

माइपोखरी
माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूचिकृत समेत भएको छ । साक्षात देवीका रुपमा मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । माइपोखरी हिन्दु, बौद्ध, र किराँत, मुन्धुम सबै धर्मको आस्थाको केन्द्र हो । यहाँ हरेक वैशाख १, हरिबोधनी एकादशी र नवरात्रिमा विषेश पूजा तथा मेला लाग्ने गर्दछ । त्रिधार्मिकस्थल माइपोखरीको जल पिएमा प्रजनन् अंग सक्रिय हुने किम्बदन्ति रहेकाले यहाँ सन्तान प्राप्तिको भाकल गर्ने समेत प्रचलन छ ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैँचे झ्याउ, उभयचर ठकठके, रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराचुरुङ्गी पाइन्छ । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माइपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा लगायत पाइन्छ ।
डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्राहालय
प्रजातान्त्रिक आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका सन्तानलाई जीवन्त तुल्याउन ६ दशक अघिबाट चट्टान काट्न थालेका स्वर्गीय डम्बरसिंह सुनुवारले ढुङ्गा कुँदेर यहाँ विभिन्न आकृति बनाएका थिए । प्रजातान्त्रिक योद्धा र सुरक्षा फौजबीच २०१८ माघ २ को भिडन्तमा डम्बरसिंहका १२ वर्षीय छोरा डिकबहादुर र डेढ वर्षीया छोरी ओममायालाई सुरक्षाफौजबाट प्रहार भएको बमले क्षतबिक्षत बनाएको थियो । उनै सन्तान गुमाउनुको पीडालाई मनमा संगाल्न नसकेका डम्बरसिंहले अन्ततः ठूला ठूला ढुङ्गाहरू फोरेर मृत नावालक सन्तानको आकृति कुँद्न थाले । बुकी फूल्ने रुखो डाँडोमा रहेको सुनुवारको कलाकृति उनको निधनपछि गाउँपालिकाले संग्राहालय बनाउने तयारीमा छ । ऐतिहासिक जानकारी राख्न चाहनेहरूका लागि पनि यो संग्रहालय उत्तम गन्तव्य हुन्छ ।
सात खाल्डे
२०१९ सालमा सुरक्षा फौजले आफैँ खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । सोही समयदेखि यस ठाउँलाई सात खाल्डेको रुपमा चिनिँदै आइएको छ । देउराली बजारको नजिकै पश्चिमपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ ।
टप्पु क्षेत्र
गाउँपालिकाको वडा न १, २ र ३ को सीमा क्षेत्रमा टप्पु क्षेत्र अवस्थित छ । पर्यटकीय महत्वले निकै महत्वपूर्ण रहेको यस क्षेत्रबाट टप्पु पुगिन्छ । टप्पु क्षेत्र टप्पुबाट हिमश्रङ्खलाहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिउँदमा बाक्लो हिमपात हुने यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ ।
छिन्टापु
जैविक विविधता तथा प्रकृतिले सिंगारिएको छिन्टापुमा वसन्त ऋतुमा डाँडा पाखाभरि लालीगुराँस राताम्ये फूल्दछन् । छिन्तापुको काखैमा रहेको पोखरीहरूमा कंचनजङ्गा, कुम्भकर्ण हिमालको दृश्य आकर्षक देखिन्छ ।
सन्दकपुर
परापुर्वकालमा लेप्चा जातिको बसोबास रहेको सन्दकपुरलाई लेप्चा भाषामा सन्दक्फु भनिन्छ । महाभारतको अग्लो डाँडा रहेको सन्दकपुरमा परापूर्वकालनमा सन्त, ऋषिमुनिहरुले ध्यान गर्दथे । ऋषिमुनिहरु ध्यान गरिरहेको अवस्थामा पुरिएकाले सन्तपूर नाम राखिएको किम्बदन्ति छ । सन्तपूरबाट अपभ्रंष भई अहिले सन्दकपुर नाम रहेको कथन छ । सन्दकपुर प्राकृतिक मनोरमको दृष्टिले निकै महत्वपूर्ण छ । नेपाल, भारत, भुटान र तिब्बतका ६० बढी हिमाललाई १ सय ८० डिग्रीको सोझो सतहमा अवलोकन गरिने सन्दकपुर दक्षिण एसियाकै एक मात्र ठाउँ हो । हिमश्रङ्खलालाई अंगालो हालेजस्तै आँखा अगाडि सूर्योदय र सूर्यास्तको दृश्यमा सन्दकपुरबाट रमाउन सकिन्छ ।
सन्दकपुरमा ५ वर्षअघिसम्म भारत भएर मात्रै हजारौँ पर्यटन आउने गरेका थिए । संघीय, प्रदेश र स्थानीय सरकार सन्दकपुर गाउँपालिकाले सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरेपछि नेपाल पट्टिबाट सन्दकपुर भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ ।
कालपोखरी
कालपोखरी क्षेत्रमा शेर्पा समुदायको बसोबास छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको पोखरीको रङ कालो हुने भएकाले वस्तीको नाम कालपोखरी राखिएको जानकारहरू बताउँछन् । कालपोखरी सन्दकपुर वडा नम्बर ४ मा पर्दछ । गाउँले जिवन्त रहनसहन र साँस्कृतिक सम्पदाको अध्ययन गर्न सकिने कालपोखरी क्षेत्र नेपाल र भारत दुवैतिरबाट सन्दकपुर भ्रमणका लागि आउने पर्यटकको संगमस्थल, हो ।

मोति झैँ टल्किने हिमाल र सूर्योदयको मनोरम दृश्यमा रम्न सकिने जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरूको गन्तव्यस्थल बनेको छ । जौबारीमा सेता बादल तथा हिउँदमा पर्ने हिमपात निकै आकर्षक देखिन्छ । हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारी पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबाली तथा बागबानी विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि जौबारी कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र समेत बनेको छ ।
सन्दकपुर गाउँपालिकाको अर्को पर्यटकीय गन्तव्यस्थल हो माबुथाम डाँडा । प्राकृतिक, जैविक विविधताको दृश्यावलोकन र लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रेको बासस्थल हो माबुथाम दोबाटे क्षेत्र । बहुमूल्य प्राकृतिक जडिबुटीको अध्ययन स्थल पनि भएकाले यस क्षेत्रको महत्व अझै विशेष छ ।

सन्दकपुर वडा न ५ जमुनाको हाँगेथाम प्रकृति, सस्कृति, वन्यजन्तु र चराचुरुङ्गीहरुको अध्ययन अनुसन्धान क्षेत्र हो । पूर्वमा हाँगेथाम जंगलमा मात्रै पाइने विश्वमै दूलर्भ काँडेभ्याकुर चराको अध्ययन अनुसन्धान गर्न वर्षेनी पक्षिविद्हरु आउने गरेका छन् । हाँगेथाममा अमेरिकी वन्यजन्तु विज्ञ ब्राइम विलियमले २ दशक अघि सात महिना लामो रेडपाण्डाको अध्ययन गरेका थिए । हाँगेथाम क्षेत्र पछिल्लो दिनमा बनभोज स्थल बन्दै गएको छ । हाँगेथाम डाँडैमा झण्डै दुई सय वर्ष पुरानो ऐतिहाँसिक दोमाङ्ग छोलिङ बौद्ध गुम्बा समेत छ ।

सन्दकपुर झरनाहरूको समेत केन्द्र हो । २ सय ८५ फिट अग्लो माईमझुवाको टोड्के झर्ना नेपालको दोस्रो अग्लो झरना हो । जुन सन्दकपुरमै पर्दछ । सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य वडा नम्बर ४ को सायङ्बागाउँबाट पनि मञ्जाले देखिन्छ । जलाधारको खानी सन्दकपुर गाउँपालिका क्षेत्रका धप्पर झरना र पाहा खोला झरना अर्को पर्यटकीय गन्तव्यस्थल हो ।
कृषि पर्यटन
किवीको खेतीमार्फत सन्दकपुर गाउँपालिकाले कृषि पर्यटनको समेत विकास गरिरहेको छ । पूर्वी नेपालमा नै पहिलो पटक व्यवसायिक किवी खेती गरि सन्दकपुरले पर्यटन आकर्षित गरिरहेको छ । किवी जोन कार्यक्रम नै सञ्चालन भइरहेकाले त्यहाँ किवीको अध्ययन, अनुसन्धान तथा अवलोकनका लागि नेपाल, भारत, भुटान लगायतका मुलुकहरूबाट पर्यटकहरू सन्दकपुर आउने गरेका छन् ।
कसरी पुग्ने ?
काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झापाको भद्रपूर विमानस्थल र इलामको विमानस्थलसम्म जहाजमा जान सकिन्छ ।
यस्तै, इलाम बजारबाट १३ किमीको दूरीमा रहेको माइपोखरीसम्म बसमा जान सकिन्छ । माइपोखरीबाट माइमझुवा हुँदै गोरुवाले वा कालपोखरीबाट पैदलयात्रा गर्दै करिब तीन घण्टामा सन्दकपुर पुग्न सकिन्छ ।भारततर्फबाट दार्जिलिङको मानेभञ्ज्याङदेखि सन्दकपुर ३६ किमीको ट्रेकिङ पदमार्ग छ । भारततर्फबाट सन्दकपुर भ्रमणका लागि सोही पदमार्गमार्फत आउन सकिन्छ ।
कति खर्च लाग्छ ?
सन्दकपुर घुम्न जाने पर्यटकहरूले हवाइजहाजको भाडाबाहेक करिब १५ हजार रुपैयाँमा सहजै सन्दकपुर घुम्न सकिन्छ । ट्रेकिङ गर्ने हो भने अधिकतम १० हजार र बस रिजर्भ गरेर जाने हो भने अधिकतम १५ हजारसम्ममा सन्दकपुर घुम्न सकिन्छ ।







