पर्यटक भित्र्याउन रिसोर्टको भूमिका महत्वपूर्ण : मन्त्री शाही


टुरिजम पाना संवाददाता काठमाडौं । १७ असार २०८२

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा पर्यटन प्रवद्र्धन गर्न रिसोर्टहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

मंगलवार तारकेश्वर नगरपालिका–३ स्थित नागार्जुन रिसोर्टको उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रिसोर्टहरू महत्वपूर्ण कड़ी भएको बताए । उनले पर्यटकीय पूर्वाधारले मात्र पर्यटक भित्र्याउने वातावरण बनाउने होइन, स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने स्पष्ट पारे ।

‘नेपालमा पर्यटकहरूको ओइरो लाग्न सक्छ’, मन्त्री शाहीले भने, ‘तर त्यसका लागि हामीले वातावरण बनाउन जरुरी छ। अहिलेको सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण सिर्जना गर्दै, लगानीको सुरक्षा र प्रवद्र्धनका लागि पेशा तथा व्यवसायको सुनिश्चितता गर्न प्रतिबद्ध छ ।’

उनले पर्यटन, जलस्रोत र वन क्षेत्रलाई नेपालको आर्थिक उन्नतिको मुख्य आधारको रूपमा उल्लेख गरे । पर्यटनका सम्भावना प्रायः वन, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा रहेको भन्दै, यस्ता क्षेत्रमा लगानी र संरक्षण दुबै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अरुणले नेपाललाई प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक विशेषताले भरिपूर्ण स्वर्ण भूमिको रूपमा चित्रण गरे । उनले नागार्जुन क्षेत्रलाई पर्यटकीय सम्भावना बोकेको ठाँउ बताउँदै भने, ‘तपोवनले अहिले ६०–८० देशका पर्यटक ल्याइरहेको छ। तर ठाउँको अभाव छ । नागार्जुन रिसोर्टले हामीलाई ठूलो सहयोग गर्नेछ ।’

उनका अनुसार इस्लामिक देशदेखि ईसाई मुलुकसम्मका मानिस ध्यान र योग सिक्न नेपाल आउने गरेका छन् । ‘पर्यटन नेपालको ठूलो सम्पदा हो, तर हामीले अझै पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौं,’ उनले भने ।

उद्घाटन समारोहमा अन्य वक्ताहरूले पनि नागार्जुन रिसोर्टले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने र समुदायमा प्रत्यक्ष फाइदा पु¥याउने अपेक्षा व्यक्त गरे ।

नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन् । यहाँका प्रमुख आकर्षणहरूमा एयर कन्डिसनयुक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका परिकारहरू छन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जना र सामुदायिक विकासमा योगदान दिने उद्देश्यसहित सञ्चालनमा आएको यस रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

१७ असार २०८२