दायाँबायाँ हरिया डाडाँका बीचमा उर्लदै बगिरहेको त्रिशुली नदी । उर्लँदै गरेको खोला माथि स्काइ साइक्लिङमा ओहोदोहोर गरिरहँदा मन नलोभिने सायदै कसैको होला । यही रोमाञ्चकारी यात्रा गरिरहेका भेटिए, संगीतकार, गायक तथा रचनाकार कालीप्रसाद बास्कोटा ।
साँगितिक क्षेत्रमा व्यस्थ भइरहने बास्कोटा यतिबेला साँगितिक प्रस्तुती र घुमघामका लागि त्रिशली पुगेका छन् । आफ्नो जीनवमा स्काइ साइक्लिङकाे अविस्मरणीय यात्रा रहने उनी सुनाउँछन् । साइक्लिङबाट पारी तर्ने बित्तिकै प्रफूलित हुँदै उनले भने, ‘सुरुमा कसरी खेल्ने होला भन्ने ठानेर मन अलि चसक्क भएको थियो, पछि वारपार गर्दै गर्दा नडर भागेर थ्रीलर अनुभव भयो ।’
नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको स्काइ साइक्लिङ सबैको आर्कषण केन्द्र बनेको छ । अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइक्लिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् ।
राजधानी काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकैको मालिङ्गामा रहेको रिसोर्टको स्काइरोपमा पुगिन्छ ।
साइक्लिङमा दुई वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ ।
दुईतर्फी तीन सय ५० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ । यस खेलमा रमाउन प्रतिव्यक्त्ति सात सय पचास रुपैयाँ तिर्नुपर्छ । रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार फोटो र भिडियोका लागि भने थप शुल्क तिर्नुपर्छ
रिसोर्टमा पर्यटकले स्काइ साइक्लिङका साथै र्याफ्टिङ र जिपलाइनलगायका सुविधा पनि उपलब्ध छन् ।