पोखरा भ्रमण वर्षः कुन सेवामा कति छुट ?


काठमाडौँ । बीस लाख पर्यटक ल्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५ सुरु भएको छ । भ्रमण वर्ष सफल बनाउन व्यवसायीहरुले विभिन्न क्षेत्रमा सामूहिक रुपमा छुटको घोषणा समेत गरेका छन् । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नका लागि उनीहरुले विभिन्न सेवामा छुटको व्यवस्था गरेका हुन् ।

पोखरा भ्रमण वर्ष, २०२५ का मूल समारोह समितिका संयोजक तथा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार खाना तथा आवासदेखि पर्यटकीय साहसिक गतिविधिमा पनि छुट उपलब्ध गराइएको छ । उनका अनुसार विभिन्न सेवामा न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

भ्रमण वर्ष सफल बनाउनका लागि रेवान पोखराले छुट्टै मेनु तयार पार्ने घोषणा गरेको छ । “पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र निजी क्षेत्रका तर्फबाट पोखरा भ्रमण वर्षभरी आउने पर्यटकका लागि विभिन्न प्याकेजमा सुविधा उपलब्ध गराएका छौँ, त्यसबाहेक महानगरपालिकाले पनि पर्यटकको सुविधालाई मध्यनजर गरी सबै खाले पर्यटनमैत्री सेवामा विशेष छुट सुविधाको पहल गर्नेछ”, महानगर प्रमुख आचार्यले भने ।

भ्रमण वर्ष मूल समारोह समितिले त्यसअवसरमा पर्यटन राजधानी पोखरालाई प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभवता र साहसिक गतिविधिको अविस्मरणीय गन्तव्यका रूपमा स्थापित गर्न संसार भरका विदेशी, गैरआवसीय नेपाली तथा स्वदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रसहित पोखरा भ्रमण गर्न आह्वान गर्ने भएको छ । विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदूतावासहरुसँग समन्वय गरी संसारका विभिन्न सहरमा पोखराबारे व्यापक प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने समेत समितिको योजना छ ।

विश्वभर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिसहित पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरलाई भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिइनेछ । भ्रमण वर्षको अवधिभर स्वदेशका पाँच वटा र विदेशका पाँच वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने तथा पोखरा विश्वविद्यालय, पोखरामा रहेका विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरू, उद्योग वाणिज्य संघसहित निजी क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग स्वदेशी वा विदेशी सोही प्रकृतिका संघ संस्थाहरूसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिनेछ ।

राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने र २०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी लगानी टुरिजम इन्भेष्मेण्ट समिटको आयोजना गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटीका लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गरिनेछ । साथै मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रुतमार्ग, हेरिटेज साइड, पञ्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अग्र्यानिक ट्रेल तथा रोयल ट्रेलको पुनःउत्थानलगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गरिनेछ ।

७ फाल्गुन २०८१