पाँच महिनामा त्रिभुवन विमानस्थल हुँदै ३८ लाख ९३ हजारले गरे हवाई यात्रा


सन् २०२५ को पाँच महिना (जनवरी-मे) महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३८ लाख ९३ हजार ६ सय ११ जनाले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका प्रमुख जगनाथ निरौलाका अनुसार आन्तरिकतर्फ भन्दा अन्तर्राष्ट्रियतर्फ हवाई सेवा लिने यात्रु बढी छन्।

यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ हजार १ सय ९८ वटा उडान तथा अवतरण भएका छन्। जसमा अन्तर्राष्ट्रियतर्फ १२ हजार ८ सय ८५ वटा र आन्तरिकतर्फ ४० हजार ३ सय ४६ वटा उडान तथा अवतरण भएका छन्।

विमानस्थल कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि मेसम्म पाँच महिनामा २० लाख ३६ हजार ८ सय ६२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

जसमा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या १० लाख २४ हजार २ सय ३४ रहेको छ भने नेपाल भित्रिनेको संख्या ९ लाख ८७ हजार ४ सय १८ रहेको छ।

विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीमा ३ लाख ८७ हजार ३४ जना, फेब्रुअरीमा ३ लाख ७३ हजार ५ सय ३४ जना, मार्चमा ४ लाख २४ हजार ५ सय २२, अप्रिलमा ४ लाख ५७ हजार १० र मेमा ३ लाख ९४ हजार ६ सय ४९ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ कुल १२ हजार ८ सय ८५वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२५ को जनवरीदेखि मेसम्म पाँच महिनाको अवधिमा १८ लाख ५६ हजार ८ सय ६२ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्।

जसमा काठमाडौंबाट बाहिरिने हवाई यात्रुको संख्या ९ लाख ४८ हजार ४ सय ४० र बाहिरबाट काठमाडौं भित्रिने हवाई यात्रुको संख्या ९ लाख ८ हजार ४ सय ३१ रहेको छ।

विमानस्थल कार्यालयका अनुसार जनवरीमा ३ लाख १२ हजार ९ सय २६ जना, फेब्रुअरीमा ३ लाख ५७ हजार ७ सय ६९ जना, मार्चमा ४ लाख ७ हजार ७ सय ७५, अप्रिलमा ४ लाख ७ हजार ८ सय ९४ र मेमा ३ लाख ७० हजार ४ सय ९८ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

यसैगरी पाँच महिनामा आन्तरिकतर्फ ४० हजार ३ सय ४६ वटा उडान तथा अवतरण भएको छ।

७ असार २०८२