाद ‘योगा’ थपे । यतिखेरसम्म नेपालमा यो अभ्यास नै नभएको उनको दावी छ । उनले सन् २०१२ मा ट्रेकिङमा योगा शुरू गरे । सन् २०१३ मा यो कम्पनीले दोस्रो ठूलो ट्रेकिङ कम्पनीको रूपमा अवार्ड पायो ।

यसपछि उनले आफ्नो व्यवसायलाई विविधिकरण गर्दै गए । उनले सन् २००९ मा हिमालयन योगा सेन्टर स्थापना गरे । सन् २०११ मा ट्रेकिङ वीथ योगा र ठमेल इको रिसोर्ट सञ्चालनमा ल्याए  । सन् २०१२ मा अर्का पर्यटन व्यवसायी शंकर अधिकारीसँगको सहकार्यमा त्रिशूली रिभरफन रिसोर्ट सञ्चालनमा ल्याए ।  रिसोर्टमा अहिले स्वीमिङ पुल, डिलक्स रुम, जीपलाइन, स्काई साइक्लिङ सहितको सुविधा छ ।

सन् २०१३ मा भक्तपुरमा नेपाल योगा रिट्रिट शुरू गरेका उनले सोही वर्ष नै ठमेलमा म:म: हट सञ्चालनमा ल्याए । यस्तै उनले सोही वर्ष पोखरा इको रिसोर्ट सञ्चालनमा ल्याए । म:म: हट र पोखरा इको रिसोर्ट अहिले सिंखडाले अन्य व्यवसायीलाई हस्तान्तरण गरिसकेका छन् ।

हाल उनले सूर्यचौर नेचर रिट्रिट सञ्चालनमा ल्याएका छन् । ६० रुम लक्जरी सहितको सो रिसोर्ट ‘वान नाइट स्टे’का लागि निकै मनोहक छ । उनले सूर्यचौरमै प्याराग्लाइडिङ शुरू गर्न लागेका छन् । सूर्यचौरबाट उडान भर्ने प्याराग्लाइडिङले नुवाकोटको छहरेमा अवतरण गर्नेछ । जसको परीक्षण उडान आगामी जनवरी १५ मा हुने सिंखडा बताउँछन् । प्याराग्लाइडिङको व्यवसायिक उडान आगामी मार्चमा हुनेछ ।

उनले ककनीमा नेपाल योगा रिट्रिट अन्तर्गत ककनी अर्गानिक फार्म रिट्रिट सञ्चालनमा ल्याएका छन् । विशेषगरी बालबालिका तथा युवालाई कृषि चिनाउने, एडुकेसन सेन्टर तथा डे हाइकिङ गरेर वान नाइट स्टे गर्नका लागि विशेष रहेको सिंखडा बताउँछन् ।

पर्यटनमा यति व्यस्त र सक्रिय छन् कि उनी, घरमै समेत कुकिङ क्लास सञ्चालन गरिरहेका छन् । ‘पर्यटकलाई नेपालबारे चिनाउन, नेपालीको भान्सा चिनाउनका निम्ति कक्षा सञ्चालन गरिएको हो,’ उनले भने ।

कलाकारितामा समेत पर्यटक

स्कुले जीवनदेखि नै नाटक तथा क्यारिकेचर गरिरहने सिंखडा अहिले कलाकारितामा समेत अब्बल छन् । वि.सं. २०५१ मा कलाकार दिने डिसीसँग भेटेपछि उनको कलाकारिताले औपचारिक मोड लियो । उनले कमेडीका विभिन्न कार्यक्रम तथा टेलिसिरियलहरूमा अभिनय गरे । पछि संगालो, ट्वाक्क टुक्क, तितो सत्य लगायतमा ‘विदेशी पर्यटक’ को भुमिकामा अभिनय गरे ।

उनको यो भुमिका यति चर्चित भयो कि उनी ‘कुइरे’ भनेरै चिनिन थाले । कतै पर्यटकको भूमिकामा अभिनय गर्नुपरेमा अहिले पनि उनी निर्देशकहरूको पहिलो रोजाइ बन्छन् । उनले पछिल्लो समय भने पण्डित बाजेको भूमिकामा समेत अभिनय गर्ने गरेका छन् ।

हिँडे पुगिन्छ                      

पर्यटन व्यवसायी सिंखडाको एउटा नारा नै छ,’हिँडे पुगिन्छ ।’ उनले सोही नामबाट पुस्तक समेत निकालेका छन् ।  उनी पर्यटन व्यवसायी तथा कलाकार मात्रै नभएर सफल लेखक समेत हुन् भन्दा फरक पर्दैन । हिँडे पुगिन्छ पुस्तक निकै लोकप्रिय पुस्तकहरूमध्ये एक हो । उनले पुस्तकमात्रै लेखेका छैनन्, गीत, कवितामा पनि कलम चलाइरहन्छन् ।

प्यारोडी गीत लेखनमा सिंखडाको विशेष रुची छ । धादिङको विकट गाउँमा जन्मेहुर्किएका सिंखडा कसरी सफल पर्यटन व्यवसायी बने भन्ने प्रश्नमा उनी भन्छन्,’हिँडे पुगिन्छ भन्ने मेरो विश्वास हो । कोही साथीहरू हिँड्दै नहिँडी पुग्न खोज्नुहुन्छ । म पुग्नका लागि हिँड्छु ।’

१८ पुष २०७९